विकासन्युज

काठमाडौंमा १८ देशका ६३ सीईओहरूको सम्मेलन : नेपाली बैंकले विदेशमा लगानी गर्नुपर्ने बहस छेडियो

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलनमा नेपाली बैंकिङ क्षेत्रको विषयमा ठूलो बहस छेडिएको छ । सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरूले नेपाली बैंकिङ व्यवसाय र व्यवसाय विस्तारको धारणा राखेका छन् । काठमाडौंमा सुरु भएको सम्मेलनमा १८ देशका ६३ वटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बैंकरहरूको सहभागिता रहेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सम्मेलनमा नेपाली बैंकहरूले विदेशमा पनि लगानी गर्नु पर्ने विषय उठेको धारणा राखे । ‘सम्मेलनमा नेपाली बैंकहरुको व्यवसाय विस्तारका लागि विदेशमा पनि जान सक्ने बहस छेडिएको छ, यो विषयमा पनि हामीले अब सोच्नु पर्छ, सोही किसिमले नीति नियमहरू बनाउनु पर्छ, नेपाली बैंकहरू विदेशमा गएर पनि काम गर्न सक्ने हैसियत निर्माण गरिसकेका छन्,’ उनले भने । यस्तै, उनले नेपाली बैंकरहरु विश्व बजारमा बिक्न सक्ने भएको धारणा राखे । ‘धेरै जना विदेशका बैंकहरूमा सीईओ भएर काम गरिरहेका छन्, नेपालका बैंकर विदेशका जुनसुकै देशमा पनि काम गर्न सक्ने अवस्थामा छन् ।’ उनले भने । उनले सबैको सहकार्यले बैंकिङ क्षेत्रलाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए । यस्तै, सम्मेलनमा एशियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले नेपाली बैंकिङ क्षेत्र र बैंकरको प्रशंसा गरे । उनले नेपाली बैंकरहरु विश्वको धेरै देशमा रहेको बताउँदै कतिपय ठाउँमा सीईओ भएर नै काम गरिरहेको सुनाए । उनले नेपाली बैंकरसँग सीप र दक्षता पनि भएकोले अब नेपाली बैंकहरुले विदेशमा पनि गएर व्यवसाय गर्नु पर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे । उनले रेमिट्यान्समा निर्भर देश सधैं समस्यामा हुने उनको भनाइ छ । यस्तै, उनले आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जाने उनले बताए । यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको धारणा राखे । कोरोना भाइरस महामारी देखि नै विश्वव्यापी रुपमा समस्या देखिएको भन्दै उनले बैंकिङ व्यवसायले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताए । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको उनको भनाइ छ । उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको भन्दै गभर्नर अधिकारीले एशियन बैंकहरुले सो विषयमा सोच्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको गभर्नर अधिकारीले बताए । रसिया युक्रेन युद्धको कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको उनले बताए । सबैले सहकार्य गरेर समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ । यस्तै, कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरे । अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने बताएका हुन् । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको उनले बताए । साथै, कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए । ‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने । ‘विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिन्छ, सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको छ,’ उनले भने, ‘डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्त्वपूर्ण विषय हो, विदेशी लगानीकर्ताका लागि जलविद्युत महत्त्वपूर्ण क्षेत्र हो ।’

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

काठमाडौं । फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख रुपैयाँ जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् । केहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षति भएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।

हिमालयन बैंकले गर्यो भुकम्पपिडितका लागि २१ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंकले भुकम्पपिडितका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ । गत शुक्रबार कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पुर्याएको छ । यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई कार्तिक २१ र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई कार्तिक २२ गते हस्तान्तरण गरेको छ ।

समृद्धि फाइनान्सद्धारा साइकल र्‍याली सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार साइकल र्‍याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्डबाट सुरु भएको ¥याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमाआएर समाप्त भएको थियो । सो र्‍यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदी, संचालक जे।वि। हमाल, प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी साथै फाइनान्सका १९ जनाकर्मचारीहरुको सहभागिता रहेको फाइनान्सले जनाएको छ । समृद्धि फाइनान्स कम्पनीले यहिकार्तिक २५ गने २२ औं वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गतेदेखि २५ गतेसम्म वार्षिकउत्सव सप्ताह मनाउदै विभिन्न जनचेतना मुलककार्यक्रमहरु गरिरहेको छ । कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरेको फाइनान्सले जनाएको छ । साथै भोलि प्रधानकार्यालय लगायत सम्पुर्ण शाखाहरुबाट केक काटी आफ्ना ग्राहकहरुका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै गरेको फाइनान्सले बताएको छ ।  

