नेपालीस्याट-१ नामक भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिने
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ,” नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भने, “त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । ” भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताईएको छ ।
पशु चौपायामा समेत नेपाल परनिर्भर, ३ अर्ब १२ करोडको आयात
काठमाडौँ । नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार गाईगोरु, बाच्छाबाच्छी मात्रै ८० लाख २० हजार बराबरको आयात भएको जनाएको छ । यस्तै राँगो, भैँसी, पाडापाडीको आयात ७३ करोड ६१ लाख ७५ हजार बराबरको भएको छ । यस्तै बङ्गुर, सुँगुर ६८ लाख छ हजार, घोडा, खच्चर सात करोड पाँच लाख ६४ हजार, प्यारेन्ट स्टक चल्ला लेयर्स आठ करोड ६१ लाख ६८ हजार, प्यारेन्ट स्टक चल्ला ब्रोइलर ५२ करोड २६ लाख ३६ हजार, ग्राण्ड प्यारेन्ट स्टक रु ३२ करोड ५८ लाख ९२ हजार आयात भएको छ । यस्तै, काँचो दूध मात्रै ९५ लाख १२ हजार, धुलो दूध रु ४३ करोड ९० लाख ६९ हजार बराबरको आयात भएको छ । अन्य दुग्धजन्य उत्पादन मात्रै एक अर्ब ५३ करोड ९२ लाख ४१ हजार बराबरको आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धुलो दूध आयातमा रोक लगाएको बताए पनि रोकिन सकेको छैन । केन्द्रको विवरणअनुसार एक प्रकारको कुखुराको अण्डा (एसपिएफ) एक करोड १२ लाख, खाने माछा ८० करोड ९१ लाख ७१ हजार, फ्रोजन मटन, चिकेन, पोर्क मात्रै तीन करोड ५९ लाख ६८ हजार र राँगोको मासु रु ५१ लाख २० हजारको आयात भएको छ । कृषि उत्पादनलाई बढावा दिने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले देशका ८३ स्थानलाई जोन, सुपरजोन अवधारणा अगाडि बढाएको छ तर कृषि उपजको आयातको अवस्था डरलाग्दो देखिएको छ । व्यापार घाटा बढाउन कृषि उपजको आयात पनि प्रमुख कारण रहेको पाइएको छ । किसानले बेचे पाँच अर्बको दूध कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका अनुसार दुग्ध विकास संस्थानबाट नौ करोड ६२ लाख १९ हजार लिटर स्थानीय कच्चा दूध सङ्कलन गरिएकामा आठ करोड ५० लाख ३५ हजार ५०० लिटर प्रशोधन गरी बिक्रीबाट रु पाँच अर्ब ३३ लाख ९८ हजार ४०० ग्रामीण भेगमा प्रवाह भएको छ । उत्पादित दूधको परिमाण, गुणस्तर र बजारीकरणका आधारमा १९९ सहकारी संस्थामार्फत प्रतिलिटर एकका दरले रु सात करोड अनुदान दिइएको मन्त्रालयको भनाइ छ । चालू आवको छ महीनामा मात्रै सङ्कलित दूधबाट तीन लाख ९१ हजार ६२ केजी चिज, पाँच लाख ९५ हजार ४५० केजी मखन र छ लाख २९ हजार ३८५ केजी धुलो दूध उत्पादन गरिएको छ । दूध बिदा (मिल्क होलिडे) हुन नदिन विराटनगरलगायत धुलो दूध कारखानामा उपकरण जडान तथा क्षमता विस्तारको कार्य सम्पन्न गरी दैनिक एक लाख लिटर दूध प्रशोधन गरी धुलो दूध उत्पादन भएको छ । यस्तै सरकारले विदेशबाट फर्केका एवम् शिक्षित बेरोजगार युवा लक्षित पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत प्रतियुवा दुई लाखका दरले २२५ युवालाई कूल रु चार करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ । यस्तै २०७४ सालदेखि शुरु भएको ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना’बाट दूध उत्पादनलाई ४० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको मन्त्रालयको भनाइ छ । विसं २०८० सम्म पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, धनुषा, सिरहा, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, चितवन, स्याङ्जा, कास्की, मुस्ताङ, मनाङ, तनहुँ, म्याग्दी, नवलपुर, रुपन्देही, परासी, गुल्मी, पाल्पा, बर्दिया, अर्घाखाँची र कपिलवस्तुमा ११ करोड ५० लाख अमेरिकी डलर खर्च गरिनेछ । आयोजनाले प्रतिगाईको ४५० लिटर र भैँसीको दूध उत्पादन ६४० लिटर प्रतिवर्ष बढाई ४० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ । यस्तै च्याङग्राको ऊन उत्पादन ८० प्रतिशतले वृद्धि गर्ने र नवीनतम् पशु सेवा प्रसारको उपयोग दुई लाख बढी कृषकले गर्ने विश्वास मन्त्रालयले लिएको छ । यस्तै, आयोजनाले ५०० उद्यमीलाई दुग्ध, मासुजन्य र पस्मिनामा अनुदान उपलब्ध गराई आत्मनिर्भरताका साथै पस्मिनाको निर्यातमा समेत सहयोग पुग्नेछ । यस्तै कृषि क्षेत्रमा युवा जनशक्ति आकर्षण गरी युवाको विदेश पलायनलाई न्यूनीकरण गर्न पाँच अर्ब खर्च गर्ने लक्ष्य राखिएको मन्त्री खनालको भनाइ छ । कम्तीमा ५०० व्यावसायिक कृषि फार्म स्थापना गरी २५ हजारलाई स्थायी र १२ हजार ५०० लाई आंशिक रोजगारी दिने लक्ष्य राखिएको छ । रासस
