काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताए ।
सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरु धेरै अध्ययनका लागि गएकाले उनीहरुले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरुको पीडालाई सम्बोध गर्नुपर्ने जानकारी दिए ।
‘नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरु आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए । धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन । तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो’, उनले भने ।
बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढि नेपाली स्वादेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ ।