विकासन्युज

भारतीय व्यवसायी अडानीको श्रीलंकास्थित कोलम्बो पोर्टलाई अमेरिकाले साढे ५ करोड डलर ऋण दिने

एजेन्सी । भारतका अर्बपति व्यवसायी गौतम अडानीले श्रीलंकामा निर्माण गरिरहेको सामुद्रिक बन्दरगाह (शि पोर्ट) मा अमेरिकाको ‘अमेरिकन डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले साढे ५ करोड अमेरिकी डलरभन्दा बढी ऋण उपलब्ध गराउने घोषणा गरेको छ । अडानीले निर्माण गरिरहेको कोलम्बो वेस्ट इन्टरनेशनल टर्मिनल (सीडब्ल्यूआईटी) लाई डीएफसीले ५ करोड ५३ लाख डलरबराबर ऋण उपलब्ध गराउने घोषणा गरेको हो । यस बन्दरगाहमा अडानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन (एपीएसईजेड) को धेरै लगानी छ । बाँकी सेयर श्रीलंकाको जोन किल्स होल्डिङ्स (जेकेएच) र श्रीलंका पोर्ट्स अथोरिटीसँग छ । यो पूर्वाधार परियोजना अडानी समूहका लागि ठूलो राहत हो, जुन अमेरिकी फर्म हिन्डनबर्ग रिसर्चले व्यवसाय सञ्चालनमा त्रुटि भएको आरोप लगाएपछि पछिल्ला केही महिना कठिनाइहरूको सामना गरिरहेको छ । ‘अमेरिकी सरकारले आफ्नो एजेन्सीमार्फत अडानीको परियोजनामा ​​लगानी गरेको यो पहिलोपटक हो । यसले कोलम्बो पोर्टमा विश्वस्तरीय कन्टेनर सुविधाका लागि लगानी र विकास गर्ने क्षमतामा समूहको विश्वासलाई प्रतिविम्बित गर्दछ,’ अडानी समूहले जारी गरेको विज्ञप्तिमा छ । अडानी पोर्ट्सका पूर्णकालिन निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण अदानीले भने, ‘हामी अदानीको परियोजनामा ​​अमेरिकी सरकारी निकायको लगानीलाई स्वागत गर्छौं । यसले हाम्रो दृष्टिकोण, हाम्रा क्षमता र हाम्रा कार्यमा अन्तर्राष्ट्रिय समुदायको विश्वासलाई प्रतिविम्बित गर्दछ ।’ कोलम्बो बन्दरगाह हिन्द महासागरको सबैभन्दा ठूलो र व्यस्त बन्दरगाह हो । यो सन् २०२१ देखि ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । यसको वेस्ट टर्मिनल लगभग ६ करोड ५० लाख डलर लगानीमा विकसित भइरहेको छ। टर्मिनल निर्माण २०२२ मा सुरु भएको थियो र २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा छ । पहिलो चरण २०२४ सम्म तयार हुनेछ । नयाँ टर्मिनलले बङ्गालको खाडीको बढ्दो अर्थतन्त्रलाई आकर्षित गर्न प्रमुख ढुवानी मार्गहरूमा श्रीलंकाको रणनीतिक उपस्थिति र द्रुतरूपमा बढ्दो बजारहरूको निकटताको लाभ उठाउने छ । विदेशी ढुवानी कार्गोमा अवसर देखेर, केन्द्र सरकार पनि आफ्नो मेगा प्रोजेक्ट ग्रेट निकोबार पोर्टलाई गति दिन प्रेरित भएको छ । श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले यस टर्मिनलको विकासले श्रीलंकामा निजी क्षेत्रको नेतृत्वमा विकास हुने र आर्थिक पुनरुत्थानका क्रममा उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन हुने बताइन् । पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरेर श्रीलंकामा चीनको बढ्दो हस्तक्षेप कम गर्न पनि अमेरिकाको यो कदम प्रभावकारी हुने विज्ञहरूले बताएका छन् । कोलम्बो बन्दरगाहको एउटा टर्मिनल चाइना मर्चेन्ट्स पोर्ट होल्डिङले सञ्चालन गर्छ । ‘वेस्ट कन्टेनर टर्मिनलमा डीएफसीको ५ करोड ५३ लाख डलरको निजी क्षेत्रलाई दिइएको ऋण प्रतिबद्धताले यसको ढुवानी क्षमता विस्तार गर्नेछ,’ डीएफसीका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनले भने, ‘यसले श्रीलंकालाई ऋण नबढाएर थप समृद्ध बनाउँछ र यस क्षेत्रमा हाम्रा सहयोगीहरूको स्थिति बलियो बनाउँछ ।’ पूर्वकूटनीतिज्ञ नीलम देवले यसबाट श्रीलंकाजस्ता देशमा लगानीका लागि चिनियाँ पैसाबाहेक अन्य स्रोतहरू छन् भन्ने सन्देश जाने बताइन् ।

तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)

काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ । ‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

