४३ वर्षपछि बन्द भयो ‘स्पिरिट एयरलाइन्स’, १७ हजार कर्मचारीले गुमाए जागिर
काठमाडौं । स्पिरिट एयरलाइन्स बन्द भएको छ । शनिबार बिहान उज्यालो हुनुअघि नै कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग अन्तिम समयमा प्रस्ताव गरिएको बेलआउटमा बन्डहोल्डरहरूसँग सहमति जुटाउन असफल भएपछि आफ्नो सञ्चालन पूर्ण रूपमा बन्द गरेको हो । यससँगै उज्यालो पहेंलो जहाज, सस्तो भाडा, न्यून सेवा र अन्य सबै सेवामा अतिरिक्त शुल्कका लागि चिनिने अमेरिकी बजेट एयरलाइन्सको अन्त्य भयो । कहिलेकाहीँ यो व्यंग्यको विषय बन्ने गरे पनि यसले अमेरिकामा सस्तो हवाई यात्रा सुरु गर्न अग्रणी भूमिका खेलेको थियो र लाखौं मानिसका लागि उडानलाई पहुँचयोग्य बनाएको थियो । स्पिरिटको एपमा लेखिएको छ, ‘हामी दुःखका साथ सूचित गर्छौं कि स्पिरिट एयरलाइन्सका सबै उडानहरू तुरुन्तै प्रभावबाट रद्द गरिएका छन् ।’ नोभेम्बर २०२४ यता दोस्रो पटक टाट पल्टिन लागेको कम्पनीले अस्तित्व जोगाउने प्रयास गरे पनि अन्ततः बन्द हुनुपरेको हो । यससँगै दक्षिण फ्लोरिडास्थित एयरलाइन्सले वर्षौंदेखि झेल्दै आएका समस्याहरू– असफल मर्जर, उपभोक्ताको रुचिमा परिवर्तन, तीव्र प्रतिस्पर्धा र विशेषगरी हालै बढेको जेट इन्धनको लागतको अन्त्य भएको छ । स्पिरिटका अनुसार १७ हजार प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरूले आफ्नो जागिर गुमाएका छन् । समय सकिँदै जाँदा कम्पनीका वकिल मार्शल ह्युब्नरले अप्रिल २३ मा न्यूयोर्कको अदालतमा स्पिरिटको नगद ुधेरै लामो समयसम्म नटिक्नेु बताएका थिए । कम्पनीले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत खरिद गरिएका टिकटहरूको रकम स्वचालित रूपमा फिर्ता गरिने जनाएको छ । एक युगको अन्त्य वर्षौंदेखि स्पिरिटले सस्तो भाडामार्फत प्रतिस्पर्धीहरूलाई दबाबमा राखेको थियो र महामारीपछि तीव्र विस्तार, बढ्दो लागत र अन्य चुनौतीहरूले असर नगरेसम्म नाफामै थियो । विज्ञहरूका अनुसार यसको बन्दले केही बजारमा भाडा बढ्न सक्छ, यद्यपि पछिल्ला महिनाहरूमा कम्पनीले सेवा निकै घटाइसकेको थियो । स्पिरिटले सेवा दिने विमानस्थलहरूमा अन्य एयरलाइन्सहरूले थप उडान सञ्चालन गर्ने सम्भावना छ । कम्पनीका अनुसार डेट्रोइटबाट डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको दुई घण्टा ३९ मिनेटको एनके १८८३ उडान अन्तिम उडान थियो, जुन स्थानीय समयअनुसार मध्यरातपछि अवतरण भयो । पछिल्लो दिनमा मात्र स्पिरिटले ५० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिएको थियो । स्पिरिटका प्रमुख कार्यकारी डेव डेविसले भने, ‘३० वर्षभन्दा बढी समयसम्म स्पिरिट एयरलाइन्सले यात्रा सहज बनाउने, मानिसहरूलाई जोड्ने र उद्योगभर सस्तो भाडा कायम राख्ने अग्रणी भूमिका खेलेको छ ।’ डेविसले एयरलाइन्सलाई बचाउने प्रयासका लागि ट्रम्प प्रशासन र विशेषगरी वाणिज्य मन्त्री होवार्ड लुटनिकलाई धन्यवाद दिएका छन् । यसअघि विषयमा जानकारी भएका स्रोतहरूले सस्तो एयरलाइन्स बन्द हुने तयारीमा रहेको बताएका थिए, किनकि जीवनदान दिने सम्झौतामा सहमति हुन सकेको थिएन । एयरलाइन्सले इन्धन मूल्य बढ्नुअघि वर्षको मध्यसम्म टाट पल्टिने अवस्थाबाट बाहिरिने अपेक्षा गरेको थियो, तर पुरानै समस्याहरू कायम थिए । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि केही स्थानहरूमा जेट इन्धनको मूल्य दोब्बर भएको थियो । डेविसले भने, ‘हालका हप्ताहरूमा इन्धन मूल्यमा आएको अचानक र निरन्तर वृद्धिले कम्पनीलाई व्यवस्थित रूपमा बन्द गर्नु बाहेक अन्य विकल्प बाँकी राखेन ।’ उनका अनुसार व्यवसाय टिकाइराख्न थप सयौं मिलियन डलर आवश्यक थियो, जुन स्पिरिटसँग थिएन र जुटाउन पनि सकेन । ‘कठिन सम्झौता’ गत महिना ट्रम्प प्रशासनले ५० करोड डलरको ऋण प्रस्ताव गरेको थियो, जसले सरकारलाई कम्पनीमा ९० प्रतिशतसम्म स्वामित्व दिन सक्थ्यो। तर बन्डहोल्डरहरूसँगको वार्ता असफल भयो । केही रिपब्लिकन नेताहरू र यातायात मन्त्री सीन डफीले पनि यसको विरोध गरेका थिए । डफीले भने, ‘हामी खराब अवस्थामा राम्रो पैसा थप्न चाहँदैनौं । स्पिरिटमा धेरै पैसा लगाइसकिएको छ, तर नाफामा जान सकेको छैन ।’ राष्ट्रपति ट्रम्पले शुक्रबार ‘अन्तिम’ बेलआउट प्रस्ताव गरिएको बताएका थिए, तर अन्ततः सहमति हुन सकेन । उनले भने, ‘हामी कडा सम्झौता गरिरहेका छौं । यो या त हुन्छ, या हुँदैन । अन्य ऋणदाताहरूले अवरोध गरिरहेका जस्तो देखिन्छ ।’ अन्य एयरलाइन्सहरूले स्पिरिटका यात्रु र कर्मचारीहरूलाई सहयोग गर्ने योजना बनाएका छन् । साउथवेस्ट एयरलाइन्सले समान मार्ग भएका विमानस्थलहरूमा छुट दरमा उडान दिने जनाएको छ । युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, जेटब्लु एयरवेज र फ्रन्टियर एयरलाइन्सले पनि स्पिरिटका यात्रुका लागि विशेष राहत भाडा योजना ल्याउने बताएका छन् । फेब्रुअरीसम्म स्पिरिटले करिब १७ लाख अमेरिकी घरेलु यात्रु बोकेको थियो, जसको बजार हिस्सा ३.९ प्रतिशत थियो । यो अघिल्लो वर्षको ५.१ प्रतिशतबाट घटेको हो, किनकि लागत घटाउन कम्पनीले उडानहरू कटौती गरेको थियो । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
काठमाडौं । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको बताएका छन् । साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा उक्त क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिए । यसै क्रममा, इरानका उपविदेशमन्त्री हमिद घानबारीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानसँग कूटनीतिक माध्यममार्फत अनुरोध गरिरहेको जनाएको छ । इरानले फेब्रुअरी २८ देखि केही विशेष परिस्थितिका कारण उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको हो । यस निर्णयलाई क्षेत्रीय घटनाक्रमसँग सम्बन्धित रूपमा हेरिएको छ । होर्मुज जलडमरूमध्येविश्वव्यापी ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । त्यसैले यस क्षेत्रमा भइरहेका गतिविधिहरूलाई अन्तर्राष्ट्रिय समुदायले ध्यानपूर्वक नियालिरहेको छ । रासस
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
काठमाडौं । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागी जस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध छल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन् । करिब ४०० उद्यमहरूले ६ हजारभन्दा बढी अत्याधुनिक प्रविधि र उत्पादन सार्वजनिक गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल र बुद्धिमान प्रणालीहरू समावेश छन् । यससँगै कृषि, उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका करिब १०० उदाहरण पनि प्रस्तुत गरिएका छन् । उच्च गुणस्तरको डेटा कृत्रिम बुद्धिमत्ता विकासका लागि अत्यन्त आवश्यक बन्दै गएको बताइएको छ, विशेषगरी मानवजस्तै रोबोट विकासमा डेटा अभाव चुनौतीका रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले पाठ्यसामग्री निर्माणको समय एक हप्ताबाट एक घण्टामा झारेको छ भने स्वास्थ्य क्षेत्रमा परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई डिजिटल बनाउँदै सेवा गुणस्तर सुधारिएको छ । आगामी श्रमिक दिवस बिदाको अवसरमा पनि यो प्रदर्शनी सर्वसाधारणका लागि खुला रहनेछ, जहाँ सयभन्दा बढी परियोजनामार्फत प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिनेछ । रासस