‘बेल्ट एण्ड रोड’ कार्यक्रमसँग जोडिएका मुलुकमा चीनले गर्यो १० अर्ब लगानी
बेइजिङ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो । खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उत्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन् । यो लगानी रकम गत बर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले बढी हो । नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भइ सम्पन्न भएका आयोजनाको कुल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत बर्षको अक्टोबरसम्मको तुलनामा ४.४ प्रतिशतले कमी हो । करार भइ सम्पन्न भएका आयोजनाको कुल प्रतिशत ५४.७ प्रतिशत रहेको छ । रासस/सिन्ह्वा
पाकिस्तानमा सरकार विरोधी प्रदर्शन
इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका दशौँ हजार कार्यकर्ताले प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन गरेका अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरुले पाकिस्तानको विभिन्न भूभागबाट आएका प्रदर्शनकारीहरुलाई रोक्न कडा सुरक्षा व्यवस्था अपनाएका थिए । २० हजार भन्दा बढीको संख्यामा आएका इस्लामिक कार्यकर्ताहरुले राजधानी इस्लामावादमा प्रदर्शन गर्दै प्रधानमन्त्री खानको राजिनामा माग गरेका थिए । जमात उलेमा ए इस्लाम पाकिस्तानको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो । सो पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो । सो दलले पाकिस्तानका क्रिकेट स्टारबाट राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री इमरान खानको राजिनामा माग गरिरहेको छ । प्रधानमन्त्री खानको नेतृत्वमा रहेको वर्तमान सरकारले पाकिस्तानमा शान्ति सुरक्षा कायम गर्न नसकेको लगायतका धेरै कमी कमजोरीहरु देखाएर सरकारबाट हट्न भनिरहेको छ । पाकिस्तान मुस्लिम लिग नवाज पार्टीले पनि वर्तमान सरकारको कडा विरोध गर्दै आएको छ । उक्त दलले वर्तमान सरकारलाई अवैध सरकार भन्दै यो सरकारका प्रधानमन्त्री खानले अब तत्कालै राजिनामा दिनुपर्ने बताउँदै आएको छ । शुक्रबारको विरोध प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री खानका लागि एक प्रमुख चुनौतीका रुपमा लिइएको छ । रासस/ सिन्ह्वा
बाढीबाट सोमालियामा ५ लाख ७५ हजार व्यक्ति विस्थापित
मोगादिसु । सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्ता यताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका छन् । गतअक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका हो । संयुक्त राष्ट्रसंघीय एक एजेन्सीका अधिकारीहरुका अनुसार बाढीका कारण यसरी विस्थापित हुनेहरु सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन् । भारी मात्रामा परेको वर्षाका कारण त्यहाँको स्थानीय सियाली नदीमा आएको बाढीबाट यति ठूलो मात्रामा नागरिक विस्थापित भएका थिए । यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ । अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन् । लाखौँ नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ । शरणार्थीहरुलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दाता निकाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । रासस/सिन्ह्वा