अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख माथि, ट्रम्प भन्छन्- एकदिन शुन्य हुनेछ
काठमाडौं । हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ अहिलेसम्म ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको वेला भनेका छन् कि ‘यो संख्या एकदिन शून्य हुनेछ ।’ ट्रम्पले यसभन्दा अघि फेब्रुअरीमा पनि भनेका थिए कि अमेरिकामा संक्रमणको मामला शून्य हुनेछ । उक्त समय अमेरिकामा कोभिड-१९ संक्रमणको जम्मा १५ मामलाहरु मात्र पुष्टि भएका थिए । पत्रकारहरुको प्रश्नमा ट्रम्पले भने, ‘विस्तारै यो संख्या आखिरमा शून्य हुनेछ । हामी दुनियाँको कुनै अन्य देशहरुले भन्दा एकदमै बढि टेस्ट गरिरहेका छौं र सोहि कारण संक्रमितहरुको संख्या पनि सबैभन्दा धेरै देखिएको हो । सहि समय आउनासाथै संक्रमितहरुको संख्या शून्य हुनेछ ।’ (अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)
कोरोना संक्रमितको संख्या साढे ३१ लाख नजिक, २ लाख १७ हजार भन्दा बढीको मृत्यु
काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ भने अहिलेसम्म १ हजार ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५४ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट कारखानामा काम शुरु
ढाका । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन् । बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ । राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखानाहरु बन्द भएका थिए तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग सर्वत्र गरिएको थियो । बंगलादेशमा कोराना भाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र अन्यत्रका कम्तीमा एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह शहर चटगाउँका कारखाना पनि खोलिने छन् । बंगलादेशको कूल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोशाकले ओगटेको छ । तर कोरोना भाइरसका कारण तयारी पोशाकको माग घटेको वा रद्द गरिएका कारण बंगलादेशले यस आर्थिक वर्ष करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । गार्मेन्ट कारखानाका मजदूर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताए । उनले मासिक करिब १ सय १५ अमेरिकी डलर कमाउँने जानकारी दिए । सोमबारसम्ममा बंगलादेशमा ५ हजार ९ सय जनामा कोरानाको संक्रमण देखिएको छ भने १ सय ५२ जनाको मृत्यु भइसकेको छ । श्रम अधिकारवादीहरुले मजदूरहरुका कारण कोविड–१९ को महामारी बंगलादेशमा अरु फैल्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्ट जस्ता कम्पनीहरुका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोशाक निर्यात भएको थियो । बंगलादेश तयारी पोशाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोनाभाइरसलाई जीवनको एक हिस्साका रुपमा स्वीकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताए । गत महिना, सरकारले निर्यातमुखी क्षेत्रका मजदूरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरुले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए । आइतबार, ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौं गार्मेन्ट मजदूरले प्रदर्शन गरेका थिए । उनीहरुले कामबाट बिमुख भएका दिनको समेत ज्याला पाउनु पर्ने माग राखेका थिए । उनीहरुले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् । बंगलादेश सरकारले धार्मिक भेला र प्रदर्शनमा रोक लगाउन सेनालाई पनि सडकमा उतार्नु परेको थियो । रासस/एएनआई