ती चार नेता जसले आफैं तोडे लकडाउनको नियम

काठमाडौं । बृद्ध वृद्धाहरु आफ्नै नाती नातिनीलाई काखमा राख्नका लागि लालायित छन्, आफन्तहरु आफ्ना प्रियजनहरुको अन्तिम संस्कारमा उपस्थित हुन पाइरहेका छैनन् । वास्तवमै लकडाउनको नियमले कोरोना भाइरसलाई फैलनमा कम त गरेको छ तर यो क्रममा मानिसहरुले ठूलो संख्यामा बलिदान पनि दिएका छन् । लकडाउनको नियम कडाइका साथ पालना गर्नेहरु सुरक्षित रहँदै आएका छन् भने यो नियमको पालना नगर्नेहरु चाहिँ खराब परिस्थितीको सामना गरिरहेका छन् । यत्ति हुँदाहुँदै पनि कतिपय राजनेताहरुले चाहिँ आफैंले बनाएको नियम तोडेको पाइएको छ । यहाँ हामी चर्चा गर्दैछौं ती ४ चर्चित नेताहरुको वारेमा जसले आफैंले बनाएको नियमलाई तोड्दै गरेको पाइएको छ । डोनाल्ड ट्रंप, अमेरीका कोरोना भाइरस महामारीका कारण दुनियाँभरमा भएको कूल मृत्युको ३० प्रतिशत मृत्यु अमेरीकामै मात्र भएको छ । गत अप्रिल पहिलो हप्ता अमेरीकाको सेंटर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेंशन (सीडीसी) ले यो सल्लाह दिएको थियो कि कोरोना भाइरससँग जुध्नका लागि सबै अमेरिकीले मास्क लगाउनु पर्छ । यो सल्लाहका बाबजुद राष्ट्रपति ट्रंपले मास्क लगाउन चाहेनन् । त्यसैगरी २१ मईमा उनले फोर्ड प्लान्टको भ्रमण गरे जसले भेन्टिलेटरको निर्माण गरिरहेको थियो । त्यहाँका कर्मचारीहरुले आफ्नो अनुहार मास्कले ढाकेका भएपनि ट्रंपले चाहिँ त्यसो गरेनन् । भ्लादिमीर पुटिन, रुस रुसका राष्ट्रपति भ्लादिमीर पुटिन कडा मिहिनेतका साथ काम गर्ने नेताका रुपमा चिनिन्छन् । २४ मार्चमा जब कोरोना भाइरसको प्रकोप शुरु भइरहेको थियो तब उनले मस्कोको एउटा अस्पतालको भ्रमण गरेका थिए । उनले अस्पतालको भ्रमणका बखत हेजाड्र्स मेटेरियल सूट लगाएका भएपनि त्यहाँका डक्टरहरुसँग भेट गर्दा चाहिँ कुनैपनि किसिमको प्रोटेक्टिव गियर प्रयोग गरेका थिएनन् । त्यो एउटा जोखिमले भरिएको व्यवहार थियो, खासगरी त्यो वेला जब उनले अस्पतालका चिफ डक्टर डेनिस प्रोत्सेनकोसँग हात मिलाए । केही दिन पछि मात्र डक्टर प्रोत्सेनकोमा कोरोना पोजिटिभ देखिएको थियो । बिन्यामिन नेतन्याहु, इजरायल इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहु तथा राष्ट्रपति रुवेन रिवलिन त्यो समय आलोचनाको शिकार भए जब तिनीहरुले आफ्ना ब्यस्क बच्चाहरुका साथ पासोवर चाडको भोज आयोजना गरे । केही दिन अघि मात्र उनले लकडाउनको घोषणा गर्दै देशवासीहरुसँग कुनैपनि किसिमको भोज आयोजना नगर्नका लागि अपिल गरेका थिए । यो घटनालाई लिएर इजरायलका मिडियाहरुले प्रश्न खडा गरेका थिए । योगी आदित्यनाथ, भारत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चका दिन दुनियाँको सवैभन्दा ठूलो लकडाउनको घोषणा गरे जसले १ अर्ब ३५ करोडको आवादी वाला देशलाई पूर्ण रुपमा रोकिदिएको थियो । यो क्रममा पूजा तथा प्रार्थनास्थलहरु पनि बन्द गरिएको थियो । यत्ति हुँदाहुँदै पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन लागू भएको पहिलो दिन नै यसको उल्लंघन गरिदिए । अयोध्याको विवादित स्थलमा मन्दिर निर्माणका लागि गरिएको धार्मिक अनुष्ठानमा उनले भाग लिँदै गरेको तस्विर बाहिरियो । श्रोतः बीबीसी

