इरानकाे एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु
काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् । इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो । साे विष्फाेटनमा मृत्यु हुने अधिकांश महिलाहरू रहेका छन् । विष्फोटपछि क्लिनिकमा आगो लागेर आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले जनाएकाे छ । यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो ।
भारत सरकारकाे थप राहत प्याकेज: ९० हजार करोड भारुमा ८० करोडलाई निःशुल्क रासन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरसम्म ८० कारोडभन्दा बढी मानिसलाई निःशुल्क रासन वितरण गरिने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि भारतीय सरकारले सही कदम चालेको पनि बताएका छन् । उनले सही समयमा गरेको लकडाउनको कारण लाखौं मानिसहरुको ज्यान जागिएको बताए । उनले कानुनभन्दा माथि कोही नभएकोले सबैले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मार्गनिर्देशनहरू पालना गर्न अनुरोध गरे । उनले हालसम्म जनताको राहतका लागि धेरै खर्च गरेको बताउादै अझै पनि नोभेम्बरसम्म गरिब नागरिकहरूलाई पाँच किलो गहुँ र पाँच किलो चामल पाँच महिनासम्मका वितरण गर्ने बताएका हुन् । उनले यसका लागि सरकारले ९० हजार करोड रुपैयाँ खर्च गर्ने उनको भनाई छ ।
बोइङ ७ सय ३७ म्याक्सको उडान परीक्षण शुरु
सानफ्रान्सिस्को । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७ सय ३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो । एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७ सय ३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ । संघीय प्रशासन र बोइङ कम्पनीबीच बिमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो । अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो । तर यी उडानको सफलतापछि पनि तत्कालै बिमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन । अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ । एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ । बोइङको ७ सात ३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन् । एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए । अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण बिमान दुर्घटना हुने गरेको अनुमान गरेका छन् । रासस–सिन्ह्वा