कर प्रणालीमा सुधारको प्रक्रिया शुरु, अर्थ मन्त्रालयले गठन गर्यो १० विषयगत समिति
काठमाडौँ । सरकारले कर प्रणालीमा सुधार र करको दायरा विस्तारका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ । राजश्व नीतिनिर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनमा गर्नुपर्ने समयानुकूल परिवर्तन, करका दरको पुनरावलोकन, राजश्व प्रशासनको सङ्गठन संरचनालगायत विषयलाई समेट्ने तयारी गरिएको हो । राजश्व परामर्श समितिको बैठकमार्फत दश विषयगत समिति गठन गरी आवश्यक काम आरम्भ भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले अर्थ व्यवस्थाको समग्र पक्षको अध्ययन एवम् विश्लेषण गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नुपर्ने राजश्व नीतिनिर्माण तथा वित्तीय प्रणालीमा सुधारका बुँदा राखी उक्त समितिमातहत रहने गरी १० विषयगत उपसमिति गठन गरेको हो । निजी क्षेत्रको समेत सहभागितामा सरकार र निजी क्षेत्रबीच नीति संवाद संयन्त्रका रूपमा उक्त समितिलाई लिइन्छ । समिति १५ सदस्यीय रहेको छ । समितिको बैठकले विभिन्न दश विषयगत समिति गठन गरेको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । समितिले विषयगत उपसमितिको कार्य विवरण र मार्ग निर्देशनसमेत निर्धारण गरेको छ । सात वटै प्रदेशका राजधानीमा अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घका प्रतिनिधि बैठकमा सहभागी थिए । यस्तै विज्ञ सदस्य डा. चन्द्रमणि अधिकारी र मदनकृष्ण शर्माको समेत सहभागिता थियो । समितिका संयोजक एवम् मन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरेले उपसमितिले प्रतिवेदन पेश गर्दा सुझावलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन ढाँचामा प्रस्तुत गर्न र सुझाव कार्यान्वयनको खाकासमेत सिफारिस गर्न निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पूरा गर्न कर प्रशासन, राजश्वको दायरालाई थप विस्तार तथा विकास गर्न लागेको छ । रासस
११ लाखले पशुपतिनाथ मन्दिर दर्शन गर्ने कोषको अनुमान
काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज दिउँसो ५ बजेसम्म ६ लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा छ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका छन् । चावहिलचोकबाट लाम बसेको छ घण्टापछि मात्र मूल मन्दिरको पश्चिम ढोकामा आइपुग्न सम्भव भएको बालाजुबाट आउनुभएका लोकेश थापाले गुनासो गरे । कोषले छ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ छ । मगन्तेरहित बनेको पशुपति मन्दिर पश्चिम मूलढोका बाहिर दायाँबायाँ बसेर माग्नेको भीड देखिन्छ । मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका छन् । आज रातिसम्म ११ लाख बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । बाहिरबाट मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान गरी तीन एवं भित्र पुगेपछि पाँचवटा लाम राखिएको छ । तस्वीरः नबिन पोखरेल/विकासन्यूज
नेपालयले मनायो ३५ औं वार्षिकउत्सव; उत्कृष्ठ विद्यार्थी, शिक्षक र अभिभावक पुरस्कृत
काठमाडौं । नेपालय एजुकेशन फाउण्डेशनले ३५औं वार्षिकउत्सव मनाएको छ । वार्षिकउत्सावको सन्दर्भमा फाउण्डेशनले अभिभावक दिवस मनाउनुको साथै वर्षभरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलंकीस्थित शिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा फाउन्डेशनका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपालको विभिन्न क्षेत्रको संस्कृति, परम्परा झल्कने गीत, नृत्य, नाटक, जादु, कविता, गजलहरुको उत्कृष्ट प्रस्तुति थियो । कार्यक्रममा प्रमुख अथिति डा नवराज लम्सालले नेपालयका विद्यार्थीहरुको प्रस्तुतिमा राष्ट्रियताको भावना, नेपालको विविध संस्कृति पक्ष, विद्यालयको मौलिकता प्रष्ट रुपमा देखिएकोमा प्रसंशा गरे । नेपालीले सबैभन्दा पहिला नेपाललाई माया गर्नु पर्ने, दोस्रोमा बुबाआमालाई माया गर्नुपर्ने, तेस्रोमा