चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति
बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति सिले सो अवसरमा विश्वमा धेरै कुराहरु परिवर्तन हुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुर रुपमा अघि बढिरहेको धारणा राखेका थिए । त्यस अवसरमा द्धिपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरहरुको सामुहिक रुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिए । उनले लगानीका साझा र नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्धिपक्षीय व्यापार अभिबृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका जनाएका छन् । उनले उर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामानहरु आयात गर्न चीन तयार रहेको धारणा राखेको जनाए । त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा व्यक्त गरेका थिए । रासस/सिन्ह्वा
अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति
बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो । अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् । उनले भने – अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ । उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको जानकारी दिए । चीनले आफ्नो सार्वभौमिकता, सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ प्रवक्ता हुवाको भनाई छ । प्रवक्ता हुवाले ताइवान, हङकङ र चीनको सिनजियाङ प्रान्त चीनको विशुद्ध आफ्नो आन्तरिक मामिला भएकोले बाहिरबाट कसैको कुनै टिप्पणी आवश्यक नरहेको बताए । यी क्षेत्रहरुका बारेमा बाहिरबाट कसैले व्यक्त गर्ने विचारहरुमा चीनको कडा आपत्ति रहने जनाए । त्यस पत्रकार सम्मेलनमा उनले भने – ‘म अमेरिकीहरुलाई आफ्नै विषयमा कुरा गर्न, समस्याहरुको व्यवस्थापन गर्न तथा चीनको चासो नलिन सुझाव दिन चाहन्छु ।’ रासस/सिन्ह्वा
प्रदर्शन स्थलबाटै १८ लाख डलरको हीरा चाेरी
टोकियो । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिव्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो । रासस