विकासन्युज

आधा दर्जन बैंकको साढे ३३ करोडको सेयर बेच्दै प्रुडेन्सियल र गणेश प्रोपर्टिज

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टले आधा दर्जन बढी कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेका छन् । यी दुवै कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुल १८ लाख २३ हजार ४६० कित्ता अर्थात् ३३ करोड ४४ लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले प्राइम बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्राइम बैंकको ४९ हजार ७१७ कित्ता, कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६७८ कित्ता, प्रभु बैंकको ६८ हजार ७२९ कित्ता, प्रभु बैंकको ११० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख ४ हजार ५३७ कित्ता, आइसिएफसि फाइनान्सको ९२ हजार ६१६ कित्ता र नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखेको हो । प्राइम बैंकको सेयर मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ, कुमारी बैंकको १ सय रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १२० रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२० रुपैयाँ, आइसिएफसि फाइनान्सको १७५ रुपैयाँ र नेपाल लाइफको ३२५ रुपैयाँ तोकिएको छ । यस्तै, गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले आइसिएफसि फाइनान्सको १ लाख ६१२ कित्ता र हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखेको हो । आइसिएफसि फाइनान्सको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १७५ रुपैयाँ र हिमालयन लाइफको २ सय रुपैयाँ तोकेको छ । आज पुस ११ गतेदेखि पुस १९ गतेसम्म लिलाम बिक्रीमा राखिएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिकित्ता ११० रुपैयाँमा प्राइम बैंकको सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको ४९ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार आज पुस ११ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै, प्रतिकित्ता ५२५ रुपैयाँ

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखिएको छ । हस्पिटलले १८ लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको हो । कम्पनीको गत मंसिर ३० गते सम्पन्न विशेष साधारण सभाले जगेडामा रहेको १८ लाख सेयर अंकित मूल्य १ सय रुपैयाँमा ४२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५२५ रुपैयाँ बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सो प्रिमियम मूल्य नघटने गरी एकमुष्ठ खरीद गर्ने वा नगर्ने भनी आन्तरीक रुपमा सेयरधनीहरूलाई पुस १ गते ७ दिनको समय दिई पत्राचार गरीएको थियो । अधिकांश सेयरधनीहरूको जवाफ आईसकेको र केहि सेयरधनीहरूको जवाफ नआएकोले उक्त प्रिमियम मूल्यको सेयर खरीदको दावीको लागि ७ सात दिनको समय दिइएको कम्पनीले जनाएको छ ।

आज यी ३ कम्पनीको सेयर खरिद गर्यो भने लाभांश पाउने

काठमाडौं । बुधबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फस्र्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ तीनै कम्पनीले पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् । हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १५औं वार्षिक साधारणसभा पुस २६ गते काठमाडौंमा बिहान १० बजे डाकेको हो । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले २७औं वार्षिक साधारणसभा पुस २४ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १४औं वार्षिक साधारणसभा पुस २८ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।

यशोदा फूड्सको ब्राण्ड एम्बास्डरमा कप्तान एरिक

काठमाडौं । यशोदा फुड्सको ब्राण्ड एम्बास्डरमा एरिक नियुक्त भएका छन् । यशोदा फुड्सले नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनीका मार्की खेलाडि एवम् कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कम्पनीले कप्तान एरिकसँग एक वर्ष अवधिका लागि सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यशोदा फुडसँग जोडिन पाउँदा खुसी लागेको र कम्पनीलाई उचाइमा पुर्याउन सहयोग गर्ने एरिकले बताए । एनएसएलमा करेन्टले बुटवल लुम्बिनीलाई पनि प्रायोजन गरेको थियो । यशोदा फूड्स करेन्ट चाउचाउ, चिज बल लगायतको उत्पादक कम्पनी हो ।

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्ने बताएका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसवर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा दुई दशमलव सात प्रतिशत बिन्दुले कम भएको उल्लेख गरेका हुन् । ‘यो पक्कै उपलब्धि हो । तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन, उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी काम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ, उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा सकारात्मक प्रभाव पर्ने निश्चित छ ।’ भुक्तानी सन्तुलन झण्डै एक खर्ब ५० अर्बले सकारात्मक रहनु र विगत कैयौँ वर्षदेखि घाटामा रहेका चालु खातासमेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित भएको र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए । ‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात नबढिकन आयात मात्र घटेर कम हुँदा व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता म यहाँहरूलाई लुकाउन चाहन्नँ । समस्यालाई जनतासँग लुकाएर देश अघि बढ्दैन, ‘उनले भने, ‘आन्तरिक उत्पादनसँगै निर्यात पनि बढाउने गरी उत्पादन परिमाण वृद्धि गर्नका लागि म आवश्यक पहल गर्छु । विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ ।’ आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन तथा रोजगारी बढाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगलाई लगानी तथा पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुख फिर्ता बोलाइने छन् ।’ रासस

