‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’, आजबाट ग्लाेबल आइएमई नेपालकाे सबैभन्दा ठूलाे बैंक
काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु सँगै बैंकले नयाँ इतिहास र नयाँ उचाइ प्राप्त गरेकाे हाे । कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यी सबै परिसूचकमा नेपालका अरु बैंकहरु भन्दा ग्लोबल आईएमई अगाडि छ । ‘केही वर्षअघि मात्र राष्ट्रिय वाणिज्य बैंकले १०० अर्ब निक्षेप पुर्याएको दिन मैले गभर्नरको हैसियतमा राष्ट्रिय वाणिज्य बैंक नेतृत्वलाई बधाई दिएको थिए । नेपालका बैंक पनि ठूलो भए भन्ने लागेको थियो’ अर्थमन्त्री युवराज खतिवडाले भने-‘अहिले ग्लोबल आइएमई बैंकको निक्षेप २१३ अर्ब भयो, कर्जा लगानी २०० अर्ब नजिक पुग्यो । प्राथमिक पुँजी २४ अर्ब पुग्यो भन्दा मलाई निकै खुशी लागेको छ ।’ मर्जसँगै शाखा तथा सेवा केन्द्रको आधारमा पनि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । ७७ वटै जिल्लामा सेवा दिन सक्ने ग्लोबल आइएमई बैंक नेपालको एक मात्र बैंक भएको मर्जपछि ग्लोबल आईएमई बैंकको सञ्चालक रहेका केशवबहादुर रायमाझिले बताए । कर्मचारीको संख्या, ग्राहक संख्या र सरकारलाई राजश्वमा बढी योगदान गर्ने बैंक पनि ग्लोबल आईएमई बैंक हुने अध्यक्ष ढकालले बताए । ‘बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । गत वर्ष दुई बैंकले सरकारलाई ३ अर्बभन्दा बढी राजश्व तिरेको छ । यी आधारमा हामी अग्रणी बैंक भएको छौं’ ढकालले भने । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार शुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । कुनै बेला ३२ वटा वाणिज्य बैंक रहेकोमा यो मर्जसँग वाणिज्य बैंकको संख्या २७ वटा भएको छ । ३ वटा स्वस्थ्य अवस्थाका वाणिज्य बैंकसहित १८ वटा बैंक वित्तीय संस्था मर्जपछि बनेकाे याे संस्थाले मर्जकाे मामिलामा पनि इतिहास नै बनाएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक ठूलाे भएसँगै जिम्मेवारी पनि ठूलाे भएकाे बताए ।
ऋण दिँदा हच्किनु पर्ने अवस्था आयोः नवनिर्वाचित अध्यक्ष दाहाल
काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले बैंकरहरू ऋण लगानी गर्दा हच्किुन पर्ने अवस्थामा पुगेको बताएका छन् । कुन कर्जाको कारण आफूहरू जेल जानु पर्ने हो यसको कुनै टुंगो नभएको उनले बताएका हुन् । नेपाल बैकर्स एसोसिएशनको ३३ ओं वार्षिक साधारण सभालाई नवनिर्वाचित अध्यक्षको हैसियतबाट बोल्दै उनले बैंकरहरू जेल जानु पर्ने कारणले त्रसित भएको बताए । बैंक आफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठ कर्जा दिएकै कारण पक्राउ परेपछि बैंकरहरुको मनोबल घटेको बताएका हुन् । ‘अब ऋण दिएर जोखिम उठाउने हिम्मत गर्न गाह्रो भएको छ,’ उनले भने ‘ऋण विभागका कर्मचारीले धमाधम सरुवा माग्न थालेका छन् । बैकिङ क्षेत्रमा समस्या छ । यसलाई सल्टाउन म राष्ट्र बैंकसँग सहकार्य गरेर उच्च मनोबलका साथ काम गर्छु ।’ उनले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा नेपालको बैंकिङ क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र अनुशासित बनाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दाहालले स्प्रेड दर गणनाको पछिल्लो विधि पुनरावलोकनका लागि पनि गभर्नरसँग आग्रह गरे । कार्यक्रममा राष्ट्र बैंकका गर्र्भनर डा. चिरञ्जीबि नेपालले साइबर क्राइम बढ्दै गएकोले सूचना प्रविधिमा लगानी बढाउन बैकरहरूलाई सचेत गराएका छन् । उनले सूचना प्रविधिमा यति लागनी लाग्छ भन्ने जानकारी नभएकाले सुरक्षाको लागि निश्चित रकम छ्ट्याउन भने । जनशक्तिको क्षमता अभिवृद्धि गर्न छ्ट्याएको ३ प्रतिशत रकम उनीहरू कै क्षमता अभिवृद्धिमा खर्च गर्न समेत निर्देशन दिए । एसोसिएशनको ३३ औं वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयन हुनुका साथै नेपाल इन्भेष्टमेन्टक बैंकका अध्यक्ष पृथ्वीवहादुर पाण्डेलाई सम्मान गरिएको थियो । उनलाई बैकिङ क्षेत्रमा लामो समयसम्म योगदान गरे वापत उक्त सम्मान गरिएको हो ।
अब केही समयमै मेलम्चीको प्रशोधन केन्द्रको काम सकिने
