काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् । गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताए ।
विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताए । विपद्मा परी १३० जनाको मृत्यु भएको र घाईते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिए ।
‘विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यही असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको छ, जसमध्ये १९ जना पहिचान भई आफन्तले शव बुझि लगेका छन् भने ५ जनाको पहिचान हुन सकेको छैन’, उनले भने ।
गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराए ।