चालु आर्थिक वर्षभित्रै देशको रेटिङ गर्ने, गेमचेन्जर ठूला जलविद्युत् आयोजनामा ध्यान केन्द्रित

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षभित्रै देशको क्रेडिट रेटिङ सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको उनको भनाइ छ । भारत, बंगलादेश र चीनसमेत विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षभित्रै देशको क्रेडिट रेटिङ सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको उनको भनाइ छ । भारत, बंगलादेश र चीनसमेत विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको उनको भनाइ छ ।

बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट पारे । तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरू भएको जानकारी दिए ।

१ हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको, हाल कार्यान्वयनमा रहेको ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनामा सहजीकरण गरिरहेको र १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

अबको दुई÷तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुने, हालसम्म ९ हजार १६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको उनले बताए ।

Share News