काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले बैंकरहरू ऋण लगानी गर्दा हच्किुन पर्ने अवस्थामा पुगेको बताएका छन् । कुन कर्जाको कारण आफूहरू जेल जानु पर्ने हो यसको कुनै टुंगो नभएको उनले बताएका हुन् । नेपाल बैकर्स एसोसिएशनको ३३ ओं वार्षिक साधारण सभालाई नवनिर्वाचित अध्यक्षको हैसियतबाट बोल्दै उनले बैंकरहरू जेल जानु पर्ने कारणले त्रसित भएको बताए ।
बैंक आफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठ कर्जा दिएकै कारण पक्राउ परेपछि बैंकरहरुको मनोबल घटेको बताएका हुन् । ‘अब ऋण दिएर जोखिम उठाउने हिम्मत गर्न गाह्रो भएको छ,’ उनले भने ‘ऋण विभागका कर्मचारीले धमाधम सरुवा माग्न थालेका छन् । बैकिङ क्षेत्रमा समस्या छ । यसलाई सल्टाउन म राष्ट्र बैंकसँग सहकार्य गरेर उच्च मनोबलका साथ काम गर्छु ।’ उनले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा नेपालको बैंकिङ क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र अनुशासित बनाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दाहालले स्प्रेड दर गणनाको पछिल्लो विधि पुनरावलोकनका लागि पनि गभर्नरसँग आग्रह गरे ।
कार्यक्रममा राष्ट्र बैंकका गर्र्भनर डा. चिरञ्जीबि नेपालले साइबर क्राइम बढ्दै गएकोले सूचना प्रविधिमा लगानी बढाउन बैकरहरूलाई सचेत गराएका छन् । उनले सूचना प्रविधिमा यति लागनी लाग्छ भन्ने जानकारी नभएकाले सुरक्षाको लागि निश्चित रकम छ्ट्याउन भने । जनशक्तिको क्षमता अभिवृद्धि गर्न छ्ट्याएको ३ प्रतिशत रकम उनीहरू कै क्षमता अभिवृद्धिमा खर्च गर्न समेत निर्देशन दिए ।
एसोसिएशनको ३३ औं वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयन हुनुका साथै नेपाल इन्भेष्टमेन्टक बैंकका अध्यक्ष पृथ्वीवहादुर पाण्डेलाई सम्मान गरिएको थियो । उनलाई बैकिङ क्षेत्रमा लामो समयसम्म योगदान गरे वापत उक्त सम्मान गरिएको हो ।