
काठमाडौं। प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरेको प्रती रुष्ट हुँदै अनेरास्ववियु नेता सुदेश पराजुलीले माफियालाई बल पुग्ने गरि सरकारले कदम चालेको टिप्पणी गरेका छन्। एमबिबिएसको परिक्षा बहिस्कार गरि हिडेको आरोपमामा गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थी प्रहरीले गिरफ्तार गरेको प्रती टिप्पणी गरेका हुन्।
चर्को शुल्क वृद्धिको चपेटामा परेका विद्यार्थीको पक्षमा आन्दोलन गर्दै आएका विद्यार्थीको भावना माथी कुठाराघात गर्दै सरकारले विद्यार्थीलाई गिरफ्तार गरेको उनको आरोप छ। आम विद्यार्थीको सबालमा बोलेका विद्यार्थीलाई प्रहरि नियन्त्रण राख्नु निन्दनीय कदम भन्दै बिना सर्त रिहाइ तथा शुल्क वृद्धि घटाउनु पर्ने उनले बताए।
परीक्षाको शुल्क समायोजनको विषयलाई लिएर परीक्षा बहिष्कार गरेका हुन्। चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्।
मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागी नहुने बताएका छन्।
शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो। तर, विद्यार्थीहरुले कलेज सञ्चालकको हितमा भएको सहमति मान्य नहुने भन्दै विरोध गरिरहेका छन्।