मलेसियामा भीषण बाढी: ४१ जनाको मृत्यु, अर्बौंको क्षति
काठमाडाैं । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । “४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका छन्,” प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिए । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेङ्गानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।
पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प
काठमाडाैं । पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।
ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा भेलाहरु प्रतिबन्ध
राेम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् । पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ । इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको यहाँको सरकारले जनाएको छ । यहाँका प्रतिबन्धहरुमा रात्रि क्लबहरु र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ । यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ । रासस/सिन्ह्वा