नेशनल लाईफले गर्याे १३ करोड रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासमा १३ करोड २ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९९ लाख ४१ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । असोज मसान्तसम्म कम्पनीले ४ अर्ब १९ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले १ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १४ करोड ९० लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा ४८ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९.१२ रुपैयाँ रहेको छ ।
११.०५ % लाभांश पारित गर्न शाइन रेसुङ्गाले डाक्यो १५ औँ वार्षिक साधारणसभा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको अधिकृत पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
नेपाल वेयरहाउजिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक १० गतदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कात्तिक २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट स्वीकृत लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्तादे आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट
पोखरा । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन् । रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे । सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मालगायतको उपस्थिति थियो । होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटलहरु मध्यमा पर्न सफल छ । होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरुले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन् ।
नबिल बैंकको दराजसँग इएमआई अभियान
काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् । नबिल बैंकले यस सहकार्य मार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् । ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ । यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई [email protected] मा आवेदन दिनुपर्नेछ । यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतरिक्त लागत विना किस्ता सुविधा पाउने छन् । तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ । साथै, नबिल बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ । ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५% नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २ प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
भाडा २० प्रतिशत सस्तो हुने गरी १० करोड लगानीमा आयो ‘ई-ड्राइभ नेपाल’
काठमाडौं । ई-ड्राइभ कम्पनीले फर्ट इलेक्ट्रिक राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा ल्याएको छ । बिहीबार कम्पनीले एक कार्यक्रम आयोजना गरी एप लन्च गरेसँगै ‘‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको हो । उक्त एप सञ्चालनमा आएसँगै इभी ट्याक्सी बोलाएर सहज तरिकाले एक ठाउँबाट अर्को ठाउँ पुग्न सकिने बताइएको छ । सर्वसाधारणलाई डिजिटल माध्यमबाट इभीका ट्याक्सीमार्फत सेवा दिने उद्देश्यसहित उक्त एप प्रयोगमा ल्याएको कम्पनीका अध्यक्ष राजेश मास्कले बताए । कुनै ठाउँमा सहज तरिकाले जानुपर्ने भयो भने यसबाट इभी ट्याक्सी बोलाउन सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सविन भट्टराईले नेपालमै बनेको यो एपले आवतजावत सहजतामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘सरकाले पनि इभीको प्रयोगलाई जोड दिएको छ, अहिले बजारमा इभीका गाडी प्रयोग पनि बढ्दो छ, पेट्रोल तथा डिजेलमा अर्बौं रुपैयाँ बाहिरिएको छ, ‘उनले भने, ‘अब यसलाई रोकेर इभीको प्रयोगलाई जोड दिनुपर्छ । इभीका चालक र प्यासेन्जर भेट हुने माध्यमका रूपमा यो एप सञ्चालनमा ल्याएका हौं ।’ उनका अनुसार अन्य राइड सेयरिङ एपमा भन्दा यस एपको फिचर भिन्न छ । यस एपमार्फत चालकलाई बोलाउँदा अन्य राइड सेयरिङ एपभन्दा भाडा १५/२० प्रतिशत सस्तो पर्ने भट्टराईले बताए । कम्पनी आफैंले एप लन्च अगावै नै दुई चार्जिङ स्टेशन आफ्नै लगानीमा सञ्चालनमा ल्याएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एपको उद्घाटनमा बोल्दै विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा सर्वसाधारणका लागि यो एप उपयोगी हुने बताए । ‘नेपाली सडकमा इभीको बाहुल्यता बढ्दै गएको छ,’ उनले भने, ‘इभीको प्रयोगले विद्युत खपतमा पनि मदत पुर्याउँछ भने कम लागतमै इभीका गाडीमा यात्रा गर्न सकिन्छ ।’ इभी ट्याक्सीबाट सेवा दिने उद्देश्यले कम्पनी आफैले पनि १४ वटा इभीका ट्याक्सी खरिद गरेको छ । कम्पनी आफैंले ५० भन्दा बढी ट्याक्सी खरिद गरी सञ्चालनमा ल्याउने योजना बनाएको नायव प्रमुख कार्यकारी अधिकृत प्रज्वल खत्रीले बताए । ‘हामीले तयार गरेको यो एपमा खर्च पनि धेरै भएको छ, सञ्चालक टिमको लगानी र बैंकबाट लोन लिएर यसमा लगानी गरेका छौं, यसको सबै काम सकिँदा करिब १० करोड रुपैयाँ लगानी भएको छ,’ उनले भने । कसरी प्रयोग गर्ने एप ? आधुनिक फिचरसहित आएको ‘ई-ड्राइभ नेपाल एप प्रयोग गर्ने तरिका सहज छ । उक्त एपलाई प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपश्चात् आफ्नो फोन नम्बर तथा इमलको प्रयोग गरी लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि होम पेज खुल्छ । उक्त पेजबाट आफू पुग्ने लोकेसन सेट गरी ट्याक्सी चालकलाई बोलाउन सकिन्छ । प्यासेन्जरले ट्याक्सी बोलाउँदा इभी ट्याक्सीमात्रै आउँछन् । यस्तै, एप लन्चको समय क्रममा कम्पनीले इभी ट्याक्सीको चालकलाई लोगोसहितको ज्याकेट पनि वितरण गरेको छ । कम्पनीले चालकका लागि पुष १ गतेसम्मलाई रजिस्ट्रेसन निःशुल्क गरेको पनि कम्पनीले बताएको छ ।
अल्फा अटोमोटिभद्वारा‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । रोयल इन्फिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीलाई बजार प्रवद्र्धन गर्न तथा युवापुस्तालाई सोसल मिडियालाई आकर्षित गर्न असोज ६ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार वितरण गरेको छ । असोज १९ गते टिकटक र फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद पुरस्कार वितरण गरिएको हो । नियमअनुसार तीन जना विजेताले पुरस्कार पाएका छन् । पोखराका पदम लामाले प्रथम पुरस्कारवापत १ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । पोखराकै स्मिता घिमिरेले द्वितीय पुरस्कारस्वरूप ६० हजार रुपयाँ नगद पुरस्कार प्राप्त गरिन् । त्यसैगरी तेस्रो भएका हेटौंडाका रजक शाहीले ४० हजार रुपैयाँ नगद जित्न सफल भए । सम्पूर्ण विजेताहरूलाई आज नक्शालस्थित रोयल इन्फिल्डको शोरुममा कम्पनीका निर्देशक मेघराज पौडेलले चेक हस्तान्तरण गरेका थिए ।
उद्योग वाणिज्य महासंघले गर्यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ । महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्युनिकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो । जलवायु परिर्वतन ल्याउनका नेपालले भुमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले चासोका साथ लिएको बताए । उनले नेपालको परिवेशमा जलवायु परिवर्तनले पारेको असरको विषय धेरै महत्वपूर्ण रहेको बतए । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा आएर हिमालयहरुको बेस क्यामको अवलोकन गर्नु जलवायु परिवर्तनले नेपालमा ठूलो असर गरेको संकेत गर्ने जानकारी दिए । निजी क्षेत्रले विगतमा आर्थिक विषयमा मात्रै गरे पनि अब आर्थिक आम्दानीमा मात्रै सिमित नभएर वातावरणीय प्रभावलाई पनि प्राथमिकताका साथसँगै लैजान आवश्यक भएको बताए । विकास निर्माणका कामहरुमा पनि कम क्षति हुने गरेर गर्न आवश्यक रहेको उनको भनाइ छ । सरकारका वातावरणिय क्षेत्रका काम गर्ने निकायहरुले समग्र सबै क्षेत्रलाई समेटेर नीतिहरु बन्नुपर्ने भएपनि आफ्नो संस्थाको मात्रै हित हुनेगरी नीतिहरु बन्ने गरेको बताए । अध्यक्ष ढकालले नेपालमा जलवायु परिवर्तनको कारण परेको असर न्युनिकरण गर्न सरकार र समग्र निजी क्षेत्र समन्वय गरेर लाग्न आवश्यक रहेको जानकारी दिए । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले निजी क्षेत्रको दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्ने कुरामा महत्वपूर्ण भुमिका रहेको बताए । उनले शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गरेको खर्चको हिसाब राखेपनि निजी क्षेत्र यो क्षेत्रमा गरेको योगदानको रेकर्ड सरकारसँग नभएको बताए । दिगो विकास लक्ष्य पूरा गर्ने अहिलेसम्म सरकार र निजी क्षेत्रबाट यति बजेट छुट्याएको भन्ने कुरा अहिलेसम्म नपाएको जानकारी दिए । सभापति पन्तले सरकारले निजी क्षेत्रबाट अपेक्षा गर्ने तर भुमिका नदिने काम गरेको आरोप लगाए । जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रले गरेको कामको सरकारले ओनरशिप लिन आवश्यक रहेको बताए । उनले पछिल्लो समय दिगो विकास भित्रको जलवायु परिवर्तनको कुराहरु प्राथमिकताका साथ उठेको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएर हिमालहरुको अवलोकन गरेपछि नेपालमा जलवायु परिवर्तनबाट परेको असरको विषयमा विश्वभरको ध्यानकेन्द्रित भएको जानकारी दिए ।