भारतमा पहिलाेपटक ओमिक्रोनबाट एकको मृत्यु
नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ । रासस/सिन्ह्वा
बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरे । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहनुभएका महासचिव लेकफेललाई प्रधानमन्त्रीले विम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए । बिम्स्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरे । बिम्स्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आकाङ्क्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे । बिम्स्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धताको उनले सराहना पनि गरे । कोभिड-१९ महामारीका कारण दुई वर्षअघि हुनुपने बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलङ्काले आयोजनाको प्रस्ताव गरेको छ । यद्यपि सदस्य देशबाट त्यो अनुमोदन हुन बाँकी छ । प्रारम्भमा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मा र नेपाल थपिएपछि बिम्स्टेक बनेको हो । २०५४ साल जेठ २४ गते स्थापना भएको उक्त क्षेत्रीय सङ्गठनको सदस्यता नेपालले २०६० साल माघमा लिएको हो । रासस
भारतमा २४ घण्टामा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४६ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस/एएनआई