बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौता, बंगलादेशी लगानीकर्तालाई रेड कार्पेट
काठमाडौं । नेपालले मंगलबार बंगलादेशसँग पनि दोहोरो कर मुक्ति सम्झौता गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाकै उपस्थितीमा नेपाल र बंगलादेशबिच दोहोरो कर मुक्ति सम्झौता हुन लागेको हो । नेपालले यस अघि अन्य १० वटा देशसँग दोहोरो कर मुक्ति सम्झौता गरेको थियो । नेपालले यस अघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलंका, नर्वे र थाईल्याण्डसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ । दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता अनुसार एक अर्काे देशका लगानीकर्ताले अर्काे देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । आयकर ऐन, २०५८ को दफा ७३ मा “कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानुन बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारद्वारा विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।” भन्ने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार नेपालले विभिन्न १० देशहरुसंग दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता गरेको हो । बंगलादेशसँग गरिने सम्झौताले नेपालमा बंगलादेशको लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौताले नेपालमा बंगलादेशका लगानीकर्तालाई आकर्षित गर्ने बताए । किन गरिन्छ दोहोरो कर मुक्ति सम्झौता ? एउटै आय वर्षमा एकभन्दा बढी देशमा कारोवार (रोजगारी, ब्यवसाय वा लगानी) गरेमा त्यस्तो कारोवार गर्नेले आफु वासिन्दा रहेको देशमा एवं कारोवार (लगानी) गरेको देशमा समेत गरी दुवै देशमा कर तिर्नुपर्ने हुन सक्छ । उही आयमा उही आयवर्षमा आफु वासिन्दा रहेको देशमा वसोवासको आधारमा तथा लगानी गरेको देशमा आयको स्रोतको आधारमा कर तिर्नुपर्ने हुनाले दोहोरो कर तिर्नुपर्ने अवस्था रहन्छ । यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सृजना गर्न सम्वन्धित देशको आयकर कानुनले अर्को देशमा तिरेको कर मिलान गर्न पाउने (फरेन ट्याक्स क्रेडिट) वा त्यस्तो कर खर्च लेख्न पाउने जस्ता ब्यवस्था गरेको हुन्छ । तथापि विभिन्न देशहरुको घरेलु आयकर काननले ब्यवस्था गरेको आयकरको परिभाषा, वासिन्दा वा स्थायी संस्थापनको परिभाषा वा कर लगाउने प्रावधान वा करको दायरा ले गर्दा सबै परिस्थितिमा मुलुक भित्रको कानुनले मात्र अन्तर्राष्ट्रिय दोहोरो कर हटाउन सम्भव हुदैन । यसर्थ: करदाताहरुलाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी ब्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु
जिरी । दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेडले गर्न नसकेपछि काम टुक्र्याएर अष्ट्रियाली कम्पनी एन्ड्रिज हाइड्रो जिएमबीलाई दिएको डेढ महिनामै पाइप जडानको काम शुरु भएको हो । आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्ड्रिजले पाएको छ । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ । आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङसहित बाँकी काम टेक्सम्याको आफैँले गर्ने सहमतिअनुसार उसले पनि पाइप जडानको काम शुरु गरेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । सम्झौता भएलगत्तै एन्ड्रिजले काम शुरु गरेको थियो । दुवै साफ्टको सम्पूर्ण तयारी पूरा गरेर सुरुङको माथिबाट तल पाइप झारेर जडान शुरु भएको उनले बताए । अब पाइप जडानको काम शुरु भएकाले आयोजना समयमै बन्नेमा विश्वास बढेको प्रतिक्रिया दिए । पेनस्टक पाइप ढुवानी र जडानकै कारण आयोजनाको उत्पादन मिति लम्बिरहँदा आयोजना व्यवस्थापन, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयको पहलमा भएको वार्तापछि उक्त काम एन्ड्रिजलाई दिने सम्झौता भएको थियो । गत पुसको तेस्रो साता एन्ड्रिलाई तल्लो पेनस्टक साफ्टको काम दिनेबारे त्रिपक्षीय सम्झौता भएको छ । आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्ड्रिजलाई दिएको हो । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको कामसमेत गर्न नसके ती पनि एन्ड्रिजलाई दिनसक्ने स्थिति रहेको डा न्यौपानेले बताउनुभयो । आयोजनाको हाइड्रोमेकानिकलअन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदिको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङको काम गर्नेछ । आयोजनामा एक हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेछ । