विकासन्युज

बर्खा याममा किन पाक्छ कान, कसरी जोगाउने ?

बर्खा याममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढवा दिन्छ । बर्खा याममा मानिसहरू धेरै खेतबारीमा काम गर्ने गर्दछन् । उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरू पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन् । यो बाहेक पौडी खेल्न जाँदा कान भित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । बर्खाको समयमा धेरै कानका समस्याहरू आउने गरेका छन् । बच्चाहरुले  ठुलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ ।   पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका बिरामी समेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरू यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् । कानको रोगका लक्षणहरू – कान चिलाउने – कान अत्यधिक मात्रामा दुख्ने – कान डम्म हुने – कान भित्रबाट पिप वा पानी बग्ने समस्या । अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्‍यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ । उपचार विधि कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कान भित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ । यसबाट कसरी बच्ने ? – पौडी खेल्न जाँदा एयर प्लग लगाउने । – पौडी खेल्दा कान छोप्ने । – डाइभ भरसक नगर्ने । – पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने । कान दुख्ने समस्या देखियो भने काने गुजी हटाउनुपर्छ भन्ने छैन। धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढङ्गले हटाउनुपर्छ । वडले काने गुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो काने गुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले काने गुजी आफै सफा हुने मेकानिज्म बनाएको हुन्छ । कानले जति काने गुजी चाहिने हो त्यो राखेर बाँकी काने गुजी आफै फाल्छ । यस्तै, कान पाक्ने समस्या सम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ । (नाक, कान, घाँटी विशेषज्ञ डा. आनन्द घिमिरे विगत १० वर्षदेखि ग्राण्डी अस्पतालमा कार्यरत छन् । उनी नाक, कान, घाँटी विभागको प्रमुख समेत हुन् ।)

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि अनिवार्य नभएको जनाएको हाे । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ स्थानीय तहलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको छ ।

रोजगारीका लागि नेपाल आउनेमा सबैभन्दा बढी चिनियाँँ नागरिक

काठमाडौं । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका अनुसार विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँँ नागरिक रहेका हुन् । नेपालमा सञ्चालन भएका आयोजनाहरूले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौं–तराई–मधेश द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या भने घटेको छ। श्रमस्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ। सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको तथ्यांकमा उल्लेख छ। अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौं सय ९४ विदेशीले श्रमस्वीकृति लिएकोमा गत वर्षको सो अवधिमा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ६८५ रहेको छ । यसमध्ये पनि विदेशी महिला कामदारको संख्या ३४९ रहेको तथ्यांकले देखाएको छ । २०७९/८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएको विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । गत आवमा भने एक हजार २० नयाँ आवेदकलाई श्रमस्वीकृति दिइएको थियो भने एक हजार ६६५ जनाको श्रमस्वीकृति नवीकरण गरिएको थियो । पोलि चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत छन् ।

नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला

काठमाडौं ।  नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ । नेपालको आइसिटी क्षेत्रमा इन्नोभेसन, उद्यमशीलता र प्राविधिक उपलब्धतालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले नास आईटी अवार्ड २०२४ आयोजना हुन लागेको हो । अवार्डका लागि बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात, लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना विधामा आवेदन दिन सकिने छ । आवेदन आगामी भदौ ५ गतेसम्म दिन सकिने छ । नास आईटी अवार्ड २०२४ का विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ । एपिक्टा अवार्डले अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम सहित १७ एशिया प्यासिफिक अर्थतन्त्रहरूका आइसिटी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्म प्रदान गर्दछ ।

होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने

काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डल र उपप्रधान तथा अर्थमन्त्रीबीच होटल क्षेत्रको वृहत्तर विकासमा छलफल भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् । अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको संख्या र क्षमतामा उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरुको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवद्र्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने मागप्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए । उनले नेपालमा आउने भारतीय पर्यटकहरुबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरुमा मन्त्रालय सकारात्मक रहेको बताए । उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरुप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए । प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरु सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो ।

उच्च शिक्षा अध्ययनका लागि ६६ देशमा १ लाख १२ हजार विद्यार्थीलाई अनुमति

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा ६६ देशका लागि १ लाख १२ हजार बढी विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा बढी जापानका लागि अध्ययन अनुमतिपत्र लिएका छन् ।  जापानमा ३४ हजार ७ सय ३१ जनाले  अनुमतिपत्र लिएका छन् । त्यसैगरी क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जना विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन् । बंगलादेशमा भने चार सय ४८ जनाले अनुमतिपत्र लिएका छन् । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेमध्ये सबैभन्दा बढी जापानी भाषा अध्ययनका लागि ३३ हजार ६७९ जनाले अनुमतिपत्र लिएका छन् । विभिन्न देशमा व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार आठ ९१, बिजनेस अध्ययनका लागि १० हजार २९, स्वास्थ्य शिक्षामा चार हजार १५९, सूचना प्रविधिमा पाँच हजार ९११, विज्ञानमा पाँच हजार ३८४, हस्पिटियालिटीमा २५ सय ४३, कम्प्युटर साइन्समा ४ हजार ९ सय ९२ अनुमतिपत्र लिएका छन् ।

एनआईसी एशिया लघुवित्तका नवनियुक्त सीईओ जोशीले लिए सपथ

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त सीईओ चोलराज शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

एभरेष्ट बैंक र एसबी सोलुसन्सको सहकार्य, सुरु भयो क्रेडिट स्वचालन प्रणाली

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एस।बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका थिए । यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने छ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन्, साथै ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुने बैंकले जनाएको छ । । एस.बी. सोलुसन्स फिनटेक र बैंकिङ उत्पादनहरू र प्रक्रियाहरूको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ । यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ । हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एस.बी. सोलुसन्सद्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।