बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्छ : सांसद झा
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताए । सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरु धेरै अध्ययनका लागि गएकाले उनीहरुले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरुको पीडालाई सम्बोध गर्नुपर्ने जानकारी दिए । ‘नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरु आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए । धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन । तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो’, उनले भने । बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढि नेपाली स्वादेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ ।
विपद् पीडितका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् । गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताए । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताए । विपद्मा परी १३० जनाको मृत्यु भएको र घाईते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिए । ‘विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यही असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ, जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझि लगेका छन् भने ५ जनाको पहिचान हुन सकेको छैन’, उनले भने । गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराए ।
घुस दिएको विषयलाई सांसदले नजरअन्दाज गर्न मिल्दैन : सांसद केसी
काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरे । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको ? भन्दै प्रश्न गरे । उनले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताए । उनले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गरे । पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गरे । ‘आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेको थियो । जसमा १० खर्ब ३० अर्ब मात्रै राजश्व संकलन भएको छ, मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने भएपनि मुलुकमा समृद्धि भन्दा पनि केवल साधरण खर्च बढाएर अदोगतितिर लैजाने प्रयास हुँदैछ’, उनले भने । उनले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताए । सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताए । अब सरकारले मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको जानकारी दिए ।
भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने
काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार बजेट सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान ७ अर्ब भारु ( ११ अर्ब २० करोड नेपाली रुपैयाँ) राखिएको बताएकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउने भए पनि नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो । वित्त वर्ष २०२३र२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो । वित्त वर्ष २०२२र२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको थियो ।
कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयो : सांसद साही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताएका हुन् । उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाएको बताए । स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने जानकारी दिए । ‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो, पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो’, उनले भने । उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।
डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्नु गतल हो : सांसद बस्नेत
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरुबाट गर्न जरुरी रहेको बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताए । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराए । ‘डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ । त्यसको निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरु पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्यो । कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ’, उनले भने । उनले नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।
बागमती प्रदेश मन्त्रालय बाँडफाँट, कांग्रेसलाई सात र एमालेलाई ६ मन्त्रालय
मकवानपुर । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच मन्त्रालय बाँडफाँट भएको छ । दुई दलबीचको समहमतिअनुसार कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय पाउने छन् । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए । यस्तै, नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उनले बताए । बागमतीमा कांग्रेसका बहादुरसिंह तामाङको नेतृत्वमा सरकार बन्दैछ । उनले एमालेको समर्थनमा दाबी पेस गरिसकेका छन् ।
एडुसन्जाल र आइएमई पेबीच साझेदारी
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ । यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एपमार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्नेछन् । यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ‘आइएमई क्वीज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने कम्पनीको भनाइ छ ।