युरोपमा हाइब्रिड कारको बजार हिस्सा ३४.५ प्रतिशत पुग्यो
काठमाडौं । सन् २०२५ मा युरोपेली उपभोक्ताहरूका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधनहरू सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार हाइब्रिड कारहरूले विशुद्ध पेट्रोल–सञ्चालित कारहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिइए) का अनुसार सन् २०२५ मा युरोपेली सङ्घ (इयु) भर करिब १८ लाख नयाँ सवारी साधन दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतको वृद्धि हो । यद्यपि, एसिइएले जारी गरेको विज्ञप्तिमा नयाँ कार बिक्री अझै पनि कोभिड–१९ महामारीअघिको स्तरभन्दा धेरै तल रहेको उल्लेख गरिएको छ । समग्र बिक्रीमा सामान्य वृद्धि देखिए पनि उपभोक्ताहरूको रोजाइ स्पष्ट रूपमा वैकल्पिक ऊर्जा प्रविधितर्फ सरेको देखिन्छ । हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको माग निरन्तर बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ । गत वर्ष हाइब्रिड–इलेक्ट्रिक सवारी साधनको बिक्री १३.५ प्रतिशतले वृद्धि भई इयुको कुल नयाँ कार बिक्रीको ३४.५ प्रतिशत पुगेको छ । यसले हाइब्रिड कारलाई पेट्रोल कारभन्दा स्पष्ट रूपमा अगाडि राखेको छ । पेट्रोल कारको बजार हिस्सा २६.६ प्रतिशतमा सीमित रहेको थियो । यसैबीच, ब्याट्री–इलेक्ट्रिक सवारी साधनहरूको बिक्री ३० प्रतिशतले बढेर समग्र बिक्रीको १७.४ प्रतिशत पुगेको छ । एसिइएले भने सन् २०२४ मा कमजोर आधारबाट सुधार आएको जनाउँदै इयुले तय गरेका सङ्क्रमण तथा वातावरणीय लक्ष्यहरू हासिल गर्न अझै तीव्र वृद्धि आवश्यक रहेको बताएको छ । प्लग–इन हाइब्रिड सवारी साधनको बिक्री पनि गत वर्ष बढेको देखिएको छ । तर, परम्परागत पेट्रोल र डिजेल सवारी साधनको बिक्री भने उल्लेखनीय रूपमा घटेको छ । पेट्रोल र डिजेल कारको संयुक्त बजार हिस्सा सन् २०२४ मा ४५.२ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर ३५.५ प्रतिशतमा झरेको छ । कार निर्माताहरूको हिसाबले हेर्दा फक्सवागन समूहले सन् २०२५ मा आफ्नो बिक्री ५.५ प्रतिशतले बढाउँदै युरोपमा सबैभन्दा धेरै कार बिक्री गर्ने निर्माताको रूपमा आफ्नो अग्रता अझ बलियो बनाएको छ । फ्रान्सको रेनोले पनि समान स्तरको वृद्धि दर्ता गरेको छ । तर, प्युजो, फिएटलगायत थुप्रै युरोपेली ब्रान्डहरू समेटिएको स्टेलान्टिस समूहको बिक्री भने ४.७ प्रतिशतले घटेको छ । चिनियाँ कार निर्माता बिवाइडीले इयुमा आफ्नो बिक्री गत वर्ष तीन गुणासम्म बढाएको छ, यद्यपि यो वृद्धि तुलनात्मक रूपमा सानो आधारबाट भएको हो । एमजी ब्रान्डको स्वामित्वमा रहेको चीनको एसएआइसी मोटरको बिक्री पनि करिब एक तिहाइले बढेको तथ्याङ्कले देखाएको छ । यसले युरोपेली बजारमा चिनियाँ ब्रान्डहरूको उपस्थिति विस्तार हुँदै गएको सङ्केत गरेको छ । यसको विपरीत, अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्री सन् २०२५ मा करिब ३८ प्रतिशतले घटेको छ । एसिइएका अनुसार कम्पनीका प्रमुख अर्बपति एलोन मस्कसँग जोडिएका राजनीतिक विवादहरूले युरोपमा टेस्लाको ब्रान्ड छविमा नकारात्मक असर पारेको छ । मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुका साथै जर्मनीको अति–दक्षिणपन्थी एएफडी पार्टीप्रति समर्थन जनाएपछि टेस्लाको प्रतिष्ठामा क्षति पुगेको विश्लेषकहरूको भनाइ छ । रासस
तीन वर्षको गिरावट तोड्दै चीनको औद्योगिक नाफामा वृद्धि
काठमाडौं । चीनको औद्योगिक नाफा सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको छ । यससँगै लगातार तीन वर्षदेखिको गिरावटको शृङ्खला टुटेको छ । कमजोर घरेलु मागका बीच आक्रामक मूल्य प्रतिस्पर्धा नियन्त्रण गर्न अधिकारीहरू सक्रिय बनेपछि र कम्पनीहरूले विदेशी बजार विस्तारमा जोड दिएपछि नाफा बढेको हो । राष्ट्रिय तथ्यांक ब्युरो (एनबीएस) को तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा ०.१ प्रतिशत मात्र रहेको वृद्धिदर वर्षको अन्त्यतिर तीव्र भएको हो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री तियानछेन स्यूका अनुसार गत वर्षको पुनरुत्थान नीतिगत हस्तक्षेपका कारण सम्भव भएको हो । विशेषगरी बेइजिङले अत्यधिक मूल्य कटौतीविरुद्ध चलाएको अभियान र कम्पनीहरूले विदेशी बजार विस्तार गर्न गरेका प्रयासले यसलाई टेवा दिएको हो । डिसेम्बर महिनामा औद्योगिक नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५.३ प्रतिशतले बढ्यो, जुन सेप्टेम्बरयताकै सबैभन्दा बलियो प्रदर्शन हो । सेप्टेम्बरमा नाफा २१.६ प्रतिशतले उकालो लागेको थियो । त्यसअघि अक्टोबरमा ५.५ प्रतिशत र नोभेम्बरमा १३.१ प्रतिशतले नाफा घटेको थियो । तथ्यांक ब्युरोका एक अधिकारीका अनुसार फेब्रुअरीमा पर्ने चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर) अगावै गरिएको भण्डारणका कारण आठ महिना लगातार संकुचनमा रहेको चीनको कारखाना गतिविधि डिसेम्बरमा पुनः वृद्धिमा फर्किएको हो । गत वर्ष सुस्त उपभोक्ता मागका कारण धेरै उद्योगमा क्षमता बढी भएपछि व्यापक मूल्ययुद्ध चलेको थियो, जसले देशका ठूला औद्योगिक कम्पनीहरूको नाफामा गम्भीर असर पारेको थियो । क्षेत्रगत असमान वृद्धि आईएनजीका ग्रेटर चाइना प्रमुख अर्थशास्त्री लिन सोंगले उद्योगहरूबीच ुउच्च स्तरको भिन्नताु देखिएको बताए । मूल्य प्रतिस्पर्धाले नाफाको मार्जिन घटाइरहेकाले समग्र नाफा वृद्धि अझै कमजोर नै रहेको उनको भनाइ छ । सन् २०२५ भरि हेर्दा खानी क्षेत्रमा नाफा अघिल्लो वर्षको तुलनामा २६.२ प्रतिशतले घटेको छ भने उत्पादन तथा विद्युत्, ताप, इन्धन र पानीसम्बन्धी युटिलिटी क्षेत्रमा नाफा क्रमशः ५ प्रतिशत र ९.४ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । उल्लेखनीय वृद्धि देखिएका क्षेत्रमा फलाम तथा इस्पात गलाउने र रोलिङ प्रशोधन उद्योगको नाफा २२.