सार्कमा काेराेनाः कुन देशमा कति संक्रमित ?

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण विश्वभर तीव् रूपमा फैलिरहेकाे छ । काेराेना भाइरस लागेर निकाे भएर जाने सँसँगै संक्रमित हुनेकाे संख्या पनि दैनिक बढ्दै गएकाे छ । सार्क देशहरूमा सबैभन्दा बढी भारतमा छ । पछिल्लाे समय भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाे   छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्। कोरोनाको जोखिम कम गर्न भारतमा झण्डै एक महिनादेखि लकडाउन जारी छ। तर संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। भारत जस्तै दक्षिण एशियाली अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको छ। पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यस्तै, बंगलादेशमा ३ हजार ७ सय ७२ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२० जनाको मृत्यु भएको छ। अर्को दक्षिण एशियाली देश अफगानिस्तानमा १ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जनाले ज्यान गुमाएका छन्। श्रीलंकामा अहिलेसम्म ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी माल्दिभ्समा ८६, नेपालमा ४२ र भुटानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

प्रिटोरिया । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्ने भएको छ । राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको स्थानीय संचार माध्यमहरुले बताएका छन् । उनलेआर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्नु हुनेछ जानकारी दिए । दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा तीन साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोनाभाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो । दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या तीन हजार ५ सय नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ । रासस–एएनआई

सिंगापुरमा आंशिक लकडाउनको अवधि जुन १ तारिखसम्म थप

सिंगापुर । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ । प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताए। उनले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मूल्याँकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट गरे । समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने उनले बताए । प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यसका लागि बाध्यकारी भएको बताए । “खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ” प्रधानमन्त्री लूङले भने । सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । हालसम्म सिंगापुरमा १० हजार १ सय ११ जना कोरोना संक्रमित छन् भने ११ जनाको मृत्यु भईसकेको छ । रासस/एएनआई