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्नका लागि काम भईरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गरेकी छिन् । खानेपानी मन्त्री मगरको नेतृत्वमा मन्त्रालयका सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्य लगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको हो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै मन्त्री मगरले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरिन् । दोस्रो प्रशोधन केन्द्रको कामलाई तीव्र गतिमा समयमै सम्पन्न गर्न मन्त्री मगरले विभागीय प्रमुखहरुलाई निर्देशन दिइन् । उनले अब केही समयमै दोस्रो प्रशोधन केन्द्रको काम सकिने जानकारी दिए । सुन्दरीजलमा बनिरहेको दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भईसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम करिब करिब सकिन लागेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८ करोड लिटरका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पठाईनेछ । सम्पन्न हुन बाँकी रहेको पानी प्रशोधन केन्द्रको काम आउँदो पुस महिनामा सकिने मेलम्ची विकास समितिले जनाएको छ । एउटा प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आईसकेको छ । प्रशोधन केन्द्रको निर्माण जाइकाले दिएको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो । पहिलो प्रशोधन केन्द्रको काम दुई वर्षअघि नै सकिएको थियो । सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पुर्याइने छ । तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ । यस केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बिचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ । यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रिया सहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्य्राभिटी फिडको आवश्यकता पर्दछ । यस केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत प्लान्ट पनि रहेको छ जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुन सक्छ । सम्पन्न भईसकेको प्रशोधन केन्द्रबाट प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन भईरहेको छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङ मार्ग हुँदै आउने याङग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त ठाउँमा अर्को प्रशोधन केन्द्र समेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताए । सुरुङ हुँदै आउने दैनिक ५१ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा प्रशोधन केन्द्र बनाईएको हो ।
यस कारण नेपालमा सफल छ ‘सिएफ मोटो २५० एनके’
चाइनिज मोटरसाइकल उत्पादक कम्पनी ‘सिएफ मोटो’ को नेपालका लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेश्नल प्रा.लि.ले ‘२५० एनके’ मोडेललाई लगभग दुई वर्ष अघि नेपाली बजारमा भित्र्याएको थियो ।यो मोटरसाइकल यती छोटो अवधिमै नेपालका सडकमा धेरै संख्यामा गुडिरहेको देख्दा नेपालमा यसले राम्रै पकड जमाउन सफल भएको सहजै अनुमान लगाउन सकिन्छ । २५० एनकेलाई हरेक एङ्गल बाट हेर्दा उत्तिकै आकर्षक देखिन्छ । यसमा रहेको स्लिम र ब्याकवार्ड टिल्टेड हेडलाइटले यस बाइकको शोभालाई थप बढाएको छ । एउटा पर्फेक्ट स्ट्रीट फाइटरको लुक्स पाएको एनके २५० हेर्दा एकदमै एग्रेशिभ पनि देखिन्छ । ६–स्पिड गियरबक्स दिइएको २५० एनकेमा २४९.२ सीसी सिङ्गल लिक्विड कुल्ड इञ्जिन समावेस गरिएको छ । यस फ्युल इन्जेक्टेड इञ्जिनले ९००० आरपीएममा २७ बीएचपीको पावर र ७५०० आरपीएममा २२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको यस बाइकमा ‘स्पोर्ट्स्’र ‘रेन’ गरी दुईओटा राइडिङ्ग मोडहरु दिइएका छन् । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा डुअल च्यानल एबीएस पनि समावेस गरिएको छ जसले अकस्मात् ब्रेक लगाउँदा बाइक चिप्लिने समस्यालाई समाधान गर्दै बाइकलाई थप सुरक्षित समेत बनाएको छ । कम्पनीले नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । स्पोर्टी र एग्रेशिभ लुक्सका कारण युवापुस्ताको मन जित्न सफल भएको यस बाइकले नेपाली बजारमा २०० ड्युक र २५० ड्युकसँग ठाडो प्रतिष्पर्धा गरिरहेको छ । यसको आकर्षक लुक्स, ब्रेकिङ्ग सेफ्टी,एफआई इञ्जिन र टीएफटी कन्सोलजस्ता आधुनिक फिचरहरु, र साथै उचित मूल्यको कारण पनि यस बाइकले नेपाली बजारमा राम्रो पकड जमाउन सफल भएको हो भन्दा फरक नपर्ला । कम्पनीले जनाए अनुसार अहिले यस बाइकको खरिद गर्दा अफरको रुपमा स्क्र्याच कुपन मार्फत् पाँच हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिनेछ ।
नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा, सदस्यमा ९ जना निर्वाचित
काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । साथै, सभाले आगामी २ वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति पनि सर्बसम्मत निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा ९ जना निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरुमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्र लाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल तथा सुनिल केसी रहेका छन् । संघको बिधान बमोजिम कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने छन् । धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राणाले नेपालमा पछिल्लो समय विदेशी लगानी अपेक्षा अनुसार बढ्न नसकेको भएता पनि आगामी दिनहरुमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताएकी छिन् । त्यस्तै, भारतबाट नेपालमा लगानी ल्याउने सम्बन्धमा नेपाल-भारत उद्योग वाणिज्य संघले पहल गरी रहेको पुनरावलोकनको क्रममा रहेका दुई देशबीच २४ वर्ष अघि भएको वाणिज्य सन्धीका साथै पारवहन सन्धी, रेल सेवा सम्झौता, जल यातायत, रक्सौल-काठमाडौं रेलमार्ग, नेपाल र भारत बीचका विभिन्न विद्युतीय प्रशारण लाईनका कामहरू सम्पन्न गर्ने उनले बताइन् । साथै, नेपाल भ्रमण वर्ष २०२० समेतलाई दृष्टिगत गरी नेपाल-भारत उद्योग वाणिव्य संघको तर्फबाट सकृय योगदान जारी राखी आगामी दिनहरुमा पनि सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडी बढ्ने राणाले जानकारी दिएकी छिन् । सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा अर्थतन्त्रको सुधारका लागि सरकार प्रयासरत रहेको जानकारी गराउँदै नीजि क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् । भारतबाट नेपालमा लगानी भित्र्याउन नेपाल–भारत उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विकास निमार्णलाई द्रुत गतिमा अघि बढाउन विदेशी लगानी आवश्यक रहेको उनले बताएका छन् ।
मेडिकल माफियालाई बल पुग्ने गतिविधि किमार्थ स्वीकार्य हुँदैन: विद्यार्थी नेता सुदेश पराजुली
काठमाडौं। प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरेको प्रती रुष्ट हुँदै अनेरास्ववियु नेता सुदेश पराजुलीले माफियालाई बल पुग्ने गरि सरकारले कदम चालेको टिप्पणी गरेका छन्। एमबिबिएसको परिक्षा बहिस्कार गरि हिडेको आरोपमामा गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थी प्रहरीले गिरफ्तार गरेको प्रती टिप्पणी गरेका हुन्। चर्को शुल्क वृद्धिको चपेटामा परेका विद्यार्थीको पक्षमा आन्दोलन गर्दै आएका विद्यार्थीको भावना माथी कुठाराघात गर्दै सरकारले विद्यार्थीलाई गिरफ्तार गरेको उनको आरोप छ। आम विद्यार्थीको सबालमा बोलेका विद्यार्थीलाई प्रहरि नियन्त्रण राख्नु निन्दनीय कदम भन्दै बिना सर्त रिहाइ तथा शुल्क वृद्धि घटाउनु पर्ने उनले बताए। परीक्षाको शुल्क समायोजनको विषयलाई लिएर परीक्षा बहिष्कार गरेका हुन्। चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्। मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागी नहुने बताएका छन्। शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो। तर, विद्यार्थीहरुले कलेज सञ्चालकको हितमा भएको सहमति मान्य नहुने भन्दै विरोध गरिरहेका छन्।
बस्तुगत समूहकाे उपाध्यक्षमा अन्जन श्रेष्ठकाे उम्मेदवारी घाेषणा
काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघकाे बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी घाेषणा गरेकाे छन् । विहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घाेषणा गरेका हुन् । तीन वर्षअघिको निर्वाचनको क्रममा उपाध्यक्ष पदमा आकांक्षा राखेका श्रेष्ठले अन्तिम समयमा उमेशलाल श्रेष्ठलाई समर्थन गरेका थिए । गत चुनावमा उमेशलाल बस्तुगत समूहमा उपाध्यक्षमा निर्वाचित भएका थिए । पाेखराबाट उदाएका युवा उद्यमी अन्जन श्रेष्ठ उद्याेग वाणिज्य महासंघमा ५ पटक कार्यकारीणि सदस्य र विभिन्न समितिमा सभापति, उपसभापति भसकेका छन् । महासंघकाे चुनाव आगामी चैतकाे अन्तिम साता हुँदैछ ।
गण्डकी विकास बैंकले टाडीको अस्पताललाई दियो दुई थान तीन सिटे कुर्चि
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ । कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) देवेन्द्रकुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख सुरज शर्मा, टाडी शाखाका प्रमुख प्रेम घिमिरे लगायत शाखा कार्यालय नारायणगढ, टाडी, पर्सा, भरतपुर, भोजार्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कुर्चि हस्तान्तरण गर्दै सुरज शर्माले बैंकको वर्तमान वित्तीय स्थिति, संस्थागत उत्तरदायित्व अन्तरगतका कार्यक्रम तथा भावि कार्यदिशाबारे जानकारी दिए ।