सीजीले जाडो मौसमलाई लक्षित गर्दै ल्यायो सीजी घरमा न्यानो मनमा योजना

काठमाडौं । सीजीका जाडो मौसमका सामानहरु बजारमा ल्याएको छ । सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै जाडोका नयाँ-नयाँ सामग्री बजारमा ल्याएको हाे । ‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादन इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पीटीसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, इन्सुलेटेड बोतल आदि नेपालभर उपलब्ध गराएको कम्पनीले जनाएको छ । जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषतासहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजर ल्याएको कम्पनीले जनाएको छ । त्यस्तै हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर छन् । केही समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको जनाएको छ । त्यसैगरी तातो पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरु आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ । प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेको आफ्नो बलियो बिक्री सञ्जालमार्फत उपभोक्तालाई सेवा दिँदै आएको जनाएको छ । यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकलाई थप छनौटको अवसर मिलेको छ ।

किसानले पाएनन् धानको समर्थन मूल्य

देउखुरी । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन्। जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ । सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ तोके पनि किसान भने सो मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका छन् । घोराही उपमहानगरपालिका–६ का मनोज चौधरीले गतवर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार चार सयमा बिक्री गरेको र यसपाली व्यापारीसँगको सहमतिमा दुई हजार सात सयमा धान बिक्री गरेको बताए। उनले एक बिघा जमिनमा धानखेती गरेका छन् । घरमा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । ‘महँगोमा बीउ, मल र श्रमिक लगाएर धानखेती गर्नुपर्छ। तर धानको समर्थन मूल्य नपाउँदा लागानी खेर गएको जस्तो लाग्छ,’ उनले भने । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ। सरकारले तोकेको मूल्य यहाँ हालसम्म मूल्य लागू हुनसकेको उनीहरुको गुनासो छ । लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा प्रतिक्विन्टल रु दुई हजार नौ सयमा स्थानीय व्यापारीलाई धान बिक्री गरेको बताए । समयमै पानी परेकाले यसवर्ष धान उत्पादन राम्रो भए पनि समर्थन मूल्य पाउन नसक्दा आम्दानी कम भएको उनको भनाइ छ । लमही नगरपालिका –५ स्थित कक्षपति राइस मिलले यसवर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय र मसिनो धान प्रतिक्विन्टल रु तीन हजार दुई सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । गतवर्ष भन्दा यो वर्ष धानको मूल्य राम्रो रहेको बताए । मिलले धान खरिद गरेर चामल बनाइ बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्यमा किसानको धान खरिद गर्न नसकेको उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्ति अभावका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । कम्पनीसँग हाल पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई वटा गोदाम छन् । कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार यस वर्ष ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । रासस

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया

काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ थपलियालाई पुनः नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद गौतमले जानकारी दिए । पाँचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलियाले तत्कालिन किष्ट बैंक र प्रभु बैंकमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक बढिको अनुभव भएका थपलियाले बेष्ट फाइनान्समा कामु सीईओ भएर काम गरेका थिए । बेष्ट फाइनान्स (तत्कालिन जनरल फाइनान्स)लाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे पछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए । जनरल फाइनान्सको नाम परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोवार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनीलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोवार गर्न आवश्यक पर्ने कार्य गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौंमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ । महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए।

कामना सेवाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रमहरु अन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला सम्पन्न गरेको छ । उक्त डिजिटल मेलामा बैंकले कावासोती वजारमा रहेका विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा ४२ जना व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्युआर रजिष्ट्रेशन गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरनवलपुरको सकलादेवी मा.विमा ‘समावेशी बैकिङ शिक्षाः आजको आवश्यकता’ विषयक अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नवलपुरको देवचुली नगरपालिका भित्र रहेका विद्यालय स्तरिय उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो । माध्यमिक तह अन्तर्गत नेपाल मा.विका छात्र सौर्य पौडेल प्रथम भएका थिए त्यस्तै आधारभुत तह अन्तर्गत सकला मा.विका छात्रा आकृती चापागाई प्रथम भएकी थिइन् । बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरु अन्तर्गत बिहीबार रोल्पा होलेरीको महेन्द्र मा.वि. अध्ययनरत ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सुर्यवंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरु हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक सुर्यवंशीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार भैरहवा स्थित सस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको छ । उक्त विद्याश्रमका पिठाधिस श्री १००८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डि.आर शर्मालाई उक्त सोफा तथा टेवल हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका बुटवल क्षेत्रका क्षेत्रिय प्रबन्धक खिमलाल भुषाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा गत शुक्रबार देखी विभिन्न ठाउँहरुमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो । हाल बैंकले आफ्ना १३५ संजाल, ७७ वटा एटिएम वुथ तथा १७ वटा शाखा रहित बैंकिङ केन्द्र मार्फत् आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

कर संकलनका लागि महानगरले थाल्यो स्थलगत अनुगमन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएको जानकारी दिए । प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ । टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण सङ्कलन गर्नेछ । सङ्कलित विवरण अनुसार तथ्याङ्क तयार पारी राजस्व विभागका पेस गर्ने बताइएको छ । ‘सात तले घरले सात हजार बहाल सम्झौता देखाएका छन् । जवकि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा देखिन्छन् । त्यस माथिका तला वहालमा लगाइएको छ । एउटै तलामा सात भन्दा धेरै कोठा छन् । हरेक कोठाको सात हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि स्थलगत अनुगमन थालिएको हो’ उनले भने । विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा क्रमिक रुपमा करतादाको सङ्ख्या बढेपनि अपेक्षाकृत सबै करदाता कानुनी दायरामा नआएको कामपाको भनाइ छ । कामपाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको जनाएको छ । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट २५ करोड रुपैयाँ असुल भएको छ । गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् ।