भारतको मध्य प्रदेशमा रोजगार मेला हुने

भुपाल । भारतको मध्य प्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेश भरीमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई सहयोग पुग्ने उद्धेश्यले रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । ‘विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरुका लागि पनि काम खोजी दिन मेलामार्फत् सहयोग पुग्ने विश्वास गरिएको छ’ एक सरकारी अधिकारीले भने । विषेश गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग सामन्वय गरिदिन लागिएको ती अधिकारीको भनाई छ । अत्यधिक महत्वका साथ हेरिएको यो प्रदेशस्तरी मेला यही जुन महिनाको तेस्रो हप्तातिर शुरु हुने जनाइएको छ । कामदारहरुले आफै सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराईनेछ, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने जनाइएको छ । मेलामा सहभागी हुन आउने कामदारहरुलाई खाना तथा पानीको समेत व्यवस्था गरिनेगरी प्रदेश सरकारले योजना बनाएको छ । मेलाका बेलामा कोरोना भाइरसबाट जोगिनका लागि अप्नाउनु पर्ने आधारभूत सतर्कताहरुलाई पनि ध्यान दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउनु पर्ने लगायतका व्यवस्था पनि उनीहरुले गराउने भएका छन् । रासस/पिटिआई

एकैदिन भारतमा ११ हजार व्यक्तिमा काेराेना पुष्टि, कुल संक्रमित ३ लाख नाघ्याे

काठमाडाैं । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ । विश्वमा नै सबैभन्दा बढी काेराेना संक्रमितकाे राष्ट्रहरूमध्य अमेरिका, ब्राजिल, रसिया पछि चाैथाे स्थानमा भारत रहेकाे छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकैदिनमा ११ हजार ४ सय ५८ जना संक्रमित भएका छन् । एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३ सय ८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ । कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७ सय ७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३ सय ३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८ सय ८४ पुगेको छ । भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १ सय ४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६ सय ९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८ सय २८ जना सङ्क्रमित रहेका छन् ।

अफगान शान्ति वार्ताको तयारी शुरु

काबुल । अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा पनि गरिएको उक्त समाचारमा जनाइएको छ । सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् । अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्नेसम्बन्धी सम्झौता गरेको थियो । सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन् । सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो । अफगान राष्ट्रपति असरफ घानी पनि कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार रहेकाे समाचार आएको छ । उक्त वार्ताको सर्तका रुपमा अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको पनि जनाइएको छ । तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्नुपर्ने सर्त राखेका थिए । तालिबान संगठनको यो पहिलो सर्तका लागि सरकार पनि तयार भएको छ । सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ ।  अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएसँगै अव उक्त शान्ति वार्ताको तयारी सुरु भएको बुझिएको छ । अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । त्यसै सम्झौताबमोजिम नै अमेरिका र नेटोका साझेदारहरूले पनि १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताएका छन् । त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ । गत फेब्रुअरीमा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार, अमेरिका र तालिबानबीच सो सम्झौता भएको हो । सोही अनुसार नै तालिबानहरु शान्ति वार्तामा आउने भएका हुन् ।    रासस/एएनआई