दक्षिण कोरियाली कम्पनीद्वारा मेक्सिकोमा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका एटिएम बिक्री गर्ने
सियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका आठ हजार थान एटिएम बिक्री गर्ने भएको छ । ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत मेक्सिकोको एक परियोजनाका लागि उक्त एटिएम आपूर्ति गर्ने भएको हाे । समूहका अनुसार नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयरमूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ । आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ । मेक्सिकोका झण्डै दुई करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन्, तर वित्तीय सेवा पूर्वाधारको कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाइ हुने गरेको छ । यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गर्नुभएको कम्पनीले जनाएको छ । त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो । रासस
चीनमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाइने
काठमाडौँ । चीनले बालबालिकाहरूलाई अनलाइन गेमको लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ । त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ । भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको अधिकारीहरूले बताएका छन् । अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो । मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ । जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन् । चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो । रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो । भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ । अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो । त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो । केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ । विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो । हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन । तर इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ । केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् र धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय राखेका छन् । (-बीबीसीबाट)
विषम सुख्खाका कारण अफ्रिकी मुलुकमा खाद्य असुरक्षा
लुआन्डा । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ । कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष रुपमा खतरनाक अवस्थामा रहेको जानकारी दिएका छन् । अंगोलाका धेरै प्रान्तमा यस वर्ष लगातारको सुख्खाले बालीनालीमा असर परेको छ । पानीका स्रोतहरु सुक्ने तथा पशुपालनमा समेत ठूलो असर परेकाे सरकारको भनाई छ । रासस