अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यानमारलाई ३५ करोड डलरको आपतकालीन कोष उपलब्ध गराउने

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यानमारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ । दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ । “म्यानमारमा कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक गिरावट भएको जसका कारण आपूर्तिको श्रृङ्खला नै अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै ऋण सहयोगको व्यवस्था गरिएका हो,” अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले एक विज्ञप्तिमार्फत् जानकारी गराए । कोषले महामारीबाट प्रभावित बनेको म्यानमारको अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ । रासस

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् । उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम कानुन विपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो । स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनुभएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ । अहिलेको मुद्दामा उहाँसँगै दोषी दावी गरिएकामा जङ्ग/जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् । सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री हुनुभएको थियो । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाउने दावी गरिएको छ । सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोग्नु भएका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन जानुभएको हो । उनी उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरहनु भएको छ । शरिफकी श्रीमतीको पनि दुई बर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।  रासस

अस्ट्रेलियाको क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउने, १० अर्ब अमेरिकी डलर बचत हुने

सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा बिमान पनि संचालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अलान जोएसले कम्पनीको इतिहासमै यस वर्ष सबैभन्दा ठूलो संकटको सामना गर्नु परेको बताएका छन् । उनले कम्पनीका आधाभन्दा बढी कर्मचारी अर्थात् करिब २३ हजार कर्मचारीलाई पनि विदामा बस्न भनिएको जानकारी दिए । कोरोना महामारीका कारण क्वान्टासले आफ्ना सबैजसो अन्तर्राष्ट्रिय उडान कम्तीमा आगामी अक्टोबरसम्मका लागि रद्द गरेको जनाएको छ । कम्पनीले घरेलु उडान पनि सीमित मात्र गरिएको बताएको छ । अस्ट्रेलियाका अधिकांश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने देखिएको छ । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एकाएक कोरोनाभाइरस देखिएसँगै यसको प्रभाव सहजै अन्त्य हुन नसक्ने दृष्टान्त देखाएको छ । क्वान्टासका कार्यकारी जोएसले आगामी केही वर्षसम्म कम्पनीको राजश्वमा ठूलै कमी आउने बताउँदै आफ्नो कम्पनी केही समय सानो विमान सेवाका रुपमा खुम्चिने सम्भावना रहेको छ भने । रासस/एएफपी