व्यवसाय र सामाजिक काममा सँगसँगै कल्पना

काठमाडौं । धादिङ गजुरीकी कल्पना बस्नेतलाई समाज सेवा असाध्यै रुचिको विषय हो । उनले समाज सेवामै डेढ दशक बिताइसकिन् । कल्पना सकेसम्म महिलालाई अगाडि बढाउने र उनीहरूको जीवनस्तर उकास्ने खालको सामाजिक काममा खटिइरहन्छिन् । पुरुषप्रधान समाजमा जुनसुकै पेसा र क्षेत्रमा पनि पुरुषमात्रै अगाडि बढ्ने तर महिला सधैं पछाडि परेको देख्दा उनलाई सधैं मनमा च्वास्स भइरहन्थ्यो । लामो समय जागिर र पछि आफ्नै व्यवसायमा होमिएपछि भने कल्पनालाई महिला दिदीबहिनीलाई ‘फ्रन्टलाइन’ मा ल्याउनुपर्छ भन्ने महसुस भयो । अनि, कल्पनाले छानिन्, ‘लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन’ । यो यस्तो संस्था हो जसमा विभिन्न पेसा–व्यवसाय गरिरहेका २८ महिला संलग्न छन् । यिनै महिला दिदीबहिनी मिलेर स्थापना गरेको सिद्धार्थ एभरग्रिनको चार्टर प्रेसिडेन्ट हुन् कल्पना । उनले १५ वर्ष सामाजिक क्षेत्रमा काम गरिन् । समाजसेवा गर्दा छुट्टैखाले आनन्द महसुस हुने उनी बताउँछिन् । पछिल्लो समय पनि कहीँकतै आबद्ध भएर समाजसेवा गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी उनमा जागिरह्यो । समाजमा योगदान गर्न सिद्धार्थ एभरग्रिन रोजेको उनी खुसीसाथ सुनाउँछिन् । सिद्धार्थ एभरग्रिनमा उद्योग, व्यवसाय, सञ्चारमाध्यम, शिक्षा, प्रहरी सेवालगायत क्षेत्रमा आबद्ध महिला समेटिएका छन् । विशुद्ध सामाजिक कार्य गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो । ‘विशुद्ध सामाजिक काम गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो,’ कल्पना भन्छिन्, ‘यो एक समुदायमा आधारित संस्था भएका कारण यसले नेपाली कला, संस्कृति र समाजका अन्य विषयवस्तु संरक्षणलाई प्राथमिकता दिँदै आएको छ ।’ कल्पनालाई सामाजिक क्षेत्र होस् वा अन्य कुनै क्षेत्र, त्यसमा महिला नै अग्रसर हुनुपर्छ भन्ने लाग्छ । ‘पुरुषहरूमा जति योग्यता र क्षमता छ, त्यति नै योग्यता र क्षमता महिलामा पनि छ,’ कल्पना हौसिन्छिन्,’ ‘समाजमा हामीले धेरै जिम्मेवारी बहन गरेर नेतृत्व गर्दै आएका महिला र उनीहरूका योगदान पनि देखेका छौं । अवसर पाए जे र जस्तोसुकै काम गर्न सक्छौं भन्ने ठानेर पनि हामी महिलामात्रै मिलेर यो संस्था सञ्चालन गरेका हौं । हरेक महिलाको जीवनस्तर उकास्न र नेतृत्वदायी भूमिकामा अब्बल बनाउन हाम्रो संस्थाले काम गर्छ ।’ ००० वि.सं २०३७ सालमा धादिङ गजुरीमा जन्मिएकी हुन् कल्पना । सानै छँदा उनको घरमा आगलागी भयो । त्यसपछि उनको परिवार गजुरी बजार बसाइँ सर्यो । कल्पनाले गजुरी हाइस्कुलबाट विद्यालय शिक्षा अगाडि बढाइन् । सानैदेखि प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने खुबी भएकी उनी पढाइमा अब्बल थिइन् । पढाइमा छात्रवृत्ति पनि पाइन् । पढाइबाहेक कल्पना विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिन्थिन् । ‘म स्कुलमा हुने सबै कार्यक्रममा भाग लिन्थेँ,’ उनी सम्झिन्छिन्, ‘नाच्ने, गाउनेदेखि विभिन्न खेलकुदका गतिविधिमा पनि भाग लिएर मैले धेरै पुरस्कारहरू जितेको अहिलेसम्म पनि ताजै लाग्छ ।’ वि.सं २०५४ सालमा एसएलसी (हालको एसईई) दिने तयारीमा थिइन् । परिवारमा बज्रपात आइलाग्यो । उनले बुबा गुमाइन् । उनका बुबा क्यान्सरका बिरामी थिए । बुबा गुमाएको १२ दिनपछि उनको एसएलसी परीक्षा थियो । बुबाको निधनबाट विक्षिप्त कल्पनाले जेनतेन परीक्षा दिइन् । बढाे तनाबका बीच एसएलसीमा उनले ‘सेकेन्ड डिभिजन’ ल्याइन् । एसएलसीपछिको पढाइ काठमाडौंबाट सुरु गर्ने योजना बनाउँदै थिइन् उनी । तर, उनलाई ब्रिटिस क्याम्प पोखराबाट कामको अफर आयो । त्यहाँ उनी दुई साताका लागि काम गर्न गइन् । ‘त्यहाँ काम गरेको पैसाले मैले आफ्ना लागि झुम्का पनि बनाएकी थिएँ,’ उनले विगत स्मरण गर्दै भनिन् । त्यहाँको काम सकिएपछि कल्पना उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आइन् । बागबजारको पद्मकन्या क्याम्पसमा आइए भर्ना भइन् । ‘मैले त्यहाँ साइकोलोजी विषय लिएर पढ्न थालेँ,’ उनी भन्छिन, ‘आइए सकिएपछि त्यही विषयमा मैले त्यहीँबाट नै स्नातक सकेँ ।’ तर, मास्टर्स (स्नातकोत्तर) भने कल्पनाले त्रिचन्द्र कलेजबाट सकिन् । ००० पद्मकन्यामा ब्याचलर (स्नातक) पढ्दै गर्दा वि.स २०५९ सालमा उनको धादिङ किरानचोकका राजेन्द्र बरालसँग विवाह भयो ।   विवाह भएको १५ दिन गाउँ बसेपछि कल्पना फेरि काठमाडौं फर्किइन् । माओवादी द्वन्द्वका कारण गाउँमा बस्न सक्ने स्थिति नभएपछि उनको परिवार नै बसाइँ सरेर काठमाडौं आयो । त्यो समय काठमाडौंमा बस्न त्यति सहज भने थिएन । एकजनाको कमाइले काठमाडौंको जीवनयापन सहज नहुने भएपछि कल्पनालाई जागिरको आवश्यकता पर्यो । ‘हाम्रो घर थिएन, कोठा भाडामा बस्थ्यौं,’ उनी भन्छिन्, ‘खर्चका हिसाबले पनि हामीलाई तत्कालै जागिर आवश्यक पर्यो । बच्चा जन्माउने योजना पनि भइसकेकाले जागिर निकै महत्वपूर्ण थियो ।’ घर व्यवहार चलाउनुपर्ने जिम्मेवारी पनि थपिएपछि कल्पना काम खोज्न थालिन् । त्यसपछि उनले बसुन्धाराको एउटा इन्स्टिच्युटमा पढाउन थालिन् । त्यहाँ उनले अर्थशास्त्र पढाउँथिन् । त्यहाँ काम गर्दै गर्दा उनको छोरी पनि जन्मिइन् । ‘काम त गर्नु नै थियो,’ उनी भन्छिन्, ‘छोरीको जिम्मेवारी पनि थपियो ।’ छोरीकै हेरचाहमा समय बिताइरहेकी कल्पनाले ‘भ्वाइस अफ चिल्ड्रेन’ ले भ्याकेन्सी खुलाएको थाहा पाइन् । उनले त्यहाँ अप्लाई गरिन् । उनको नाम पनि निस्क्यो । सन् २००४ मा उनी भ्वाइस अफ चिल्ड्रेनमा आबद्ध भइन् । ६ महिनाकी छोरी सासुआमाको जिम्मा लगाएर कल्पनाले उक्त संस्थामा जुनियर एजुकेटरका रूपमा काम गर्न थालिन् । त्यस संस्थामा काम गर्दा उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइन् र मास्टर्स सकिन् । सन् २००५ मा कल्पनाका श्रीमान राजेन्द्रले साथीसँग मिलेर ब्रिलियन्ट एजुकेसन कन्सल्टेन्सी खोल्ने निर्णय गरे । राजेन्द्रले ट्राभल एजेन्सीलगायत अन्य काम छाडेर कन्सल्टेन्सीलाई प्राथमिकतामा राखे । कल्पना भने भ्वाइस अफ चिल्ड्रेनमै आबद्ध थिइन् । केही समयपछि राजेन्द्रले उक्त कन्सलटेन्सी एक्लै चलाउने निर्णय गरे । सुरुमा उनीहरूले यूके, अष्ट्रेलिया, यूएसए, क्यानडाको काम थाले । उनीहरूले सुरुमा काम थालेका देशका आफ्नै नीतिनियम र उतारचढाव भएका कारण भिसा लगाउन पनि गाह्रो भएको कल्पना सम्झिन्छिन् । ‘त्यति हुँदा पनि हामीले संघर्ष गर्न छाडेनौं,’ कल्पना भन्छिन्, ‘श्रीमानलाई मैले भरपुर सहयोग गरेँ । एकअर्काको साथ सहयोगबिना त माथि उठ्न कठिन नै हुन्छ ।’ कल्पना भने भ्वाइस अफ चिल्ड्रेनमा नै आबद्ध भइरहिन् र राजेन्द्रको बिजनेसमा पनि आफूले सकेको सहयोग जारी राखिन् । भ्वाइस अफ चिल्ड्रेनमा आबद्ध भएर काम थालेको १० वर्षपछि कल्पनाले सिनियर म्यानेजर पनि भएर काम गर्ने अवसर पाइन् । त्यहाँ लामो समय काम गरेपछि कल्पनालाई अब आफ्नो बिजनेस सम्हाल्नुपर्छ भन्ने लाग्यो । उनी सन् २०१४ मा भ्वाइस अफ चिल्ड्रेनबाट बाहिरिइन् । त्यहाँ काम छोडे लगत्तै कल्पनाले ‘ब्रिलियन्ट एजुकेसन कन्सलटेन्सी’ मा राजेन्द्रलाई सघाउन पूरा समय खर्च गरिन् । यसमा पनि उनले परिवार र श्रीमानको भरपुर सहयोग पाइन् । कल्पनाले जागिर खाँदा र आफ्नै व्यवसाय सञ्चालन गर्दा कुनै किसिमको रोकतोक भएन । ‘मेराे सासुआमाले पनि कुरा बुझ्ने भएकाले मैले उहाँलाई कुनै दिन बुझाउनु परेन,’ कल्पना भन्छिन्, ‘मलाई जन्म मेरो आमाले दिए पनि कर्म सासुआमाले दिनुभयो । मलाई कहिल्यै बुहारी हुँ भन्ने नै महसुस भएन ।’ बिहे गरेर घर भित्रिएपछि उनलाई सासुआमाले ‘तिमी पढेलेखेको मान्छे, यत्तिको मान्छेले घर बसेर समय खेर फाल्नु हुँदैन । बाहिर हिँड्नुपर्छ काम गर्नुपर्छ’ भनेर हौसला दिइरहन्थिन् । ‘म विभिन्न संघसंस्थामा कार्यरत हुँदा कहिले कामका कारण समयमा घर पुग्न ढिला हुन्थ्यो,’ उनी भन्छिन्, ‘म राति १० बजे घर पुग्दा पनि सासुआमा मलाई खाना खान कुरेर बस्नुहुन्थ्यो ।’ घरमा पनि कहिल्यै नरमाइलो महसुस नभएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मैले जहिले हौसलामात्र पाइरहेँ । ००० ब्रिलियन्ट एजुकेसन एन्ड करियर सर्भिसेस नेपालका प्रमुख र अग्रणी शैक्षिक परामर्शदाता कम्पनीमध्ये पर्छ । यसले विदेशमा आफ्नो करियर बनाउन इच्छुक विद्यार्थीहरू तथा युवा पुस्तालाई उत्कृष्ट सेवा दिँदै आएको छ । ब्रिलियन्टले शैक्षिक प्रोफाइल, वित्तीय अवस्था र अध्ययन उद्देश्यलगायत मापदण्डअन्तर्गत रहेर करियरको बाटो छनाेट गर्न सहयोग गर्दै आएको छ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, जर्मनी, न्यूजिल्यान्ड, जापान, बेल्जियमलगायत देशमा अन्तर्राष्ट्रिय गुणस्तरको अध्ययन गर्ने विद्यार्थीका निर्णयलाई मूर्तरूप दिन ब्रिलियन्टले सहयोग गर्ने गर्छ । त्यसैगरी ब्रिलियन्टले व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, बैंकिङ, वित्त, आइटी, एनिमेशन, मल्टिमिडिया, गेमिङ, आतिथ्य सत्कार, नागरिक उड्डयन, पर्यटन, डिजाइन, चिकित्सा, सौन्दर्य, हेल्थ केयर, खुद्रा, कला, कानुनसहित सबैभन्दा बढी मनपराइएका शैक्षिक क्षेत्रका कलेजमा ग्रेजुएसन र अन्डर ग्रेजुएसन अध्ययनबारे विस्तृत जानकारी उपलब्ध गराउँछ । विद्यार्थीहरूको अन्तर्राष्ट्रिय यात्रा अझै अगाडि बढाउन ब्रिलियन्टले विभिन्न देशका आवश्यकताअनुसार विभिन्न