गुरु (शिक्षक शिक्षिका)लाई माया गर्नुपर्ने बताए । काठमाडौं जिल्ला शिक्षा कार्यलयको विद्यालय निरीक्षक बुद्धि भट्टले काठमाडौंका राम्रा स्कूलहरु मध्ये नेपालय उच्च माध्यमिक विद्यालय एक रहेको बताउँदै काठमाडौंमा निजी विद्यालयले गरेको योगदानको प्रशंशा गरे । स्कूल तथा कलेजले दिने शिक्षा केवल प्रमाणपत्रको लागि मात्र नभई व्यवहारिक ज्ञानको लागि हुने पर्नेमा जोड दिदै स्कूलहरुको विद्यार्थीको जीवनलाई उत्कृष्ट बनाउन शिकाउनु पर्ने बताए । सो कार्यक्रममा नेपालय फाउण्डेशनले स्टुडेन्ट अफ द एयरमा सिनियरतर्फ आस्था पौडेललाई र जुनियरतर्फ रानु गोपालीलाई पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट शिक्षकको रुपमा कुसहरि मगर र उत्कृष्ट अभिभावकतर्फ अमिता बलामीलाई सम्मानित गरेको छ । नेपालय एजुकेशन फाउण्डेशनले नर्सरीदेखि मास्टरडिग्रीसम्मको शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनका अध्यक्ष डा खोमराज खरेलले बताए । प्राचार्य मनोज थापा मगरका अनुसार नर्सरीदेखि १२ कक्षासम्म १५५० विद्यार्थी छन् । स्नातक र स्नातकोत्तरमा करिव ७५० विद्यार्थी छन् । सबै तहमा गरी १७५ जना शिक्षक शिक्षिकाले अध्यापन गराउछन् भने प्रशासनतर्फ २१ जना कर्मचारी छन् ।
ग्यास आयात पर्याप्त, नेपाल आयल निगम भन्छ-‘हल्लाको पछाडि नलागौँ’
काठमाडौँ । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पिडिओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ । सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ । निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ । उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यकरूपमा ग्यासको सिलिण्डर भण्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ । निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ । रासस
नारायणगढ-मुग्लिन सडकका १४ पुल बनाइँदै, एक महिना भित्र प्रक्रिया थालिने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महिना भित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनियर दीपक भट्टराईका अनुसार नक्साङ्कन गरी निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिँदै छ । उनले आवश्यक कागजपत्र अन्तिम चरणमा पुगेकाले विश्व बैंकसँग सहमति लिनुपर्ने भएकाले केही दिन लाग्ने बताए । सवारी साधन आवागमनमा समस्या भइरहेकाले छिटो पुल निर्माण सक्ने गरी काम अघि बढाइने उनले जानकारी दिए । सडक नौ देखि ११ मिटर चौडा छ । सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहज हुनेछ । भट्टराईका अनुसार पुल निर्माणमा एक अर्ब हाराहारी खर्च लाग्ने अनुमान छ । शुरुमा नेपाल सरकारले भुक्तानी गर्ने गरी पुल बन्ने बताउँदै उनले पछि सो भुक्तानी विश्व बैंकले ऋण स्वरुप दिने जानकारी दिए । सो सडकका १८ पुलमध्ये चारवटा पुल निर्माणको क्रममा रहेका छन् । जटिल काम भएकाले ठेकेदार कम्पनीले नक्साङ्कनका लागि विदेशी विज्ञसमेत झिकाउनुपर्ने देखिएको छ । राजधानी काठमाडोँ भित्रने र बाहिरने देशकै प्रमुख सडक भएकाले दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । रासस
रङ्गशाला बनाउन जुटे धुर्मुस-सुन्तली, साढे पाँच करोड रकम सङ्कलन
चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म पाँच करोड ५० लाख सङ्कलन भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिए । धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उनले जानकारी दिए । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले बताए । “रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने । रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताए । आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताए । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने बताए । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । “विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ”, उनले भने । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ थियो । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए । एक महिना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो । रासस