६ प्रतिशतले उकालो लाग्यो भने इलेक्ट्रोनिक्स उत्पादन १९.५ प्रतिशतले बढ्यो । तर कोइला खानी तथा धुलाई उद्योगको नाफा ४१.८ प्रतिशतले घट्यो र तेल तथा ग्यास उत्खनन १८.७ प्रतिशतले घट्यो । राज्यस्वामित्वका उद्यमहरूको नाफा ३.९ प्रतिशतले घट्दा हङकङ, मकाउ र ताइवानको लगानीसमेत रहेका विदेशी लगानीका कम्पनीहरूको नाफा भने ४.२ प्रतिशतले बढेको छ । एनबीएसका प्रमुख तथ्यांकविद् यु वेइनिङले उपकरण र उच्च–प्रविधि उत्पादनजस्ता नयाँ विकास चालकका कारण गत वर्ष नाफामा सीमित सुधार आएको बताए । उनका अनुसार रेलवे, जहाज निर्माण, एअरोस्पेस र इलेक्ट्रोनिक्स उद्योगमा दोहोरो अंकको नाफा वृद्धि देखिएको छ । स्मार्ट उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादकहरूको नाफा ४८ प्रतिशतले बढ्यो भने मानवरहित हवाई उपकरण (ड्रोन) उत्पादन र स्मार्ट सवारीसाधन उपकरण निर्माताहरूको नाफा क्रमशः १०२ प्रतिशत र ८८.८ प्रतिशतले बढेको छ । तर युले केही औद्योगिक कम्पनीहरू अझै सञ्चालनगत चुनौतीमा रहेको स्वीकार्दै ‘बाह्य वातावरणमा आएको परिवर्तन’ नाफाका लागि झन् महत्त्वपूर्ण बन्दै गएको बताए । आईएनजीका सोंगले बेइजिङको ‘एन्टी–इनभोलुसन’ (अत्यधिक प्रतिस्पर्धा नियन्त्रण) अभियानले क्रमशः अवस्था सुधार गर्न सक्छ भने पनि यसमा समय लाग्ने बताए । यो अभियान गत वर्ष अत्यधिक मूल्य कटौतीका कारण बढेको प्रतिस्पर्धा र मूल्यह्रासको दबाब रोक्न सुरु गरिएको हो । अमेरिका–चीनबीच एक वर्षे व्यापार युद्धविरामका कारण उच्च भन्सार शुल्क टरेको र निर्यात बलियो रहेकाले गत वर्ष चीनको आर्थिक वृद्धि सरकारी लक्ष्यअनुसार ५ प्रतिशत पुगेकोमा बेइजिङले केही सन्तोष व्यक्त गरेको छ । तर अर्थशास्त्रीहरूले घरेलु माग र समग्र आर्थिक वृद्धिलाई मजबुत बनाउन थप नीतिगत सहयोग आवश्यक रहेको बताएका छन् । सन् २०२५ मा खुद्रा बिक्री ३.७ प्रतिशतले मात्र बढेको छ, जुन समग्र आर्थिक वृद्धिदर र औद्योगिक उत्पादनको ५.९ प्रतिशत वृद्धिभन्दा कम हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्रालयका अधिकारी याङ मुले बेइजिङले गाडी, घरायसी उपकरण र इलेक्ट्रोनिक सामग्रीमा घरपरिवारको खर्च बढाउन प्रयास तीव्र पार्ने तथा सेवा क्षेत्रको उपभोगमा पनि ध्यान दिने बताए ।
सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी
सिङ्गापुर । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । छ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०.८ प्रतिशतले सबैभन्दा ठूलो वृद्धि देखाएको छ । तर, बायोमेडिकल निर्माण उत्पादन वार्षिक आधारमा ३८.८ प्रतिशतले घटेको छ । सिङ्गापुर आर्थिक विकास बोर्डका अनुसार औषधि खण्डमा उत्पादन ६९.७ प्रतिशतले घटेको छ, किनभने गत वर्षको तुलनामा सक्रिय औषधि तत्व (एपीआई) को मिश्रण फरक भएको थियो । रासायनिक उत्पादनमा पनि वार्षिक कमी देखिएको छ, जबकि सामान्य निर्माण उत्पादन स्थिर रहेको छ । रासस