घुस दिएको विषयलाई सांसदले नजरअन्दाज गर्न मिल्दैन : सांसद केसी

<p>काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरे । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरे । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको ? भन्दै प्रश्न गरे । उनले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताए ।

उनले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गरे । पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गरे ।

‘आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेको थियो । जसमा १० खर्ब ३० अर्ब मात्रै राजश्व संकलन भएको छ, मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने भएपनि मुलुकमा समृद्धि भन्दा पनि केवल साधरण खर्च बढाएर अदोगतितिर लैजाने प्रयास हुँदैछ’, उनले भने ।

उनले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताए । सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताए । अब सरकारले मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको जानकारी दिए ।

Share News