‘अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक छ’

अफ्रिका । विश्वस्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ । यहाँ सुरु भएको एक अन्तर्राष्टिय सम्मेलनका क्रममा आफ्रिका क्षेत्रका लागि विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक मात्सिदिसो मोइतीले सो कुरा बताएका हुन् । उनले भने अफ्रिकाका देशहरुमा स्वास्थ्य क्षेत्रका पूर्वाधारका साथै अन्य आवश्यकताका विषयहरुको पूर्ति गर्न नसकिएकाले यहाँ यस क्षेत्रमा थप लगानीको आवश्यकता छ । रुवाण्डाको राजधानी किगालीमा आयोजना भएको जनस्वास्थ्यको अवस्था र यसको आवश्यकता सम्बन्धी एक अन्तर्राष्टिय सम्मेलनको उद्घाटनका क्रममा सो कुरामा जोड दिइएको हो । केही वर्षअघि इबोलाका साथै पछिल्ला दिनहरुमा कोभिड १९ को प्रकोपका कारण यहाँ स्वास्थ्यका क्षेत्रमा थप लगानी गर्न आवश्यक भएको क्षेत्रीय निर्देशक मोइतीले बताए। डिसेम्बर १३ देखि सुरु भएको सम्मेलनमा विषेशगरी अफ्रिकामा पछिल्लो समयमा जारी रहेको स्वास्थ्यको अवस्थाका बारेमा आवश्यक छलफल गरी आगामी दिनमा यसको निकासका लागि के गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले छलफल गर्नुहुने पनि बताइएको छ । अफ्रिकी देशहरुको स्वास्थ्य क्षेत्रको लगानी कम रहेको तथा त्यहाँ स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरुको पनि कमी रहेकाले यसमा लगानीको आवश्यक भएको हो । रासस

विश्वको सबैभन्दा धनी बने बर्नार्ड अर्नाल्ट, एलन मस्क दोस्रो नम्बरमा

एजेन्सी । एलोन मस्क अब विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रहेनन् । फ्रान्सेली अर्बपति लुइस भिटन मोएट हेनेसीका सीईओ बर्नार्ड अर्नाल्टले उनलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका छन्। मस्कको नेटवर्थमा आएको गिरावटका कारण टेस्लाको शेयर मूल्य तल झर्नु र एलभिएमएचको शेयर मूल्यले उचाई लिँदा सो अवस्थाको सिर्जना भएको हो । ब्लुमबर्ग बिलियनियर्स इन्डेक्स र फोर्ब्स दुबैमा मस्क दोस्रो नम्बरमा झरेका छन् । ब्लूमबर्गका अनुसार अर्नाल्टको कुल सम्पत्ति अहिले १७१ बिलियन डलर रहेको छ । जबकि एलन मस्कको कुल सम्पत्ति १६४ बिलियन डलर रहेको छ । त्यस्तै, भारतीय अर्बपति गौतम अडानी १२५ अर्ब डलर कुल सम्पत्तिका साथ तेस्रो स्थानमा रहेका छन्। विश्वका अर्का धनी अमेजनका संस्थापक जेफ बेजोस र बिल गेट्स रहेका छन्। दुवैको कुल सम्पत्ति ११६ अर्ब डलर रहेको छ। फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति १७६.८ बिलियन डलर रहेको छ। सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आउनुअघि उनको कुल सम्पत्ति लगभग १८५ बिलियन डलर थियो। अब अर्नाल्टको कुल सम्पत्ति १८८.६ बिलियन डलर पुगेको छ। तर, मस्क अझै गौतम अडानीभन्दा धेरै अगाडि छन् । अडानीको कुल सम्पत्ति १३४.२ बिलियन डलर छ। भारतीय अर्का पुँजीपती मुकेश अम्बानी ९२.५ बिलियन डलर सहित विश्वका आठौं धनी व्यक्तिको सूचीमा रहेका छन् । को हुन् बर्नार्ड अर्नाल्ट ? बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादरको रुपमा मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसीको संस्थापक अध्यक्ष र सबैभन्दा ठूला सेयरहोल्डर हुन् । बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो रहेको छ ।

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ । स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको सङ्ख्या पनि छ हजारबाट घटाएर छ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ । मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा। आयशा भेरलले संसद्मा बताइन् । उनले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धूमपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताइन् । ‘धूमपानबाट हुने क्यान्सर, हृदयाघातलगायत जटिल रोगको उपचार गर्ननपर्ने भएपछि अर्बौं डलर जोगिने छ, अहिलेको युवापुस्ताको स्वास्थ्य स्वस्थ रहनेछ । र, त्यसले भावी पुस्तालाई धूमपानरहित जीवन जिउन प्रेरित गर्नेछ,’ उनले भनिन् । रासस