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कङ्क्रिटिङको कामसमेत रोकिएको छ । विसं २०७३ साउनदेखि उत्पादन शुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधित गरी २०७५ असारदेखि उत्पादन शुरु गर्ने लक्ष्य निर्धारण गरेको थियो तर लट २ कै कारण नौ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भूकम्प र नाकाबन्दी, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने प्रशासनिक खर्चलगायतका कारण रु ३५ अर्ब २९ करोड अनुमानित लागतसमेत बढेर ब्याजसहित दोब्बर हुने अनुमान छ । आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोङ्गरबाट खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माण चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकल अष्ट्रियाको एन्ड्रिज हाइड्रो जिएमबी र प्रसारणलाइन तथा सबस्टेशन निर्माण भारतको केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सबस्टेशनको काममा पनि ढिलाइ छ । रासस
कौशलटारको फर्निचर उद्योगमा आगलागी, ६ करोडको क्षति
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । आइतबार राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा छ करोड बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए । आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उनले जानकारी दिए । सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो । उद्योगका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट सम्पूर्ण सामान नष्ट भएको, आफ्नै घरमा समेत क्षति पुगेको बताए । उनले आगलागीबाट छ करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए ।
काठमाडौँका १० पसलले मासुको गुणस्तर कायम गर्ने, १ लाखदेखि १५ लाखसम्म अनुदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि १० वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् । सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका पनि मापदण्डनै नपुगेकाले दश वटालाई मात्र अनुदान दिइने कामपाको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । प्राप्त निवेदनमध्येबाट मापदण्डका आधारमा तीन वटालाई साझेदारीमा मिटमार्ट स्थापना कार्यक्रमअन्तर्गत जनही १५ लाख, चार वटालाई मासुजन्य उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत जनही पाँच लाख र तीन वटालाई मासु पसल सुधार कार्यक्रमअन्तर्गत जनही एक लाख अनुदान दिइने भएको हो । छनोटमा परेका व्यवसायी अहिले अनुदानबाट प्राप्त रकमबाट तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन् । विभागका प्रमुख भण्डारीका अनुसार छनोटमा परेका व्यवसायीको व्यावसायिक कार्ययोजना, अहिलेको पूर्वाधार र सुधार गर्नसक्ने आधारजस्ता सूचक हेरेर अनुदान उपलब्ध गराइएको हो । व्यवसायीले सञ्चालन गर्न लाग्ने रकमको ५० प्रतिशत कामपाबाट पाउनेछन् भने अन्य रकम सञ्चालक स्वयंले नै बेहोर्नुपर्ने हुन्छ । व्यवसायीलाई प्रोत्साहित गर्न अनुदान दिन खोजेको कामपाले जानकारी गराएको छ । रासस
ट्रम्पले भने-आर्थिक वृद्धि नहुनुमा फेडको मौद्रिक नीति दोषी, अध्यक्ष पावेलसँग किन रिसाए ?
वासिङटन, संयुक्त राज्य अमेरिका । फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले भने, “मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको, तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ । ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’ मा फेड रिजर्भका अध्यक्ष जेरोम पावेललाई सङ्केत गर्दै ट्रम्पले भने, “हामीकहाँ एक जना महासय हुनुहुन्छ, जसले ब्याजदर बढाउन मन पराउनुहुन्छ ।” “फेडलाई मात्रात्मक रूपमा बलियो बनाउन मन पराउने सज्जनवृन्द हामीसँग हुनुहुन्छ । उहाँले फेडमा रहेर डलरलाई अत्यधिक बलियो बनाउन चाहनुहुन्छ, सम्मेलनमा ट्रम्पले भने । “अमेरिकी अर्थतन्त्रमा राम्रो सुधार भएको छ । तर फेडको मौद्रिक नीतिका कारण थप राम्रो हुन सकेको छैन,”उनले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “तपाईँ कल्पना गर्नसक्नुहुन्छ कि यदि हामीले ब्याजदर जहाँ थिए त्यहीँ पु¥यायौँ भने यहाँ कुनै मुद्रास्फीति हुनुपर्ने कारण रहँदैन । के मात्रात्मक कडापनलाई कम गर्न सक्दैनौँ ।” “डलरलाई मजबुत बनाउन पर्छ । तर हाम्रो मुलुकलाई महान् बनाउने डलरको चाहना अमेरिकी जनताको हो । नकि डलर त्यति बलियो होस जसले हाम्रा योजनालाई प्रभावित गरोस् र यसको लाभ अन्य मुलुकले लिन नसकोस्,” उनले भने । अमेरिकी राष्ट्रपतिले फेडमाथि पटक पटक ब्याजदर नबढाउन दबाब दिँदै आएका छन् । यसका लागि उनले फेड अध्यक्षलाई हटाउने वैधानिक बाटोसमेत खोजेको केही महिना पहिले सञ्चारमाध्यमहरूमा व्यापक चर्चा चलेको थियो । तर फेड प्रमुख पावेलले केन्द्रीय बैंकलाई राजनीतिक दवावबाट टाढा राख्ने पटक पटक प्रतिवद्धता जाहेर गर्दै आउनुभएको छ । पावेलले बुधबार अमेरिकी सिनेटको वित्तीय सेवा समितिमा फेडले छोटो समयको राजनीतिक चासोलाई नभै दीर्घ सोचबाट अघि बढ्ने जानकारी गराएका थिए । फेडको नीतिगत निर्णय ‘तथ्याङ्कमा आधारित’ हुने र आर्थिक अवस्था र परिणामबाट विकशित नयाँ सूचनालाई आधार बनाइने पावेलको तर्क थियो । सन् २०१८ मा फेडले चार पटक ब्याजदरमा हेरफेर गरेको वा वृद्धि गरेको थियो । फेडको लक्ष्य अहिलेको २.२५ प्रतिशत ब्याजदरलाई २.५० मा पुर्याउने रहेको बताउने गरिएको छ । जनवरीमा दुई प्रतिशतबाट ब्याजदरलाई बढाई २.२५ प्रतिशत पुर्याइएको थियो । रासस/सिन्ह्वा
