अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे कोरोना प्रतिबन्ध हटाउने तीन योजनाकाे घोषणा

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।  प्रधानमन्त्री र राज्य क्षेत्रका नेताहरु सम्मिलित राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि मरिसनले अस्ट्रेलियामा जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधि पूर्ण रुपले सञ्चालनमा ल्याइने योजना सार्वजनिक गरेका हुन् । पहिलो चरणमा रेस्टुरेन्ट र क्याफेहरू पुनः खोल्न अनुमति दिइने । पारिवारिक जमघटमा पाँच जनासम्म भेला हुन दिइने भएको छ । बाह्य क्रियाकलापमा १० जनाको समूह जम्मा हन पाइने अनुमति दिइनेछ । मरिसनले प्रत्येक चरणको कार्यान्वयन हुने बेला राज्य र प्रदेश सरकारले निर्णय गर्ने बताएका छन् । कोभिड १९ बाट नष्ट भएको अर्थतन्त्र र समाज पुनः हासिल गर्न तीन चरणको योजना र राष्ट्रिय ढाँचामा राष्ट्रिय मन्त्रिपरिषद्ले सहमति जनाएको उनले जानकारी दिए । यस वर्षको जुलाईको अन्त्यसम्म सुरक्षित अर्थतन्त्र प्राप्त गर्न यी सबै चरणहरू पार गर्ने लक्ष्य भएको प्रधानमन्त्रीले बताए । सरकारले सर्वजनिक गरेको दोस्रो चरणको योजनामा अधिकतम २० जनासम्म भेला हुन दिइने केही व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्राको लागि अनुमति दिइने र जिम, चलचित्र भवन र ब्यूटी पार्लरहरू खोल्न दिइने बताइएको छ । तेस्रो चरणमा अस्ट्रेलियाको जनपजीवन पूर्ववत रुपमा फर्काउने प्रधानमन्त्री मरिसनको योजना रहेको छ । रासस /सिन्ह्वा

कुवेतमा थप २० दिन लकडाउन घोषणा

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै कुवेत सरकारले थप २० दिनको लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको रोक्नको लागि कुवेतमा मे १० देखि मे ३० सम्मका यो राष्ट्रव्यापी लकडाउन भएकाे सरकारले घाेषणा गरेकाे हाे । कुवेतमा कोरोना संक्रमित निरन्तर बढ्दै गएको छ, जसलाई ध्यानमा राख्दै कुवेत सरकारले यो निर्णय लिइएको छ । शुक्रवार मात्र कुवेतमा ६ सय ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । कुवेतमा संक्रमणको पहिलो केस फेब्रुअरी २ मा पुष्टि भयो । त्यस्तै करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा हालसम्म ८४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेतस्थित नेपाल राजदुत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

ब्राजिलमा लकडाउनबारे विवाद गहिरिँदै, एकै दिन ६ सयभन्दा बढीको मृत्यु

काठमाडौं । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला बिहीबर (एकै दिन) ६ सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाए । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९ हजार १ सय ९० नाघिसकेको छ । हालसम्म ब्राजिलमा कोरोना भाइरसबाट १ लाख ३५ हजार ७ सयभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । ब्राजिलका राष्ट्रपतिले दिए चेतावनी राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ । अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताए । विज्ञहरूले ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन् । तर अझै पनि राष्ट्रपति बोल्सोनारुले व्यापार, व्यवसाय, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द राख्ने राज्यहरूको निर्णयविरुद्ध आफूलाई प्रस्तुत गर्दै आएका छन्। जोखिममा रहेका समूहहरूलाई मात्रै क्वारन्टीनमा राख्नुपर्ने र बाँकी सबैलाई काममा फर्कन दिनुपर्नेमा पक्षमा उनी छन्। सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या तीव्र गतिमा बढिरहँदा र न्यून सङ्ख्यामा परीक्षण भइरहेकोले स्थिति भयावह हुन सक्ने चिन्ताबीच राष्ट्रपतिले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लागिरहेको छ । (बीबीसीकाे सहयाेगमा)