त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्मुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।
शिवानी एयरले साढे ५५ करोड रुपैयाँ नतिरेपछि वायुयान बेच्दै क्यान
काठमाडौं । आर्थिक संकटका कारण बन्द भएको शिवानी एयरले साढे ५५ करोड रुपैयाँ सरकारलाई भुक्तानी गर्न बाँकी रहेको छ । हवाई तालिम दिने उदेश्यले खुलेको शिवानी एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई ५५ करोड ५० लाख ९४३ रुपैयाँ बक्यौता रहेको छ । पटक–पटक ताकेता गर्दा पनि एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरका नाममा रहेका वायुयानहरू लगायत अन्य पार्टपुर्जाहरू लिलामीमा बिक्री गर्ने भएको हो । ‘प्राधिकरणलाई शिवानी एयरले वि.सं. २०६९ असोज ८ गतेसम्मको तिर्नु बुझाउनु पर्ने बाँकी बक्यौता ५५ करोड ५० लाख ९४३ रुपैयाँ र तत्पश्चात पनि शिवानी एयरले भरतपुर नागरिक उड्डयन कार्यालयलाई तिर्नु बुझाउनु पर्ने रकम बुझाएको छैन,’ क्यानले भन्यो । शिवानी एयरका अध्यक्ष तथा प्रबन्ध संचालक मणिन्द्रलाल रन्जितकारले वि.सं. २०८० बैशाख ३१ गते बसेको बैठकमा बाँकी वक्यौता रकमको बैंक ग्यारेन्टी ७ दिन भित्र पेश गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । साथै भरतपुर नागरिक उड्डयन कार्यालयमा वि.सं २०८० साउन ८ गते बसेको बैठकमा वक्यौता रकम अर्थ विभागसँग समन्वय गरी बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त कार्यहरू नगरेको हुँदा अबको २१ दिनभित्र शिवानी एयरले बुझाउनु पर्ने बाँकी वक्यौता रकम बुझाई हिसाब फरफारक गर्न प्राधिकरणले अन्तिमपटक समय दिएको छ । यदि उक्त समयमा भुक्तानी नगरेमा भरतपुर नागरिक उड्डयन कार्यालयको हाता भित्र रहेका शिवानी एयरको नाममा दर्ता कायम रहेका वायुयानहरू लगायत अन्य पार्टपुर्जाहरू लिलामीमा बिक्री गरिने जनाएको छ । यसरी प्राधिकरणबाट वायुयान तथा अन्य पार्टपुर्जाहरू लिलाम बिक्री गरेकोमा शिवानी एयरले कुनै दावी विरोध गर्न पाउने नपाउने प्राधिकरणको भनाइ छ । साथै वायुयान तथा अन्य पार्टपूर्जाको बिक्री गरेर वक्यौता रकम बाँकी रहेमा सरकारी नियमसरह शिवानी एयरका संचालकबाट असुल उपर गरिने जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन
काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेका थिए । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ । प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिए । पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए ।
बीमाको दायरा पाँच लाख कायम गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई ५ लाख रुपैयाँ कायम गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागू गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिएको हो । पार्टी केन्द्रीय समितिको आजको बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलतालाई हटाइ सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न यस्तो माग गरिएको उल्लेख छ ।
चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु
काठमाडौं । डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।
ग्लोबल आइएमईले माग्यो कर्मचारी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । राष्ट्रियस्तर कार्यक्षेत्र भएको लघुवित्तले ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्न विभिन्न पदहरूमा स्थायी रुपमा कर्मचारी मागेको हो । लघुवित्तले विभागीय प्रमुख तथा सहायक, कानून अधिकृत, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी मागेको हो । इच्छुक योग्य व्यक्तिले हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नपा–५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उहाँको उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा–७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निरन्तर ओरालो लाग्दै विदेशी मुद्राको भाउ
काठमाडौं । सोमबार विदेशी मुद्राको भाउ घटेको छ । तर, अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको मूल्य भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १७ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४७.९१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४८.५८ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.५७ रुपैयाँ र बिक्रीदर ९०.९ड रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२२ रुपैयाँ र बिक्रीदर ९९.६७ रुपैयाँ तोकिएको छ । यसअघि युरोपियन युरो एकको खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४९.०६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.०१ रुपैयाँ र बिक्रीदर ९१.४२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.३५ रुपैयाँ र बिक्रीदर ९९.८० रुपैयाँ तोकिएको थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको छ ।