दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने
साेल । दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको समाचारमा जनाएको छ । दक्षिण कोरियाले तर पाकिस्तान र बंगलादेशका कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने पनि जनाएको छ । दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् । सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ । साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो । शनिबारदेखि यहाँ ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए । गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ । प्राप्त समाचारमा यहाँ गत शनिबारको तथ्यांकमा १२ हजार ३ सय ७३ जना संक्रमित छन् । साथै यहाँका २ सय ८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । रासस/एएनआई
युएइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने
दुबइ । युएइ (दुबइ)ले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । त्यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ । त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ । यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने नियम पनि बनाएको सो समाचारमा जनाइएको छ । रासस/एएनआई
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड–१९ परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब
ओक्लाहोमा । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरे । स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन् । ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दैराष्ट्रपति ट्रम्पले भने, “हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।” उनले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गरेका थिए । उक्त अवसरमा उनले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएनन् । उनको अभियानमा सहभागी हजारौं शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन् । आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रबेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भने । “जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक सङ्क्रमित भएको भेटिनेछ, “त्यसैले मैैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौं तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ ।” ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति (२ करोड ५० लाख भन्दा बढी) को कोभिड–१९ परीक्षण भएकोले धेरै सङ्क्रमित देखिएको हो ।चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, “बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन् ।” अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६ सय ६२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा १ लाख १९ हजार ७ सय १९सङ्क्रमितको मृत्यु भएको छ । रासस/एएन्आई