रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा

मस्को । रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको गत बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । रुसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् । यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ ।पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा यूक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ । रासस/सिन्ह्वा

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

वासिङटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गरेको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ । रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ । सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए । ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो । रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए । रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् । ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ । (रासस/सिन्ह्वा)

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

मस्को । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ । सरकारले सतर्कता अपनाएको छ तर संक्रमितहरु भने बढ्दो रुपमा रहेको पाइएको छ ।(रासस/सिन्ह्वा)