२ महिनामा सिजनल इन्फ़्लुएन्जाको कारण १६ जनाको मृत्यु, ८२६ संक्रमित
काठमाडौं। काठमाडौँका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त तथ्यांक अनुसार ८२६ जना बिरामीहरुमा सिजनल इन्फ़्लुएन्जा भएको प्रमाणित भएको छ। २०७५ पौष १७ देखी फागुन १७ सम्म १६१५ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएको मध्ये ६९६ जनामा ईन्फ्लुन्जा A H1N1 (pdm 09), ३१ जनामा ईन्फ्लुन्जा A/H3 र ९९ जनामा ईन्फ्लुन्जा B प्रमाणित भएको हो। महाशाखाको अनुसार गत पौष १५ देखी फागुन १७ (मार्च १) सम्ममा काठमाडौँका अस्पतालहरुमा सिजनल इन्फ़्लुएन्जा रोग प्रमाणित १६ जना व्यक्तिको जटिलता भई मृत्यु भईसकेको छ। महाशाखाले इन्फ़्लुएन्जाका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने Anti-viral औषधि Oseltamivir दैनिक रुपमा महाशाखाबाट विभिन्न सरकारी तथा निजी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ। त्यस्तै कुनैपनि विरामी औषधी पाउनबाट वञ्चित नभएको महाशाखाले जनाएको छ। ईन्फ्लुन्जाको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क रुपमा भईरहेको छ। महाशाखाबाट विरामीहरुको उपचारको लागि औषधि वितरण गरिएको विभिन्न अस्पतालहरुको सूची :
पशुपतिनाथमा दर्शनार्थीको भीड, ११ तस्वीरमा यस्तो देखियो पशुपति परिशर (फोटो फिचर)
काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ । भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताए । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ । हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । तस्वीरः नबिन पोखरेल/विकासन्यूज
नेपाल पर्यटन वर्ष सफल बनाउने एनआरएनएको रणनीतिः ‘हाँसेर नमस्ते गरौं, आफ्नो साथीलाई नेपाल घुम्न पठाऔं’
काठमाडौँ । गैरआवासीय नेपाली संघले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० अभियानलाई सफल बनाउन विभिन्न कार्य योजना एवम् रणनीति सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कायक्रममा संघले यस अघि नै घोषणा गरेको नेपाल पर्यटन प्रवद्र्धन वर्ष अन्तर्गत अघि सारेका विभिन्न प्रस्तावित गतिविधिहरुबारे जानकारी गराएको छ । कार्यक्रममा अध्यक्ष भवन भट्टले अभियान मार्फत सरकारको संघको संजाल विस्तार भएका ८० मुलुकबाट पर्यटक भित्र्याउन ३ मित्र आफ्नो मुलुक पठाऊ अभियानलाई अघि बढाउने बताए । अध्यक्ष भट्टले नमस्ते, अतिथि देवो भवःलगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको बताए । उनले भने, नेपालमा प्रत्येक पर्यटक देखे पछि हासेर नमस्कार गरौं र विदेशमा पनि हामीले मिठो मुस्कानसहित हाँसेर नमस्ते गरौं ताकी हाम्रो संस्कार देखेर पनि हाम्रो मुलुक घुम्ने रहर जागोस् भनी राष्ट्रिय समन्वय परिषद्हरुले काम गरिरहेका छन् । यस्तै विदेशमा रहेका नेपाली समुदाय (डायस्पोराबाट) पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशीस्थित विभिन्न संघ–संस्थासंग मिलेर व्यवसायिक कार्यशाला एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेष्टुरेन्ट एवम् अन्य व्यवसायिक निकायमा समेत नेपाललाई चिनाउने खालका सामाग्री राख्ने र कार्यक्रम गर्ने लगायतका योजना संघले अघि बढाएको अध्यक्ष भट्टले बताए । पर्यटन प्रवद्र्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्ने र सरकारले पहिचान गरेका एक सय वटा गन्तव्य स्थलमा बढी भन्दा डायस्पोरा एवं बाह्य पर्यटक भित्र्याउने रणनीति संघले अघि सारेको छ । कार्यक्रममा नेपाल पर्यटन वर्ष २०२० अभियानका संयोजक सोम नाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दिपेशमान शाक्यले अभियान अन्तर्गतका प्रस्तावित गतिविधीबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा महिला संयोजक रजनी प्रधान, मध्यपूर्वका नेपाल पर्यटन प्रवद्र्धन उप समितिका संयोजक धर्मराज गिरि, गैरआवासीय नेपाली संघ अन्तर्गतको कृषि समितिका संयोजक युवराज गुरुङ, होटेल एशोसियसनका सिइओ टेकेन्द्रबहादुर महत, भिजिट नेपालका क्यानडाका संयोजक नरबहादुर टण्डन, मकाउका मकुश बरुवाल लगायत संचारकर्मीहरुको सहभागी रहेको थियो ।