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : ‘अब म हाँगा छिमल्ने गल्ती गर्दिनँ’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री पदमा नियुक्ति भएको एक वर्षको अवधिमा आफूले गरेका कामको समीक्षा सहित देशवासीका नाममा सम्बोधन गरेका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै आफूले नीतिगत सुधारदेखि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विभिन्न काम गरेको बताउँदै सोचेजस्तो काम भने नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भने कार्यशैली बदल्दै नतिजा देखिनेगरी काम गर्ने प्रतिबद्धता सम्बोधनबाट गरेका छन् । प्रधानमन्त्रीले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । स्वास्थ्य विमाको दायरा विस्तार गर्नुका साथै सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आवद्ध गरिने उनले बताए । देशवासीका नाममा सम्बोधन गर्दै उनले विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरे । ‘मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन’, उनले भने । संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दावी गर्न सक्ने उनले बताए । ‘चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पु¥याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चालनको गृहकार्य भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको जानकारी दिएका छन् । उनले कृषिमा राज्यको लगानी नघटेको तर उत्पादकत्व नबढेको बताए। सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिने उनको भनाइ छ। प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिने र दूध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुने उनले बताए । उनका अनुसार खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, बिकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (वि.सं. २०८१–२०९१) नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता यही फागुनमा सार्वजनिक गर्ने तयारी सरकारले गरिरहेको पनि उनले बताए । बजेटको सिद्धान्त र प्राथमिकता समयमै सार्वजनिक गरेर त्यसमाथि जनप्रतिनिधि र आम नागरिकको सुझाव लिइने पनि उनको भनाइ छ । बजेट निर्माणको परम्परागत तरिका भत्काउने उद्घोष गर्दै प्रधानमन्त्री प्रचण्डले दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेगरी नीतिगत, संरचनागत र कानुनी सुधारका काम सरकारले गर्ने पनि उनले प्रस्ट पारे। विकास र समृद्धिको यात्रा सन्तोषजनक नभए पनि सरकारले अधिकतम प्रयास गरिरहेको पनि उनको भनाइ छ । आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा सफल भएको दाबी आफूले नगर्ने पनि प्रचण्डले बताए । ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि, सरकार असफल त भएन, तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘देश कति बन्यो भन्ने होइन, देश कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली फेरिन्छ ।’ केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने उद्घोष पनि प्रधानमन्त्री दाहालले गरेका छन् । ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा नगएर नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधानमा लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ [pdf id=454742]

बिजुलीले देशमा उज्यालो ल्याउँदै छ, यो लोकतन्त्रको उपलब्धि होइन ? : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गरेका छन् । ‘सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ । एकथरी तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्, उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रोमात्र भइरहेको छ । म आज यो प्रश्नबाट सम्बोधन सुरु गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो ?’ आफू दोस्रोपटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घण्टासम्मको ‘लोडसेडिङ’लाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आज लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको पनि जानकारी दिए । ‘वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा सात सय मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ, ‘उनले भने, ‘जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव २८ प्रतिशतले बढी हो । पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।’ विक्रम संवत् १९६८ मा फर्पिङ जलविद्युत्बाट पाँच सय किलोवाट विद्युत् उत्पादनबाट सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका एक सय चार वर्षमा जम्मा आठ सय मेगावाटमात्र उत्पादन क्षमता पुगेको तर विगत ७ वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता बढेर दुई हजार आठ सय ९२ मेगावाट पुगेको छ र जसमध्ये करिब पाँच सय ४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘विगतका हिसाबले यो एक वर्ष करिब असी वर्ष बराबर हो । तर, मैले यसमा सन्तोष मानेको छैन । मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो ।’ नेपालको समृद्धिका लागि नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति भएको आँैल्याउँदै उनले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको एकदमै नजिक पुगेको र नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको पनि जानकारी दिए । आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीन जोड्ने चिलिमे–केरुङ दुई सय २० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने पनि बताए । ‘देशभित्र पनि हामी उद्योग र चुलोदेखि यातायातसम्म विद्युत् खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढ्दैछौँ, गम्भीर भएर सोचौँ त, देशले हरेक वर्ष कम्तीमा पाँच खर्ब रुपैयाँको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देशसरह हुन हामीलाई कति नै वर्ष लाग्ला र ?, ‘उनले प्रश्न गरे, ‘म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिल्यै थियो र ? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धि होइन र ?’ रासस