भाषा कक्षा उपलब्ध गराउने काम पनि गर्ने गर्छ । जसबाट विद्यार्थीहरूलाई भाषागत सञ्चारसँगै शैक्षिक योग्यतामा अब्बल हुन मद्दत पुग्छ । यसका साथै ब्रिलियन्टले प्रत्येक भाषा परीक्षाका लागि विशिष्ट र मानकअनुसारका शैक्षिक सामग्रीसहित वास्तविक परीक्षणको तयारी पनि गर्ने गर्छ । ००० कन्सल्टेन्सीमा पढ्न आउने विद्यार्थी र अभिभावकको पनि भरपुर सहयोग मिलेको कल्पना खुसीसाथ सुनाउँछिन् । कन्सलटेन्सीमा पढ्न आउने विद्यार्थीलाई सल्लाह सुझाव दिँदा पनि ध्यान पुर्याउनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । ‘कतिपय अभिभावकहरू तपाईंको कन्सलटेन्सीबाट मेरो छोराछोरी विदेश पठाउँछु भनेर खुसीसाथ आउनुहुन्छ,’ कल्पना सुनाउँछिन्, ‘धेरै प्रयास गर्दा पनि कुनै–कुनै विद्यार्थीको भिसा लाग्दैन । त्यतिबेला आफूलाई पीडा हुन्छ । विदेश जानकै लागि उहाँहरूले गर्नुभएको संघर्ष सानो हुँदैन । तर, हरेक कुरा कन्सल्टेन्सीको हातमा पनि हुँदैन । उहाँहरूको दुःख, मिहिनेत र खर्चको माया लागेर आउँछ ।’ पछिल्लो समय कल्पनाले अस्ट्रेलिया, क्यानडा र युएसए भ्रमण गरिन् । त्यहाँ उनलाई आफ्नो कन्सलटेन्सीबाट गएका विद्यार्थीहरूले राम्रो गरिरहँदा खुसी लागेको छ । ‘त्यहाँ उनीहरूसँग भेट्दा र उनीहरूले दिने सम्मानले पनि खुसी दिलाउँछ,’ उनी भन्छिन्, ‘उनीहरूले गरेको विश्वासले नै हामी पनि चलेका छौं ।’ ००० कल्पना आफ्नो कन्सल्टेन्सीले पहिले देश र त्यसपछि विदेशलाई राखेको बताउँछिन् । ‘हामीले हाम्रो कन्सलटेन्सीमा आउने विद्यार्थीलाई हाम्रो देशमा पनि राम्रा कलेज छन्, यहाँ नै पढ्दा पनि राम्रो हुन्छ भनेर सम्झाउँछौं,’ उनी भन्छिन्,’ ‘अब यहाँ आफूलाई पढ्न मन लागेको विषय छैन र जानैपर्ने छ भनेमात्रै विदेशका लागि तयारी गरौं भनेर सुझाव दिन्छौं । हामीले सकेसम्म आफ्नै देशलाई प्राथमिकतामा राख्ने प्रयास गर्छौं ।’ विदेश नै गएर पढ्छु भन्ने विद्यार्थीलाई पनि त्यहाँ पढाइ सिध्याएर डिग्री लिएपछि नेपालमै आएर केही गर्नुपर्छ भनेर सम्झाउने गरेको कल्पना बताउँछिन् । ‘देशलाई माया गर्नुस्, तपाईंहरूजस्तो जनशक्ति देशलाई नै चाहिन्छ । तपाईंहरू जत्तिको मान्छे विदेश पलायन हुँदा देशका लागि योगदान कसले गर्छ भनेर सकेसम्म सम्झाउँछौं,’ उनी भन्छिन् । जति पनि युवा विदेश पलायन भएका छन् र विदेशमा उनीहरूले जे जस्तो ज्ञान, सीप सिकेका छन्, त्यसलाई देशमा नै आएर खर्च गर्नुपर्ने कल्पनाको भनाइ छ । सरकारको पनि आफ्नै नीतिनियम भएको कल्पना बताउँछिन् । सरकारले पनि आफ्ना तर्फबाट गर्नुपर्ने काम धेरै छन् । देशमा नै सैद्धान्तिक, व्यावहारिक र वैज्ञानिक शिक्षा प्रणली विकास हुन जरुरी रहेको उनको तर्क छ । ‘अहिले नेपालमा पनि धेरै राम्रा सरकारी विद्यालय विकसित हुँदैछन्,’ उनी भन्छिन्, ‘देशलाई नै लक्ष्यित गरेर शिक्षा प्रणली विकसित गर्ने हो भने विदेश जानुपर्ने वाध्यता केही हदसम्म अन्त्य हुने देखिन्छ । हाम्रो देशमा जति शिक्षा सहर केन्द्रित छ, त्यही शिक्षा गाउँमा पनि उपलब्ध गराउने हो भने नेपालको शिक्षा प्रणाली राम्रो हुने निश्चित छ ।’

अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढी गण्डकीका लागि छुट्याउनु पर्ने

काठमाडौं । अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढी गण्डकी आयोजनका लागि छुट्याउनु पर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, पछि सो आयोजनाका लागि कर छुट्याउन छोडिएको थियो । बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

सेन्ट्रल फाईनान्सद्वारा विद्यालयमा कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण

काठमाडौं । सेन्ट्रल फाईनान्सले विद्यालयमा कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ । सेन्ट्रल फाईनान्स भक्तपुर शाखाले भक्तपुर नगरपालिका, वडा नं.१० स्थित श्री हंसबाहिनी आधारभुत विद्यालय, वडा नं.९ स्थित श्री ब्रम्हाचारिणी आधारभुत विद्यालय गरी दुई विद्यालयलाई कम्प्युटर, थ्री इन वन प्रिन्टर तथा युपीएस एक/एक सेट र श्री ब्रह्मायणी आधारभुत विद्यालयलाई विद्यालयको छतमा फल्स सिलिङको लागि ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैंया प्रजापतिले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापकहरु क्रमशः सूर्यबहादुर फोंजु, राधिका मैंया कोजु तथा तीर्थलक्ष्मी धन्छालाई वितरण गरेका थिए । यस सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यमा सहयोग पुग्ने विचार विद्यालयका प्रधानाध्यापकहरुले ब्यक्त गरे । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक शिक्षिकाहरु तथा फाईनान्सका कर्मचारीहरुको पनि उपस्थिति थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।