उत्तरी नाइजेरियामा भिषण सैनिक कारबाहीमा, ७० जना बन्दुधारी मारिए

अबुजा । नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर बसेको कासिया जंगलमा सेनाले गरेको कारबाहीमा ती व्यक्ति मारिएको बताए । कडुनाको ठूलो क्षेत्रमा बन्दुकधारीहरुले स्थानीय गाउँलेको सम्पत्ति र गाईवस्तु लुटपाट गर्नुका साथै प्रतिरोध गर्ने स्थानीयवासीको हत्या गर्ने गरेका छन् । लगातार त्रासको वातावरण सिर्जना गरेको भन्दै नाइजेरियाली सेनाले सो क्षेत्रमा अहिले अपरेशन एकर्ड नामको सैनिक अभियान सञ्चालन गरेको छ । सेनाले पैदल सहित हेलिकप्टरबाट बन्धुकधारीहरु लुकेका स्थानमा कारबाही गरेको प्रवक्ताले जानकारी दिए। कारबाहीमा अरु धेरै घाइते व्यक्ति फरार भएको पनि सेनाको भनाई छ । सेनाले अझै पनि जंगल क्षेत्रमा कारबाही जारी राखेको जनाएको छ । एक साता अघि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले कुडुना क्षेत्रमा सक्रिय बन्दुकधारीलाई पूर्ण रुपमा निर्मूल गर्नेगरी सैन्य कारबाही तिब्र बनाउन आदेश दिएका थिए ।  रासस–सिन्ह्वा

लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग

वासिङ्टन । कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको त्रासका कारण त्यसबाट बच्नका लागि व्यापार व्यवसाय संचालन गरेको ठाउँलाई फराकिलो बनाउनका लागि टेन्टको माग बढेको बताइएको छ । रेस्टुरेन्ट, होटल, खुद्रा पसललगायतले आफ्ना ग्राहकका लागि टेन्ट लगाएर ठाउँ विस्तार गरेको पाइएको छ । व्यापार व्यवसाय संचालन गर्दा कामदारका लागि र ग्राहकहरुका लागि पनि सामाजिक दुरी बढाउन पहिले प्रयोग गर्दै आएको ठाउँ साघुँरो भएकाले टेन्ट लगाएर फराकिलो बनाउनु परेको व्यवसायीहरुले बताएका छन् । माग अत्यधिक बढेकाले देशभरका टेन्ट उत्पादक तथा विक्रेताहरुलाई अहिले भ्याई नभ्याई देखिएको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलमा प्रकाशित विवरण अनुसार एकै पटक धेरै उत्पादन, वितरण वा सेवा प्रवाह गर्नु पर्ने भएकाले पनि व्यवसायीहरुले टेन्टको माग गरेको पाइएको छ । उनीहरुले आफ्ना मेसिन तथा अन्य सामानहरु, कामदार र उपभोक्ताका लागि थप टेन्टको आवश्यकता परेको बताउने गरेका छन् । अध्ययनकर्ताहरुले सबै सेवा तथा उत्पादनको मुल्य बृद्धि पनि अत्यधिक भएको पाइएको जानकारी दिएका छन् । टेन्ट बिक्री वितरण गर्दै आइरहेको डेल्टा कम्पनीले पाँच बर्ष यताकै सबैभन्दा धेरै टेन्ट बिक्री वितरण भएको जनाएको छ । म्याक किन्नीका सहप्रवन्धक अम्बेर्ली स्लाभेन्सले पहिलाभन्दा अहिले झण्डै तेब्बर व्यापार भएको जानकारी दिए । व्यापार व्यवसायका लागि मात्रै नभई कलेज तथा विद्यालयमा समेत विद्यार्थीहरुका लागि टेन्टको माग बढेको उनीहरुले बताएका छन् । साविकको ठाउँ सामाजिक दुरी कायम गर्दा साँघुरो हुने भएकाले टेन्ट मार्फत् कक्षा कोठालाई फराकिलो बनाइएको वा नयाँ कक्षा कोठा बनाइएको उनीहरुको भनाई छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म १९ लाख ९८ हजार ५ सय बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या १ लाख १२ हजार नाघेको छ ।    रासस/एएनआई