फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

मेन्लो पार्क, अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो । फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन । निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । रासस/एएनआई

भारत सरकारको आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष, एलआइसीलाई ५७ करोड नोक्सान

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गरेकी छिन् । भारतीय जीवन बीमा निगम (एलआइसी)लाई अढाई महिनाको अवधिमा ५७ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको समाचार प्रकाशन भएलगत्तै नेत्री गान्धीले ट्वीट गर्दै उक्त संस्थामा आममानिसको विश्वास रहेको र दुःख गरेर कमाएको पैसा लगानी गरेको कम्पनी नै सङ्कटमा पर्ने अवस्था आउनु दुःखद भएको बताइन् । उनले ट्वीटमा भनेकी छिन्, “भविष्यको सुरक्षाका लागि आममानिसले दुःख गरेर कमाएको पैसा एलआइसीमा लगानी गरेका छन्, तर वर्तमान भाजपा सरकारले एलआइसीको पैसा घाटामा चलेका अरु संस्थामा लगानी गर्न छुट दिएको छ । यो कस्तो किसिमको नीति हो ?” आइडीबीआई बैंकको सञ्चालक समितिले बिहीबार भारत सरकार र भारतीय जीवन बीमा निगम (एलआइसी)का लागि क्रमशः ४ हजार ५५७ करोड र ४ हजार ७४३ करोड (भारतीय रुपैयाँं)को शेयर जारी गर्ने निर्णय गरेको थियो । यो शेयर सर्वसाधारण र अग्राधिकार शेयरका रुपमा बिक्री नगरी सरकार र एलआइसीले मात्र खरिद गर्न सक्नेछन् । यो निर्णयका बारेमा भारत सरकारकै इशारामा चलेको नियामक निकायबाट स्वीकृत हुन बाँकी छ । गत सेप्टेम्बर ३ मा भारत सरकारले आइडीबीआई बैंकको लगानीयोग्य रकम वृद्धि गर्ने भन्दै ९ हजार ३०० करोड भारतीय रुपैयाँको प्रस्तावलाई स्वीकृत गरेको थियो । आइडीबीआई बैंकको अवस्थामा सुधार ल्याउन भारत सरकारले पूँजी लगानी बढाउन मन्जुरी दिएको हो । यस बैंकको जुन २०१८ मा खराब कर्जाको अनुपात १८.८ प्रतिशतसम्म पुगेको थियो । तर लामो समयदेखिको खराब कर्जा खारेज गरेपछि यसैवर्षको जुन महिनासम्ममा यो अनुपात ८ प्रतिशतमा झरेको छ । लामो समयदेखि खराब कर्जाको मारमा परेका भारतीय सार्वजनिक बैंकहरुको वासलात ठीक पार्ने भन्दै सरकारले करिब ७० हजार करोड भारतीय रुपैयाँ पूँजी लगानी गर्ने घोषणा गरेको छ । रासस/एएनआई

क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश, ‘तनाव उत्पन्न हुने’

वासिङटन । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ । अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसंघको मुख्यालय रहेको परिसरभित्रै रहनुपर्ने उल्लेख गरेको प्रवक्ता मोर्गन ओर्टागुसले बताए । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाको यो कदम अनुचित भएको बताए । क्युबाका यी कूटनीतिज्ञलाई देशनिकाला गर्ने यस कदमबाट तनाव उत्पन्न हुने स्पेनिश भाषामा गरेको ट्वीटमा उनले बताए । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् । क्युबाली कुटनीतिज्ञलाई देश निकाला गर्ने यो पछिल्लो कदम संयुक्त राष्ट्रसंघको न्युयोर्कमा हुन लागेको ७४ औं महासभाको पूर्वसन्ध्यामा गरिएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तिमा यस प्रकारको परिस्थिति जारी रहेको र देश निकाला भएको पुष्टि गर्नु बाहेक यस बिषयमा कुनै टिप्पणी नगर्ने जनाएको छ । यस विषयलाई राष्ट्रसंघले नजिकबाट नियालीरेको पनि विज्ञप्तिमा उल्लेख छ । रासस/एएफपी