नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग रिलायन्सको नाफा १ अर्ब ४८ करोड

काठमाडौं । नेपालको अग्रणी तथा प्रतिष्ठित निर्यात उद्योग रिलायन्स स्पिनिङ मिल्सले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ कुल नाफा कमाएको जनाएको छ ।  यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ करोड ५० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा उद्योगको कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ५ हजार रुपैयाँ कुल नाफा कमाएको उल्लेख छ । कम्पनीले गत वर्ष अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो । २०५४ सालमा स्थापित रिलायन्स मिल्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको उद्योग हालसम्म कुल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्, जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् । युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता गोल्यानलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो । गोल्यान ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका अक्षयले स्पिनिङ मिल्ससहित विभिन्न कम्पनीको नेतृत्व गरिरहेका छन् ।

युवाहरू वैदेशिक रोजगारीतर्फ, बैतडीमा उद्योग दर्ता घट्यो

बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् । आर्थिक वर्ष २०७९/८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताउनुभयो । तथ्याङ्कानुसार आव २०८०/८१ मा उक्त सङ्ख्याबाट घटेर एक सय ९१ उद्योगमात्र दर्ता भएको देखिएको छ । त्यसैगरी, आव २०८१/८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आव २०७९/८० मा एक सय ६३, २०८०/८१ मा एक सय ७३ र गत २०८१ र८२ मा ६३ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताए । आव २०७९/८० मा दुई सय ५१, आव २०८०/८१ मा दुई सय चार र गत आव २०८१/८२ मा तीन सय ९३ उद्योग नवीकरण भएका उनले बताए । तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए । सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए । त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ राजस्व सङ्कलन भएको छ । रासस

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतका दरले ३ लाख ९ हजार ९३८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।