विकासन्युज

खेल-पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुविधासम्पन्न खेल मैदान बिना नै नेपाली क्रिकेट खेलाडीहरुले विश्वकपको यात्रा तय गरे। विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन। यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ। त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौं।’ कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिंदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको जानकारी दिए । ‘सरकारले देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टीमलाई सम्मानसहित पुरस्कृत पनि गरेको छ,’ उनले भने, ‘ दक्षिण एशियाली र एशियाली खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्ने २ सय ५२ खेलाडीलाई मासिक भत्ता पनि उपलब्ध गराएको छ। यी प्रोत्साहनसँगै सरकारको ध्यान पूर्वाधार–निर्माणमै केन्द्रित छ। ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल–पर्यटनको ठूलो सम्भावना हासल गर्न सरकारले कुनै कसर छाड्ने छैन।’

यो वर्ष ७ सय किलोमिटर सडक कालोपत्रे भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष (२०८०) मा ७८६.६१ किलोमिटर सडकको कालोपत्रे भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज देशवासीका नाममा सम्बोधन गर्दै यस वर्ष उक्त किलोमिटर कालोपत्रे भएको बताएका हुन् । दाहालका अनुसार यसै वर्ष ५७७.५ किलोमिटर ग्रामीण सडकको निर्माण भएको छ । उनले १८१.२९ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको पनि बताए ‘यति मात्र म सन्तुष्ट छैन, पूर्वाधार विकासका काम धेरै गर्नुपर्ने छ , सरकारको प्राथमिकता पूर्वाधार विकासमा छ, एकपछि अर्को गर्दै काम गरी अगाडि बढ्ने छौं,’ उनले भने

अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने बताएका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै उनले विश्वविद्यालयमा मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने बताए । ‘अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुँदैन, विश्वभरी रहेका क्षमतावान जो सुकैले पनि योजनाका आधारमा नेतृत्वको लागि दाबी गर्नसक्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

चालु आर्थिक वर्षभित्रै देशको रेटिङ गर्ने, गेमचेन्जर ठूला जलविद्युत् आयोजनामा ध्यान केन्द्रित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षभित्रै देशको क्रेडिट रेटिङ सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको उनको भनाइ छ । भारत, बंगलादेश र चीनसमेत विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको उनको भनाइ छ । बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट पारे । तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरू भएको जानकारी दिए । १ हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको, हाल कार्यान्वयनमा रहेको ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनामा सहजीकरण गरिरहेको र १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ । अबको दुई÷तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुने, हालसम्म ९ हजार १६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको उनले बताए ।

मैले सोचेअनुसारको आर्थिक वृद्धि भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोचेअनुसारको आर्थिक वृद्धि नभएको बताएका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै उनले सो बताएका हुन् । ‘सम्पूर्ण आर्थिक सूचकहरु सकारात्मक छन् । अहिले विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च छ । संस्थानहरु नाफामा जाँदै छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक वृद्धिदर मैले सोचेको भन्दा कम छ । यसको लागि मैले राजनीतिक नेतृत्व र कर्मचारी राखेर छलफल गरिसकेको छु’, उनले भने । उनले नियोगका अधिकारीहरु फिर्ता बोलाउने समेत बताए । प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन हुन नसक्दा अपेक्षित उपलब्धि हुन नसकेको उनको भनाइ छ । साथै उनले आगामी आर्थिक वर्षको बजेट फागुन महिनाभित्रैबाट शुरु गर्ने समेत बताए ।

पुर्वाधार निर्माण सम्पन्न गर्न संकटकाल घोषणा गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटकाल घोषणा गरेर भएपनि पुर्वाधार निर्माण सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुर्वाधार निर्माण सम्पन्न गर्न आवश्यक परे संकटकाल घोषणा गर्ने बताए । साथै, पुर्वाधारण निर्माणका लागि दुई सिफ्टमा काम गर्ने परिपाटीको विकास गर्ने उनको भनाइ छ । एक वर्षअघि ३ महिनामात्रै धान्ने विदेशी मुद्रा हाल इतिहासकै उच्च रहेको उनको भनाइ छ । साथै, सधैं घाटामा जाने सार्वजनिक संस्थान नाफामा जान लागेको उनले बताए । यही साता प्रधानमन्त्री कार्यालयको संरचना परिवर्तन गर्ने उनले बताए ।

समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपाली समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्दै केही व्यक्तिहरुले सो हिनताबोधलाई समेत मलजल गर्ने बताए । ‘अहिले नेपाली समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको छु । एकथरीले त मलजल गर्न खोजिरहेका छन्’, उनले भने ।

जुम्लामा हवाई सेवाको टिकट व्यवस्थित गरिँदै

जुम्ला । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकार सहभागी बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले यात्रुको नाम लेखेर पारदर्शिता गराउनुपर्ने र भोलिपल्टको उडानको टिकट अघिल्लै दिन वितरण गर्नुपर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए। वायुसेवा कम्पनीले दश सिट बिरामी, अशक्त, सुरक्षाकर्मी र अन्य आकस्मिक काम परेका व्यक्तिका लागि सिट सुरक्षित गर्ने भएको छ । सीता एयरलाइन्सको हकमा भने सात सिट सर्वसाधारणका लागि एक दिन अगावै वितरण हुने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । सर्वसाधारण नागरिक र आन्तरिक पर्यटकका लागिसमेत टिकट पाउन अब सहज हुने विश्वास गरिएको प्रजिअ घिमिरेको भनाइ थियो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कुनै पनि हालतमा विमानस्थलको द्वारबाहिर कार्यालय खोल्नुपर्ने र टिकट वितरणमा पारदर्शिता हुनुपर्ने बताए। हवाई उडान क्षेत्रको टिकट सर्वसाधारणको पहुँचसम्म पुग्नुपर्ने आवश्यकताको विषय हो । पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गरी कार्यान्वयमा ल्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको भनाइ थियो । लामो समयदेखि जहाजको टिकट वितरण सहज नहुँदा यहाँका नागरिकले सास्ती खेपिरहेको स्थानीय पत्रकार पूर्णप्रसाद चौलागाईले बताए । नेपालगञ्जदेखि जुम्लासम्म हप्ताको एकपटक नेपाल वायुसेवाको एयरलाइन्स र नियमित रुपमा समिट एयरले उडान गर्दै आएका छन् । सीता र तारा एयरले समेत जुम्लाका लागि उडान भर्दै आएका छन्  । रासस