विकासन्युज

साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस 

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धकसचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको कम्पनीले बताएको छ ।

‘त्यो मौद्रिक नीति’ : झस्काइरहन्छ गभर्नरलाई

काठमाडौं । २०७७ साल साउन २ गते शुक्रबार । नेपाल राष्ट्र बैंक गभर्नरको सचिवालयले बिहानै सञ्चालक समिति बैठक डाक्यो । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति अध्यक्ष गभर्नर महाप्रसाद अधिकारीसहित अन्य सञ्चालकहरू शिरिरकुमार ढुङ्गाना (तत्कालीन अर्थसचिव), तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, श्रीराम पौड्याल, रामजी रेग्मी र सुबोधकुमार कर्ण समयमै बैठकमा उपस्थित भए । गभर्नर अधिकारीले बैठकको सुभारम्भ गरे । करिब दुई घण्टा बैठक बस्यो । दुई घण्टाको अवधिमा मौद्रिक नीतिका विभिन्न व्यवस्थाको विषयमा घनीभूत छलफल भयो । सञ्चालकहरूले गभर्नर अधिकारीसँग नयाँ मौद्रिक नीतिमा राखेका व्यवस्थाको तार्कित कारण  खाेजे । गभर्नरले त्यसको ‘वेल रेस्पोन्स’ गरे । नयाँ व्यवस्थाको कारण र त्यसले पार्ने भावी प्रभावको विषयमा गभर्नरले अन्य सञ्चालकहरूलाई प्रष्ट्याए । दुई घण्टा बढी चलेको बैठक सकियो । सो बैठकले मौद्रिक नीतिको मस्यौदालाई अनुमोदन गर्‍यो । अर्थात् आर्थिक वर्ष २०७७/७८ काे मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समिति बैठकबाट पारित भयो । मौद्रिक नीति पारित भएपछि गभर्नर तथा सञ्चालक समिति अध्यक्ष अधिकारीले बैठक सकिएको घोषणा गरे । मौद्रिक नीति पारित भएपछि गभर्नरकै सक्रियतामा सञ्चालकहरूलाई राष्ट्र बैंकमै दिवाभोजको आयोजना गरियो । गभर्नर अधिकारीसहित ६ जना सञ्चालकले राष्ट्र बैंकमै बसेर खाना खाए । तर, एक जना सञ्चालक अत्यावश्यक काम परेको भन्दै घरतर्फ लागे । ६ जना सञ्चालक राष्ट्र बैंकमै खाना खाइरहेका थिए । एक जना घर लागेकाे आधा घण्टा नबित्दै सञ्चार माध्यममा ‘ब्रेकिङ’ भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् ल्याउने नीति तथा कार्यक्रम र नयाँ व्यवस्थाको विषयमा एकपछि अर्को समाचार आउन थाले । सञ्चार माध्यममा आएका सबै समाचारहरू ‘सत्य’ थिए । अर्थात् केही समयअघि राष्ट्र बैंकको सञ्चालक समितिले जुनजुन विषय मौद्रिक नीतिमा राखेको थियो, तिनै विषयहरू समाचारमा आए । नीतिगतदरू जस्ताको त्यस्तै समाचारमा आए । त्यो दिन स्मरण गर्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजसँग भने, ‘६ जना सञ्चालक राष्ट्र बैंकमै खाना खाइरहनु भएको थियो, त्यतिबेलै विभिन्न सञ्चारमाध्यमा मौद्रिक नीतिमा गरेको व्यवस्थाबारे समाचार आउन थाले, कतिपय सञ्चारकर्मीले मौद्रिक नीति सार्वजनिक भइसकेको हो र ? भनेर प्रश्न गरिरहनु भएको थियो, समाचारमा आएका विषयवस्तुहरू मौद्रिक नीतिको हुबहु थिए, त्यसले गभर्नरज्यूलाई निकै तनाब पनि भयो ।’ राष्ट्र बैंकमा खाना खाइरहेका गभर्नरसहित अन्य सञ्चालक बाहेकलाई मौद्रिक नीतिमा उल्लेख भएका नीतिको विषयमा जानकारी थिएन । ६ जना सञ्चालक सँगै थिए, मौद्रिक नीति कसले चुहायो ? सञ्चालकहरूबीच नै मतभेद सुरु हुन थाल्यो । खाना खाइरहेका ६ जना सञ्चालकबीच व्यापक छलफलपछि घर गएका ती सञ्चालकले मौद्रिक नीति चुहाएको अनुमान गरे । सञ्चार माध्यममा छताछुल्ल भएको मौद्रिक नीतिका विषयमा गभर्नर चिन्तित बने । उनले लगत्तै फेरि सञ्चालक समितिको बैठक राखे । त्यो बैठकबारे घर हिँडेका सञ्चालकलाई जानकारी नै गराइएन । केही समय अगाडि मौद्रिक नीतिमा पारित भएका विषयहरूलाई परिमार्जन गरेर नयाँ नीतिगत व्यवस्था गरियो । नीतिगत दरहरू पुनः परिवर्तन गरियो । ‘मौद्रिक नीतिमा आउनु पर्ने विषयहरू अगाडि नै सञ्चारमाध्यममा आइसकेका थिए, पछि गभर्नरज्यूले घोषणा गर्नु औपचारिकजस्तो मात्रै हुन्थ्यो, मौद्रिक नीति चुहिनु राष्ट्र बैंकका लागि पनि राम्रो होइन, त्यसैले पनि बजारमा पृथक सन्देश प्रवाह गर्न पुनः बैठक बसेर मौद्रिक नीति परिमार्जन गरियो, केही समय अगाडि गरेका नीतिगत व्यवस्थालाई हटाएर वा परिमार्जन गर्ने निर्णय दोस्रो बैठकले गर्‍यो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो । त्यसपछि गभर्नर अधिकारीले भर्चुअल पत्रकार सम्मेलन राखेर मौद्रिक नीति बाचन गरे । मौद्रिक नीतिमा सञ्चार माध्यममा आएका विषयहरू आएनन् । समाचार ब्रेकिङ गर्ने सञ्चार माध्यमहरू गलत ब्रेकिङ भएको भन्दै स्रोतलाई सराप्न थाले । ब्रेकिङका लागि समाचार दिने सञ्चालक अचम्ममा परे, आफूले निर्णय गरेकाे एउटा र मौद्रिक नीतिमा अर्कै विषय आएको भनेर उनी आश्चर्यमा परे । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीसहित अन्य सञ्चालकहरू पनि ती सञ्चालकसँग रिसाएका थिए । गभर्नर अधिकारीले ती सञ्चालकलले राष्ट्र बैंकको काम कारबाहीमा बेइमानी तथा बदनियत गरेको भन्दै कारबाही गर्ने तयारी पनि नगनरेका होइनन् । तर, ती सञ्चालकको कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहेकोले गभर्नर सो निर्णयबाट पछि हटेको बुझिएको छ । अहिले पनि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएपनि अन्तिम आवरमा आएर रोकियाे । अब राष्ट्र बैंकले आगामी शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर, गभर्नर अधिकारी भने अझै पनि २०७७ साउन २ गते दोहोरिन्छ कि भन्ने चिन्तामा छन् । आफ्नो टिमबाट मौद्रिक नीति चुहिन्छ कि भन्ने त्रासमा उनी छन् । उनले राष्ट्र बैंकका सञ्चालक र कर्मचारीहरूलाई पनि विगतमा भएकोजस्ताे गलत अभ्यास नगर्न आग्रह गरिरहेका छन् ।

प्रभु बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टको सेवामा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । मकवानपुर जिल्ला बागमति प्रदेशको मूख्य केन्द्रविन्दु तथा वागमति प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाईमा रहेको छ । इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दीर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तब्य स्थल हुन भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउजी, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौंसम्म विक्री वितरण हुने गर्दछ । आन्तरिक तथा वाह्य पर्यटकहरु यहाँ सितलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन । विशेष गरि गर्मि याममा गर्मि छल्नका लागि बढी पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । चारैतिर जङ्गल अनि हरियाली बीचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिरशिर बतास चल्दा यहाँ पुगेपछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमि नै महसुश हुने गर्दछ

स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्यो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धि कानून सरकारले तत्काल निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गरी न्युनिकरण गर्न आवश्यक रहेको बताए । सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गरे । उनले स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रीपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानूनी व्यवस्था आवश्यक रहेको बताए । संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल सम्बन्धि रिपोर्ट दिँदै भ्रष्टाचारयुक्त मुलुकमा नेपाल ५० अंक भन्दा तल रहेको बताएको पनि जनाए । यस्तै, उनले स्वार्थको द्वन्द्वहरु बाझिँदा भ्रष्टाचार पनि बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र नियमन गर्ने कुराहरु कमजोर बनेको देखिएको बताए । राजनीतिक दल, प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानून आवश्यक देखिएको जानकारी दिए । ‘स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउन २०६९ सालमा मन्त्रीपरिषद्ले रणनीतिक योजना बनाएको पाइन्छ । तर त्यो अगाडि बढेन, संविधान जारी भएपछि ट्रान्सफरेन्सी इन्टरनेशनलले नेपालसम्बन्धि रिपोर्ट दिँदै भ्रष्टाचार युक्त मुलुकमा नेपाल ५० अंक भन्दा तल छ’, उनले भने । उनले ड्राफ्ट भएर कानून मन्त्रालयमा रहेको कानूनलाई छिटो भन्दा छिटो संसदमा ल्याएर नेपाललाई लोकतान्त्रिक र सभ्य मुलुकको रुपमा विकास गर्न आवश्यक रहेको बताए । राजनीतिक नेतृत्वको आचरणलाई नियमन गर्न स्वार्थको द्वन्द्व व्यवस्थालाई कानूनी ढङ्गले उपचार खोज्न आवश्यक रहेको जानकारी दिए ।

विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले संकलन गर्‍यो १ अर्ब २८ करोड राजस्व

कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व संकलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा केन्द्रले ३७.८६ प्रतिशत बढी राजस्व संकलन गरेको हो । प्रमुख पौडेलले भने, ‘आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले ९३ करोड ४२ लाख २३ हजार ८ सय ५१ रुपैयाँ २५ पैसा संकलन गरेको थियो ।’ गत आवमा नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । आव ०७९/८० मा ९ करोड ९२ लाख ४३ हजार २ सय ८६ युनिट खपत भएको थियो । गतवर्षको तुलनामा ४०.०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत चोरी गर्ने ५४ जनालाई कारबाही गरी ८ लाख १९ हजार ७ सय २२ रुपैयाँ ५४ पैसा संकलन गरेको छ । कालोसूचीमा परेका ६१ ग्राहकबाट ४७ लाख ७९ हजार ९६ रुपैयाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत चोरी गर्ने १० जनामार्फत २ लाख ४४ हजार ४ सय ४१ रुपैयाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत ३ लाख ३ हजार ९ सय ५३, बन्दी मिटरबाट ४ लाख २९ हजार ४ सय ७५ रुपैया ५४ पैसा असुल गरेको छ । विद्युत महसुल शुल्क नतिरेका २ हजार ३ सय ४९ जनामार्फत ६ करोड ७५ लाख ८ सय ३३ रुपैयाँ संकलन गरेको हो । केन्द्रले सडक बत्तीको ७ करोड ४ लाख ३७ हजार ९ सय ८३ रुपैयाँ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता ६ करोड ६ लाख ३३ हजार १ सय ७७ रुपैयाँ ९५ पैसा रहेको छ । वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन् । बाँकी पाँच वटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कुल ५० हजार ५ सय ८१ ग्राहक छन् ।

सरकारले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्नुपर्छ : सांसद भण्डारी

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन् । मंगलकार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए । सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्याउन पनि सरकारलाई सचेत गराए । ‘अहिले शिक्षा विधेयक आएको छ । त्यो शिक्षा विधेयकलाई हामीले कुनैपनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै नेतृत्व दृढ भएन भने, कुनै नेतृत्वले आफनो संस्थालाई परिवार सम्झेन भने कुनैपनि ठाउँ, कुनै पनि देश अगाडि बढ्न सक्दैन’, उनले भने । सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्व विहीनजस्तो अवस्थामा रहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

सवा ३४ करोडको अवैध सामान बरामद

वीरगञ्ज । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ रुपैयाँ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नौ करोड ८९ लाख ३७ हजार तीन सय ८२ रुपैयाँ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए । ‘भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ’, उनले भने, ‘बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ । सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ ।’ सशस्त्र प्रहरी बल पर्साले आव २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ रूपैयाँ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ । सोही अवधिमा बिलबीजकअनुसार नभएका १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८० भने २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ रुपैयाँ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।

२५६३ विन्दुमा पुग्यो नेप्से, सेयर कारोबार १४ अर्ब ११ करोडमाथि

काठमाडौं । सोमबार सामान्य अंकले बढेको सेयर बजारमा मंगलबार भारी अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ अकंले बढेर २५६३.४३ विन्दुमा अडिएको छ । मंगलबार २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मात्रै घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यस दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै शिवम सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको २४ करोड २६ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले २३ करोड २ लाख रुपैयाँको सेयर कारोबार गर्यो । यस दिन सबैभन्दा धेरै ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । मंगलबार ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाए ।