सेयर बिक्री प्रकरणमा सीडीएससीमाथि प्रश्न
काठमाडौं । साबिक मिर्मिरे लघुवित्त वित्तीय संस्था (हाल नेरूडे मिर्मिरे लघुवित्त) को वि.सं. २०७६ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट टेक बहादुर बोहरा सञ्चालकमा निर्वाचित भए । साथै सञ्चालक समितिको निर्णय अनुसार बोहरा संस्थाको अध्यक्ष बने । तर, ४ वर्षका लागि अध्यक्ष बनेका बोहरा नेपाल राष्ट्र बैंकको वि.सं. २०८० भदौ ११ गतेको पत्र बमोजिम पदमुक्त भए । राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम बोहरालाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षका लागि सञ्चालक बन्न नपाउने गरी कारबाही गर्यो । तर, राष्ट्र बैंकको सो निर्णयलाई चुनौती दिँदै बोहरा उच्च अदालत पाटन पुगे । अदालतले २०८१ जेठमा राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुनः संस्थामा सक्रिय हुने बाटो खुल्यो । यसबीचमा मिर्मिरे र नेरूडे लघुवित्त मर्ज भएर संस्था ‘नेरूडे मिर्मिरे लघुवित्त’ बनिसकेको थियो । अदालतको आदेशपछि बोहरा पुनः अध्यक्ष बन्ने प्रक्रिया अघि बढे पनि राष्ट्र बैंकसँगको असहजता र सपथ खुवाउन आनाकानी गरेपछि उनी पछि हटे । वि.सं. २०८२ जेठ ५ गते सम्पन्न १८औँ वार्षिक साधारण सभाबाट बोहरा फेरि नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालकमा निर्वाचित भए । तर, राष्ट्र बैंकको गत वैशाख २८ गतेको निर्देशन बमोजिम उनी लघुवित्तको सञ्चालकबाट पदमुक्त भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३) को खण्ड (ग) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ङ) बमोजिम उनलाई पदमुक्त गरेको हो । यसकारण पदमुक्त भए बोहरा राष्ट्र बैंकले गैरकानुनी रूपमा साबिक मिर्मिरे लघुवित्तको अध्यक्षबाट हटाइएपछि बोहरा वि.सं. २०८० भदौ १७ गतेदेखि वि.सं. २०८२ जेठ ४ गतेसम्म संस्थामा जिम्मेवारीविहीन थिए । तर, बोहराले अध्यक्ष पदबाट अलग भएको एक वर्ष नहुँदै आफ्नो नाममा रहेको सो संस्थाको सेयर दोस्रो बजारमार्फत बिक्री गरे । उनले वि.सं. २०८० पुस १६ गते लघुवित्त संस्थाको १ हजार कित्ता सेयर बिक्री गरे । साथै विभिन्न समयमा गरी बोहराले २० हजार ५०७ कित्ता सेयर बिक्री गरेका छन् । अध्यक्ष पदबाट अलग भएको एक वर्ष नहुँदै बोहराले आफ्नो नाममा रहेको सो संस्थाको सेयर दोस्रो बजारमार्फत बिक्री गरी हक हस्तान्तरण गरेको देखिएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२ को उपदफा (१) र एकीकृत निर्देशन १०-०८१ को बुँदा नं. २(ङ)(१०) विपरीत कार्य गरेको राष्ट्र बैंकको निष्कर्ष छ । सोही आधारमा वि.सं. २०८२ माघ ११ गते उनलाई स्पष्टीकरण सोधिएको थियो । बोहराले १५ बुँदे स्पष्टीकरण पेस गरे पनि चित्त नबुझेपछि राष्ट्र बैंकले उनलाई पुनः सञ्चालक पदबाट पदमुक्त गर्यो । यसपटकको पदमुक्तिको मुख्य कारण भने बोहराले सञ्चालक पदबाट अलग भएको एक वर्षभित्र आफ्नो नाममा रहेको संस्थाको सेयर बिक्री गर्नु बनेको छ । राष्ट्र बैंकको नियम अनुसार सञ्चालक वा पदाधिकारीले पदावधि सकिएको वा अवकाश लिएको एक वर्षभित्र सेयर बिक्री गर्न नपाउने व्यवस्था रहेको भन्दै नियामकले यसलाई नियम उल्लंघन मानेको हो । राष्ट्र बैंकविरुद्ध अदालत जाने बोहराले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णयविरुद्ध अदालत जाने बताएका छन् । विकासन्युजसँग कुरा गर्दै उनले आफूलाई गैरकानुनी रूपमा सञ्चालक पदबाट हटाइएपछि आफ्नो नाममा रहेको रूपान्तरण भएको साधारण सेयर बिक्री गर्न बाध्य भएको दाबी गरे । ‘मैले नयाँ सिर्जना गरेको सेयर बिक्री गरेको होइन, कन्भर्जन भएर आएको सेयर हो । करिब २० हजार कित्ता सेयर साधारण सेयरमा रूपान्तरण भएको थियो,’ उनले भने । बोहराले आफूले बिक्री गरेको सेयर रोक्का नरहेको र राष्ट्र बैंकको नियमन विपरीत कुनै काम नगरेको दाबी गरे । उनका अनुसार पदावधि सकिएको वा अवकाश लिएको अवस्थामा लाग्ने एक वर्षभित्र सेयर बिक्री गर्न नपाउने व्यवस्था आफूमा लागू नहुने जिकिर गरे । ‘न त मैले अवकाश लिएको हो, न पदावधि सकिएको हो । मलाई राष्ट्र बैंकले गैरकानुनी रूपमा हटाएको हो, जुन अदालतले समेत स्वीकार गरिसकेको अवस्था छ,’ उनले भने । उनले रोक्का रहेको सेयर भने बिक्री नगरेको स्पष्ट पारे । बोहराले आफूलाई व्यक्तिगत रिसइबीका कारण हटाइएको आरोप पनि लगाए । उनले थपे, ‘संस्था डुबेको अवस्था थिएन । यदि डुबेको भए म फेरि किन सञ्चालक बन्थेँ ? आवश्यकताका आधारमा सेयर बिक्री गरिएको हो ।’ बोहराका अनुसार आफूलाई यसअघि नै राजीनामा दिन दबाब दिइएको थियो । तर राजीनामा नदिएको र लामो समयपछि मात्रै कारबाही गरिएको उनको भनाइ छ । सीडीएससीमाथि प्रश्न बोहराको सेयर बिक्री प्रकरणले नयाँ बहस जन्माएको छ । राष्ट्र बैंकले कानुनी व्यवस्था उल्लंघन गरेको निष्कर्ष निकालेर पदमुक्त गरे पनि याे घटनाको केन्द्रमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रणालीगत कमजोरी बहसको विषय बनेको छ । 'सूचीकृत संस्थाका सञ्चालक वा पदाधिकारीले पद छोडेको एक वर्षसम्म आफ्नो तथा एकाघर परिवारको नाममा रहेको सेयर बिक्री गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था छ । त्यसैले हटाइएको अवस्थामा पनि यही व्यवस्था लागू हुन्छ,’ एक बैंकरले भने । उनका अनुसार यस्तो अवस्थामा सेयर डिम्याट खातामा देखिए पनि त्यो स्वतः बिक्रीयोग्य हुँदैन । सीडीएससीले त्यस्ता सेयरलाई ‘लक’ गरेर राख्नुपर्ने व्यवस्था हुन्छ । ‘जस्तो खातामा पैसा देखिन्छ तर चलाउन मिल्दैन, त्यस्तै लक गरिएको सेयर पनि देखिन्छ तर कारोबार गर्न मिल्दैन,’ उनले भने । उनका अनुसार सीडीएससीको प्रणालीले प्रतिबन्धित सेयरलाई कारोबारयोग्य देखाएमा त्यसको जिम्मेवारी प्रणालीमाथि नै जान्छ । ‘यो सीडीएससीको सिस्टम कमजोर भएको संकेत हो,’ उनले भने । बोहरा प्रकरणले पुँजी बजारको प्रणालीगत व्यवस्थापनमाथि प्रश्न उठाएको उनले बताए । प्रतिबन्धित सेयर प्रणालीमै कारोबारयोग्य देखिने अवस्था भए अन्य यस्ता विवाद पनि जन्मिन सक्ने उनकाे दाबी छ । बोहराको सेयर बिक्री प्रकरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का एक उच्च अधिकारीले सेयर रोक्का नभएको अवस्थामा पनि कानुनी जिम्मेवारी सम्बन्धित व्यक्तिमाथि नै रहने दाबी गरे । उनका अनुसार संस्थाका सञ्चालक वा पदाधिकारी पदबाट बाहिरिएको एक वर्षसम्म सम्बन्धित संस्थाको कुनै पनि किसिमको सेयर खरिदबिक्री गर्न नपाउने स्पष्ट व्यवस्था छ । उनले डिम्याट खातामा रहेको सेयर स्वतः रोक्का नहुने तर कम्पनीले सीडीएससीलाई जानकारी दिएपछि मात्र रोक्का हुने प्रक्रिया अघि बढ्ने बताए । सेबोनका ती अधिकारीले यस विषयमा बोहरा र सीडीएससीको भूमिकाबारे अध्ययन हुन सक्ने संकेत दिए । राष्ट्र बैंकबाट कारबाही भइसकेको सन्दर्भमा एउटै विषयमा दोहोरो कारबाहीको प्रश्न कानुनी रूपमा व्याख्या गर्नुपर्ने उनको भनाइ छ । ‘एउटै मुद्दामा दोहोरो कारबाही गर्दा के हुन्छ भन्ने विषय कानुनी रूपमा बुझ्नुपर्छ,’ उनले भने । उनका अनुसार आवश्यक परे सेबोनले अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छ र त्यसक्रममा सीडीएससीको प्रणाली तथा सम्बन्धित कारोबारको विवरणसमेत अध्ययन गरिनेछ ।
एनटीसी र बीबीसीको सेयर बिक्री योजनाले लगानीकर्तामा चिन्ता, बजारमा हलचल
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले पुँजी बजारमा नयाँ बहस जन्माएको छ । सरकारले नेपाल टेलिकम र विशाल बजार कम्पनीको थप सेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरूको ध्यान यी दुई कम्पनीतर्फ केन्द्रित भएको छ । बजेट सार्वजनिक भएलगत्तै खुलेको पहिलो कारोबार दिनमै दुवै कम्पनीको सेयर मूल्य घटेपछि सरकारको विनिवेश नीतिले बजारलाई कहाँ पु¥याउला भन्ने प्रश्न उठ्न थालेको छ । बजेटअघि लगातार ६ कारोबार दिनसम्म नेपाल टेलिकमको सेयर मूल्य उकालो लागेको थियो । प्रतिकित्ता मूल्य ९ सय रुपैयाँ पुगेको कम्पनीको सेयर बजेटपछिको पहिलो कारोबारमै ४ प्रतिशत अर्थात् ३६ रुपैयाँले घटेर ८६४ रुपैयाँमा झ¥यो । विशाल बजार कम्पनीको अवस्था पनि फरक रहेन । बजेट आउनु अघिल्लो कारोबारका दिन प्रतिकित्ता ४ हजार ८३६ रुपैयाँमा कारोबार भएको विशाल बजारको सेयर बजेटपछि एकै दिन ३२१ रुपैयाँ अर्थात् ६.६४ प्रतिशतले घटेर ४ हजार ५१५ रुपैयाँमा सीमित भयो । यसको प्रमुख कारण बजेटमा गरिएको घोषणा मानिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत स्वामित्व कायम राख्दै बाँकी हिस्सा पुस मसान्तभित्र सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेका छन् । त्यस्तै, विशाल बजार कम्पनीको सेयर पनि सर्वसाधारणमा निष्कासन गरिने बजेटमा उल्लेख छ । टेलिकमको सेयर बिक्रीबाट उठ्ने रकम नेपाललाई ‘टेक हब’ बनाउने अभियानमा खर्च गरिने सरकारको योजना छ । बजार विश्लेषकहरूका अनुसार ठूलो परिमाणमा सेयर बजारमा आउँदा आपूर्ति बढ्ने भएकाले मूल्यमा दबाब पर्नु स्वाभाविक हो । नेपाल टेलिकम र विशाल बजार दुवै उच्च बजार पुँजीकरण भएका कम्पनी हुन् । तिनको मूल्यमा हुने परिवर्तनले नेप्से परिसूचकलाई समेत प्रभाव पार्न सक्छ । एक लगानीकर्ता भन्छन्, ‘सप्लाइ बढ्दा मूल्यमा असर पर्नु सामान्य अर्थशास्त्रीय सिद्धान्त हो । टेलिकम र विशाल बजारजस्ता ठूला कम्पनीमा सेयर संरचनाको परिवर्तनले समग्र बजारको मनोविज्ञान प्रभावित पार्न सक्छ ।’ यद्यपि, सबै लगानीकर्ता नकारात्मक छैनन् । कतिपयले यसलाई नयाँ अवसरका रूपमा पनि हेरेका छन् । लगानीकर्ता देव गुरागाईंका अनुसार सरकारको यो कदम दुई फरक समूहका लगानीकर्ताका लागि दुई फरक अर्थ राख्छ । ‘अहिलेसम्म यी कम्पनीको सेयर किन्न नपाएका लगानीकर्ताका लागि यो अवसर हुन सक्छ । तर, पहिलेदेखि होल्ड गरेर बसेका लगानीकर्ताले मूल्य दबाबको असर बेहोर्नुपर्ने सम्भावना रहन्छ,’ उनले भने । उनका अनुसार नेपाल टेलिकमको सेयर सम्भवतः एफपीओ (फर्दर पब्लिक अफरिङ) मार्फत आउन सक्छ । विगतमा कम्पनीको सेयर सरकारले लिलामी प्रक्रियामार्फत बिक्री गरेको भए पनि अब धितोपत्र बोर्डको विद्यमान कानुनी ढाँचाअनुसार पारदर्शी प्रक्रिया अपनाउनुपर्ने उनको धारणा छ । सरकारले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति नगदमा रूपान्तरण गर्दै नयाँ क्षेत्रमा लगानी विस्तार गर्न खोजेको देखिन्छ । ‘हामी लगानीकर्ताले पनि निश्चित समयपछि लगानीलाई क्यास गर्छौं । सरकारले पनि त्यही रणनीति अपनाएको देखिन्छ,’ एक लगानीकर्ताले भने । उनका अनुसार नेपाल टेलिकम, विशाल बजार र राष्ट्रिय जीवन बीमा कम्पनीमार्फत सरकारले ठूलो रकम जुटाउन सक्छ । यी कम्पनीको सेयर विनिवेशबाट अर्बाैं रुपैयाँ संकलन गर्न सक्ने र उक्त रकमबाट अन्यत्र लगानी गर्न सरकारलाई सहज हुने उनले बताए । सरकारले सेयर बिक्री गर्ने घोषणा गरे पनि प्रक्रिया र मोडालिटी भने अझै स्पष्ट भएको छैन । नेपाल टेलिकमको हकमा एफपीओ, लिलामी वा रणनीतिक साझेदार भित्र्याउने विकल्प खुला देखिन्छ । विशाल बजारको हकमा भने निजीकरण समितिको निर्णयपछि मात्रै प्रक्रिया अघि बढ्नेछ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार कम्पनी सरकारको स्वामित्वमा रहेकाले यससम्बन्धी निर्णय र प्रक्रिया मन्त्रालयबाटै अगाडि बढ्नेछ । उनले विगतका सरकारले पनि टेलिकमको सेयर संरचनासम्बन्धी विषय बजेटमा समावेश गर्दै आएको उल्लेख गर्दै यसपटक मोडालिटीमा केही परिवर्तन देखिएको बताए । उनका अनुसार बजेटमा आएको व्यवस्था कम्पनीको प्रस्तावभन्दा पनि सरकारको नीतिगत निर्णयका रूपमा आएको हुन सक्छ । कम्पनीमा सरकारको करिब ९२ प्रतिशत स्वामित्व रहेकाले यस्ता विषयमा कम्पनीको औपचारिक सुझाव अनिवार्य नहुन सक्ने उनको भनाइ छ । अर्थमन्त्रीले एफपीओमार्फत सेयर निष्कासनको संकेत गरिसकेकाले सोही ढाँचामा प्रक्रिया अगाडि बढ्न सक्ने अनुमान गरिएको छ । विशाल बजार कम्पनीका प्रबन्ध सञ्चालक हिक्मत भण्डारीले सरकारले आफ्नो स्वामित्वको केही हिस्सा बिक्री गरेर निजी क्षेत्रको सहभागिता बढाउन खोजेको बताए । उनका अनुसार सरकारले ५१ प्रतिशत स्वामित्व कायम राख्दै बाँकी हिस्सा निजी क्षेत्र र सर्वसाधारणलाई उपलब्ध गराउने सोच बनाएको देखिन्छ । तर, सेयर निष्कासनको मोडालिटी भने निजीकरण समितिको निर्णयपछि मात्रै टुंगो लाग्ने उनले बताए । निजीकरण समितिको सिफारिस, मन्त्रालयको स्वीकृति र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ । भण्डारीका अनुसार सार्वजनिक संस्थामा निजी क्षेत्रको सहभागिता बढ्दा व्यवस्थापनमा प्रभावकारिता, सेवा गुणस्तर र नाफामुखी सञ्चालनमा सकारात्मक प्रभाव पर्न सक्छ । ‘व्यापारिक संस्थामा सरकारको पूर्ण नियन्त्रणभन्दा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धात्मक क्षमता र सुशासन बढाउन सहयोग पु¥याउँछ,’ उनले भने । उनले सेयर निष्कासन एफपीओमार्फत प्रिमियम मूल्यमा हुन सक्ने सम्भावना औँल्याउँदै अन्तिम मूल्य भने ड्यू डिलिजेन्स अडिट (डीडीए) पछि मात्र निर्धारण हुने बताए । आवश्यक कानुनी प्रक्रिया, साधारणसभा, मन्त्रालयीय स्वीकृति तथा नियामकीय अनुमति पूरा गर्दा कम्तीमा ६ देखि ७ महिना लाग्न सक्ने उनको अनुमान छ । साथै अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पुँजी वृद्धि गर्ने र राष्ट्रिय जीवन बीमा कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्ने घोषणा गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमालका अनुसार कम्पनीको क्यापिटल प्लान तयार भइसकेको छ र सोहीअनुसार आईपीओ जारी गर्ने तयारी भइरहेको छ । उनका अनुसार करिब ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना छ । उनले सेयर मूल्य तत्काल निर्धारण गर्न नसकिने स्पष्ट गर्दै त्यतिबेलाको भ्यालुएसनका आधारमा प्रिमियम मूल्यमा समेत निष्काशन हुन सक्ने संकेत गरे । राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार बैंकको पुँजी वृद्धि सरकारको निर्णयअनुसार अघि बढ्नेछ । उनले भने, ‘हामीले पुँजी योजना तयार गरेका छौं । सरकारको बैंक भएकाले पुँजी थप्ने निर्णय सरकारले गर्छ । अहिले कति रकम थपिन्छ भन्ने स्पष्ट भएको छैन ।’
आरोपितलाई नै छानबिनको जिम्मा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारमा चलखेल (इनसाइडर ट्रेडिङ) भएको आरोपबारे छानबिन गर्न निर्देशन दिएको छ । तर, अनुसन्धानको जिम्मेवारी आरोपित सञ्चालक समितिलाई नै दिइएपछि यो विषय विवादमा परेको छ । लघुवित्तका केही सेयरधनीहरूले संस्थाका सञ्चालकहरूले गलत सूचना सार्वजनिक गरेर सेयर मूल्यमा चलखेल गरेको भन्दै राष्ट्र बैंकमा उजुरी दिएका थिए । तर, राष्ट्र बैंकले आफैं अनुसन्धान नगरी संस्थाकै सञ्चालक समितिलाई छानबिन गर्न निर्देशन दिएपछि पीडित पक्षले नियामकको भूमिकामाथि प्रश्न उठाएका छन् । साविक मिर्मिरे लघुवित्तका सञ्चालक सञ्जय श्रेष्ठसहितका सेयरधनीहरूले साविक सगरमाथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हाल आकाशभैरव सेक्युरिटिज (ब्रोकर नं. ८१) का अध्यक्ष मनबहादुर राई, हाल नेरूडे मिर्मिरेका अध्यक्ष राजकुमार राई, टिकाराम निरौला, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)का प्रबन्ध निर्देशक राजकुमार तिमिल्सिना तथा नेरूडे मिर्मिरेका पूर्वअध्यक्ष सन्तोष फुयाललगायतले इनसाइडर ट्रेडिङ गरेको आरोप लगाउँदै राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीपछि राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले संस्थालाई पत्र पठाउँदै सञ्चालक समितिका सदस्यविरुद्ध चार पृष्ठको उजुरी प्राप्त भएको भन्दै आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका उपनिर्देशक रामेश्वर पोखरेलद्वारा हस्ताक्षरित पत्रमा उजुरीमाथि अनुसन्धान गरी प्रतिवेदन पेश गर्न भनिएको छ । राष्ट्र बैंकले वैशाख २९ गते संस्थालाई पत्र पठाएर सञ्चालक समितिबाटै अनुसन्धान गरी विवरण पेश गर्न निर्देशन दिएको हो । यस विषयमा पीडित सेयरधनीहरूले गम्भीर आपत्ति जनाएका छन् । ‘राष्ट्र बैंक आफैंले अनुसन्धान गर्नुपर्ने विषयमा आरोपित पक्षलाई नै छानबिन गर्न जिम्मा दिनु शंकास्पद छ,’ एक पीडित सेयरधनीले भने, ‘जसको बारेमा अनुसन्धान गर्नुपर्ने हो, उसैलाई छानबिन गर्न भन्नु नियामक निकायको भूमिकामाथि नै प्रश्न उठाउने विषय हो ।’ उनका अनुसार इनसाइडर ट्रेडिङजस्तो गम्भीर विषयमा राष्ट्र बैंकले तत्काल स्वतन्त्र अनुसन्धान अघि बढाउनुपर्ने थियो । ‘यदि राष्ट्र बैंक आफैंले अनुसन्धान गर्न नसक्ने हो भने सम्बन्धित अन्य निकायलाई पत्राचार गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर आरोपित व्यक्तिलाई नै अनुसन्धान गर्न लगाउनु मिलेमतो जस्तो देखिन्छ ।’ राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले सञ्चालक भानु दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ । स्रोतका अनुसार समितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेल र कम्पनी सचिव राजेश श्रेष्ठ सदस्य रहेका छन् । पीडित पक्षले समिति निष्पक्ष नहुने आशंका व्यक्त गरेका छन् । ‘छानबिन समितिका सदस्यहरू अध्यक्ष राजकुमार राई र सन्तोष फुयालनिकट मानिन्छन्,’ एक सेयरधनीले भने, ‘त्यस्तो अवस्थामा अनुसन्धान निष्पक्ष हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ यस्तै, नेपाल धितोपत्र बोर्डले पनि नेरूडे मिर्मिरे लघुवित्तविरुद्ध परेको गुनासोबारे स्पष्टीकरण माग गरेको छ । बोर्डको कानुन विभागले संस्थालाई पत्र पठाउँदै सेयरधनीको नामबाट प्राप्त गुनासोमाथि छानबिन गरी आवश्यक जानकारी र सम्बन्धित कागजात पेश गर्न निर्देशन दिएको हो । सहायक निर्देशक अशोककुमार विष्टद्वारा हस्ताक्षरित पत्रमा गुनासोसँग सम्बन्धित विषयमा के-कस्तो प्रक्रिया अघि बढाइएको हो भन्ने विवरण सात दिनभित्र बोर्डमा बुझाउन भनिएको छ । राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले इनसाइडर ट्रेडिङको विषय संस्थागत सुशासनसँग जोडिएको भन्दै यसमा राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड दुवैको चासो रहने बताए - ‘इन्साइडर ट्रेडिङको विषय संस्थागत सुशासनको हिसाबले राष्ट्र बैंकको पनि कन्सर्न रहन्छ । तर, यो विषय बढी रूपमा सेबोनको दायराभित्र पर्छ,’ उनले भने। उनका अनुसार यदि कुनै संस्थाले सुशासन विपरीत कार्य गरेको पाइएमा त्यो राष्ट्र बैंकको कारबाहीको विषय बन्न सक्छ । सम्बन्धित सामग्री : नेरूडे मिर्मिरे लघुवित्तकाे सेयरमा इन्साइडर ट्रेडिङ नेरुडे मिर्मिरेलाई राष्ट्र बैंकको अर्काे निर्देशन- साढे ८१ करोड कर्जा नोक्सानी व्यवस्थामै राख्नू नेरुडे मिर्मिरे लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्ने तयारी
नेरूडे मिर्मिरे लघुवित्तकाे सेयरमा इन्साइडर ट्रेडिङ
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको दैनिक सरदर ३००० कित्तादेखि ७००० कित्तासम्म प्रतिकित्ता ६ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म कारोबार हुन्थ्यो । यही बीचमा लघुवित्त संस्थाले वि.सं २०८१ साउन २६ गते (शनिबार) एक राष्ट्रिय दैनिक पत्रिकामा आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्यो । जसमा नाफा ४४ करोड ७० लाख रुपैयाँ र प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ रहेको लगानीकर्ताहरूलाई जानकारी गरायो । सोही विवरणका आधारमा लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वि.सं. २०८१ साउन २७ गते २ लाख ३० हजार ८२८ कित्ता, साउन २८ गते १ लाख ५७ हजार ८६८ कित्ता र साउन २९ गते ९४ हजार ५१४ कित्ता गरी तीन दिनमा कुल ४ लाख ८३ हजार २१० कित्ता सेयर कारोबार गरे । उक्त सेयर प्रतिकित्ता ९६० रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका दरले किनबेच हुँदा ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिन्छ । राम्रो प्रगति विवरण आएपछि लगानीकर्ताहरूले लघुवित्तको सेयर उच्च मूल्यमा खरिद गरे । तर, उच्च मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताहरूका लागि त्यो खुसी धेरै दिन टिक्न सकेन । केही दिनपछि लघुवित्तले प्रतिसेयर आम्दानी ४६.८६ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको भन्दै अर्को सूचना जारी गर्यो । तर, सेयर कारोबारमा चलखेल (इनसाइडर ट्रेडिङ) गर्न नियोजित रूपमा गलत विवरण सार्वजनिक गरेर लगानीकर्ताहरूलाई झुक्याउने काम गरेको साविक मिर्मिरे लघुवित्तका सञ्चालक सञ्जय श्रेष्ठको आरोप छ । एक सेयरधनीको दाबी अनुसार यसबीचमा सन्तोष फुयालले आफ्नो भाञ्जा-भाञ्जीको नाममा रहेको सेयर बिक्री गरेका छन् । यस्तै, मनबहादुर राईले आफ्नो र श्रीमतीको नाममा रहेको सेयर, सञ्जु घिमिरेले आफ्नो दिदीको नाममा रहेको सेयर तथा टिकाराम निरौला र राजकुमार राईले आफ्नो नाममा रहेको सेयर बिक्री गरेको दाबी उनकाे छ । कसरी जोडिए ब्रोकर ? नेपाल राष्ट्र बैंकमा दिएको उजुरीमा साबिक सगरमाथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हाल आकाशभैरव सेक्युरिटिज (ब्रोकर नम्बर ८१) का अध्यक्ष मनबहादुर राई, हाल नेरूडे मिर्मिरेका अध्यक्ष राजकुमार राई (तत्कालीन समयमा ब्रोकर नं. ८१ का अध्यक्ष), टिकाराम निरौला तथा भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) प्रबन्ध निर्देशक राजकुमार तिमिल्सिना र नेरूडे मिर्मिरेका सञ्चालक (पहिला अध्यक्ष) सन्तोष फुयाल विगतदेखि नै सेयर कारोबारमा सक्रिय व्यक्ति रहेको उल्लेख छ । उक्त ब्रोकर (ब्रोकर ८१ र ३४) हरूले नेरूडे मिर्मिरेको २०८१ मा भएको सञ्चालक निर्वाचनमा सन्तोष फुयाल र सञ्जु घिमिरेलाई सञ्चालक बनाउन सफल भए । यस्तै, विसं २०८२ भदौ ५ गतेको साधारण सभाबाट ब्रोकर नं. ८१ का तत्कालीन अध्यक्ष राजकुमार राई (हाल नेरूडे मिर्मिरेका अध्यक्ष) लाई सञ्चालक बनाए । तीन जना (फुयाल, घिमिरे र राई) लाई नेरूडे मिर्मिरे लघुवित्तमा सञ्चालक बनाएर आफू अनुकूल सञ्चालक समिति गठन गरे । तर, यी तीन जना सञ्चालकहरूले सेयर कारोबारबाहेक संस्थाको प्रगति तथा विकासको काम नगरेको आरोप छ । तीन जना सञ्चालक बनेपछि आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण परीक्षण गराउँदा लेखापरीक्षकलाई प्रभावमा पारेर खराब कर्जा नवीकरण गराई नाफा बढी देखाएर संस्थालाई करोडौं रुपैयाँ नोक्सानी पुर्याएको श्रेष्ठको दाबी छ । श्रेष्ठका अनुसार नाफा बढी देखाएर राज्यलाई १४ करोड ९९ लाख ३४ हजार ८२७ रुपैयाँ कर तिरेको र कर्मचारी बोनसबापत ४ करोड ४० लाख रुपैयाँ वितरण गरेर संस्थालाई कुल १९ करोड ३९ लाख ३४ हजार ८२७ रुपैयाँ हानि पुर्याइएको छ । ‘राष्ट्र बैंकको निर्देशन विपरीत सबै ऋणीको नवीकरण गरी संस्थालाई नाफामा देखाइयो । गलत रिपोर्टमार्फत लगानीकर्तालाई झुक्याइयो र अडिटसमेत प्रभावित पारियो,’ उनले भने, ‘संस्था वास्तवमा घाटामा हुँदा पनि प्रोभिजन ब्याक गरेर नाफा देखाइयो, जसका आधारमा कर र बोनस वितरण भयो । यसबाट ईपीएस बढाएर इनसाइडर कारोबार गरिएको हो ।’ साथै लघुवित्तको सेयर कारोबारमा इनसाइडर ट्रेडिङ भएको भन्दै छानबिनका लागि श्रेष्ठसहित सेयरधनीहरूले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । लघुवित्तका सञ्चालक र केही ब्रोकर कम्पनीले सेयर कारोबारमा चलखेल (इनसाइडर ट्रेडिङ) गर्न लगानीकर्तालाई झुक्याएको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६, ९८ र ९९ विपरीत कार्य (बजारमा भ्रम सिर्जना गर्ने, कृत्रिम मूल्य बढाउने, लगानीकर्तालाई झुक्याउने) को कसुर गरेको भन्दै श्रेष्ठसहित पीडित सेयरधनीहरूले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् । साथै, लघुवित्तका सञ्चालकहरूले आफ्नो फाइदाका लागि गरेको गैरकानुनी कार्य बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ विपरीतको समेत कसुर भएको उनीहरूको आरोप छ । राजकुमार तिमिल्सिनाले आफू संस्थाको सामान्य प्रमोटर सेयरधनी मात्रै रहेको बताए । उनले संस्थासँग आफ्नो कुनै प्रत्यक्ष संलग्नता वा निर्णय प्रक्रियामा भूमिका नरहेको दाबी गरे । ‘संस्थामा जमानादेखि राखेको प्रमोटर सेयर मात्रै छ । अरू केही पनि जानकारी छैन । हामीले किन इनसाइडर ट्रेडिङ गर्नु ? म त त्यो लघुवित्तको साधारण सभामा गएको पनि छैन,’ उनले भने । उनका अनुसार आफूले करिब २०-२२ हजार कित्ता सेयर मात्रै राखेका छन् र संस्थाको गतिविधिबारे विशेष जानकारी नभएको दाबी गरे । ‘बेनामे उजुरी दिएर दुःख दिने नियत मात्रै देखिन्छ,’ उनले भने । मन बहादुर राईले आफू संस्थाको साधारण सेयरधनी मात्रै रहेको र सञ्चालन वा व्यवस्थापनसँग कुनै सम्बन्ध नरहेको बताए । ‘म स्थापनाकालमा प्रबन्ध पत्र र नियमावलीमा हस्ताक्षर गर्ने संस्थापक सेयरधनी हुँ । २०६७ सालमा स्थापना भएको संस्थामा म कहिल्यै पनि सञ्चालक समिति वा अन्य कुनै जिम्मेवारीमा आबद्ध भएको छैन,’ उनले भने। उनका अनुसार राष्ट्र बैंकको व्यवस्थाअनुसार संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गर्न पाइने व्यवस्था भएकाले आफ्नो सेयर पनि सर्वसाधारणमा रूपान्तरण भएको हो । ‘संस्थापक सेयर बिक्री गर्न २ प्रतिशतभन्दा बढी भए राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । २ प्रतिशतभन्दा कम भए सञ्चालक समितिको स्वीकृति लिए पुग्छ । सर्वसाधारणमा रूपान्तरण भएको सेयर बिक्री गर्न स्वीकृति लिनुपर्दैन,’ उनले भने। उनले आफूले आवश्यकता अनुसार रूपान्तरण भएको सेयर बिक्री गरेको बताए । ‘कन्भर्ट भएको सेयर बेच्न नपाइने भन्ने व्यवस्था कतै छैन । सञ्चालक, कर्मचारी, लेखापरीक्षक वा कम्पनी सचिवले बेचेको भए फरक कुरा हुन्थ्यो । तर, पब्लिकमा रूपान्तरण भएको सेयर बिक्री गर्न रोक छैन,’ उनले भने। इनसाइडर ट्रेडिङको आरोपबारे उनले छानबिन गर्न आफू तयार रहेको बताए । सञ्चालक नियुक्तिमा भूमिका खेलेको आरोप पनि उनले अस्वीकार गरे । ‘यदि सञ्चालकहरूसँग मिलेर इनसाइडर ट्रेडिङ गरेको हो भने छानबिन गरियोस् । मैले के गरेँ, गरिँन भन्ने कुरा अनुसन्धानबाट स्पष्ट हुन्छ,’ उनले थपे, ‘छानबिन हुँदा म १०० प्रतिशत खुशी हुन्छु । त्यसबाट दूधको दूध र पानीको पानी छुटिन्छ । यदि मैले गलत गरेको प्रमाणित भयो भने ममाथि पनि कारबाही हुनुपर्छ । तर, कसैको मानमर्दन गर्ने उद्देश्यले झुट्टा आरोप लगाउनेलाई पनि कारबाही हुनुपर्छ ।’ लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेलले लघुवित्तको सेयरमा इनसाइडर ट्रेडिङ भएको विषयबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनका अनुसार यससम्बन्धी कुनै औपचारिक उजुरी पनि हालसम्म संस्थामा नपरेको र कुनै निकायबाट पत्राचार समेत नभएको उनले स्पष्ट पारे । ‘लघुवित्तको सेयरमा इन्साइडर ट्रेडिङ भएको विषय मलाई जानकारी छैन । अहिलेसम्म कुनै उजुरी पनि परेको छैन, चिठिपत्र पनि आएको छैन,’ उनले भने । राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले इनसाइडर ट्रेडिङको विषय संस्थागत सुशासनसँग जोडिएको भन्दै यसमा राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवैको चासो रहने बताए । ‘इन्साइडर ट्रेडिङको विषय संस्थागत सुशासनको हिसाबले राष्ट्र बैंकको पनि कन्सर्न रहन्छ । तर, यो विषय बढी रूपमा सेबोनको दायराभित्र पर्छ,’ उनले भने। उनका अनुसार यदि कुनै संस्थाले सुशासन विपरीत कार्य गरेको पाइएमा त्यो राष्ट्र बैंकको कारबाहीको विषय बन्न सक्छ । ‘सुशासनको हिसाबले राष्ट्र बैंकले त्यस्तो गर्न नहुने भन्ने विषयमा कारबाही गर्न सक्छ,’ उनले भने, ‘तर, इन्साइडर ट्रेडिङ भएको छ भने त्यसलाई सेबोनले हेर्ने गर्छ । इन्साइडर ट्रेडिङमा राष्ट्र बैंकभन्दा सेबोनका नियमहरू बढी आकर्षक र कडा छन् ।’
नेरुडे मिर्मिरे लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्ने तयारी
काठमाडौं । ‘संस्था क्रिटिकल अवस्थामा छ । शीघ्र सुधारात्मक कारबाही गरिसकेको छ । यसलाई छिटो भन्दा छिटो सुधार गर्नु र सुधार नहुँदासम्म कर्मचारी बढुवा, सरुवा, कर्मचारी खर्च सेवा सुविधा, सञ्चालक समितिका खर्च थप नगर्न भनेर निर्देशन दिएको छ । असारसम्मको समय दिएको छ । यदि असारसम्म सुधार भएन भने समस्याग्रस्त संस्था घोषणा गरेर राष्ट्र बैंकले टेक ओभर गर्छ,’ नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका एक सञ्चालकले भने । उनका अनुसार राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्दा १४ प्रतिशत रहेको खराब कर्जा हाल बढेर २६ प्रतिशत हाराहारी पुगिसकेको छ । राष्ट्र बैंकको निर्देशन विपरीत संस्थाको खर्च पनि थप बढेको उनको दाबी छ । ‘अब राष्ट्र बैंक समस्याग्रस्त घोषणा गर्ने चरणमा पुगिसकेको छ । त्यसपछि सञ्चालक समितिलाई बर्खास्त गरेर आफ्नो मातहतमा लिन्छ र संस्था सुधार गरेर ह्याण्डओभर गर्छ,’ उनले भने, ‘राष्ट्र बैंकले सुधार गर्नु भनेर निर्देशन दिएको भएपनि पालना भएका छैनन् । उल्टै कर्मचारी खर्च वृद्धि भएको छ । मासिक २५/३० लाख रुपैयाँ खर्च बढेको छ । यसले झन् नकारात्मक बनेको छ ।’ सञ्चालक समितिमा अध्यक्ष राजकुमार राई र सञ्चालकहरू सन्तोष फुयाल, सज्नु घिमिरे र भानुभक्त दवाडीले बहुमतको आधारमा निर्णय गर्छन् । सञ्चालक मणी कुमार अर्याल, टेक बहादुर बोहरा र सुधीर श्रेष्ठले दिएका सुझावलाई बेवास्ता गर्ने गरेका छन् । त्यसकारण सञ्चालक अर्याल, बोहरा र श्रेष्ठले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेका छन् । ‘संस्था बुझेका, लघुवित्त क्षेत्र बुझेका र लामो अनुभव भएकालाई पाखा लगाएर निर्णय हुन्छ । अब यस संस्थामा बस्नु उपयुक्त छैन भनेर एक/दुई साताभित्र राजीनामा दिएर बाहिरिने याेजनामा छाैं । यदि उहाँहरू बाहिरिएनन् भने हामीहरू त्यहाँ बस्नुको औचित्य छैन,’ ती सञ्चालकले भने । नेरूडे मिर्मिरे लघुवित्त गम्भीर वित्तीय दबाबमा पुगेपछि राष्ट्र बैंकले सुधारात्मक कारबाही अघि गरेको हो । वि.सं २०८२ फागुन ५ गते संस्थालाई पत्र पठाउँदै न्यूनतम् पुँजी कोष कायम गर्न नसकेको भन्दै विभिन्न प्रतिबन्धात्मक तथा सुधारात्मक कदम लागू गरेकाे हाे । राष्ट्र बैंकका अनुसार ‘घ’ वर्गका लघुवित्तले कुल जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत कुल पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । तर, नेरूडे मिर्मिरेले २०८२ असार मसान्तसम्म सुपरिवेक्षणीय समायोजनपछि आवश्यक न्यूनतम् भन्दा २४.८८ प्रतिशत कम अर्थात् ६.०१ प्रतिशत मात्रै पुँजी कोष कायम छ । यसलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी शीघ्र सुधारात्मक कारबाही विनियमावली, २०७४ अन्तर्गत गम्भीर अवस्था मानेर राष्ट्र बैंकले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । हाल राष्ट्र बैंकले लघुवित्तलाई पुँजी सुधार कार्यक्रमबारे सञ्चालक समितिसँग छलफल गर्न राष्ट्र बैंकमा सम्पर्क राख्नुपर्ने, पुँजी वृद्धि योजना पेश गर्नुपर्ने, नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक, नयाँ शाखा विस्तार बन्द, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापनको तलब, भत्ता र सुविधा वृद्धि नगर्न निर्देशन दिएको छ । नेरूडे मिर्मिरे लघुवित्त समस्याग्रस्त घोषणा उन्मुख अवस्थामा पुगेको दाबी गरिएको छ । संस्थाभित्रकै एक सञ्चालकका अनुसार राष्ट्र बैंकले लघुवित्तको वित्तीय अवस्था ‘क्रिटिकल’ रहेको निष्कर्षसहित कडा निगरानी र सुधारात्मक कारबाही अघि बढाइसकेको छ । नेरूडे मिर्मिरे लघुवित्तका सीईओ केशवकुमार पौडेलले संस्था समस्याग्रस्त नभई सुधारोन्मुख अवस्थामा रहेको दाबी गरे । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरे पनि संस्थाको वित्तीय अवस्था क्रमशः सुधार भइरहेको उनको भनाइ छ । ‘हामीमाथि शीघ्र सुधारात्मक कारबाही गरिएको हो, समस्याग्रस्त घोषणा गरिएको होइन,’ सीईओ पौडेलले भने, ‘चैत मसान्तसम्मको रिपोर्ट राम्रो नै आइरहेको छ । क्यापिटल एडुकेसी पनि सुधार भएर ८ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।’ उनका अनुसार गत असार मसान्तसम्म संस्थाको पुँजी कोष अनुपात ६.०१ प्रतिशतमा झरेको थियो । तर, पछिल्लो समय प्रोभिजन कभर भएपछि पुँजीमा परेको दबाब कम हुँदै गएको र अहिले अवस्था सुधार भइसकेको दाबी उनले गरे । ‘अहिले प्राविधिक रूपमा क्यापिटल एडुकेसी नपुगेको मात्रै हो । प्रोभिजन बढाएका कारण पुँजीमा दबाब परेको थियो,’ उनले भने, ‘त्यो पनि अहिले कभर भइसकेको छ ।’ सीईओ पौडेलका अनुसार संस्थाले राष्ट्र बैंकले दिएको निर्देशनअनुसार पुँजी वृद्धि योजना समेत पेश गरिसकेको छ । अब चैत मसान्तको वित्तीय विवरण सार्वजनिक भएपछि शीघ्र सुधारात्मक कारबाहीबाट फुकुवाका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिने तयारी गरिएको उनले बताए । ‘अहिलेसम्म क्यापिटल प्लान पठाइएको हो । चैतको रिपोर्ट प्रकाशन भएपछि फुकुवाका लागि निवेदन दिन्छौं,’ उनले भने, ‘हामी राष्ट्र बैंकले तोकेको व्यवस्थाभित्र छौं । असारसम्म सबै सूचक एउटा आकारमा आउँदैछन् ।’ संस्थाको निष्क्रिय कर्जा (एनपीएल) पनि क्रमशः घट्दै गएको पौडेलको भनाइ छ । ‘पहिले २६ प्रतिशत खराब कर्जा थियो । चैतमा १/२ प्रतिशत घट्ने अपेक्षा छ । असारसम्म अझ घटाउनु नै पर्नेछ,’ उनले भने । उनले संस्था समस्याग्रस्त घोषणा हुने अवस्थामा नरहेको जिकिर गरे । ‘राष्ट्र बैंकले थप अनुसन्धान गर्ला । तर, हामी योग्य अवस्थामा पुगिसकेका छौं । अहिले सुधारोन्मुख अवस्थामा छौं,’ उनले भने । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले शीघ्र सुधारात्मक कारबाही संस्थालाई तत्काल नियन्त्रणमा राखेर थप जोखिमबाट जोगाउने व्यवस्था भएको बताए । संस्थाको पुँजी पर्याप्तता राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भन्दा तल झर्न थालेपछि सक्रिय हुने उनले बताए । यदि अवस्था अझ बिग्रिँदै गयो र पुँजी पर्याप्तता ४ प्रतिशतभन्दा तल झ¥यो भने राष्ट्र बैंकले संस्थालाई प्रत्यक्ष नियन्त्रणमा लिनुपर्ने आउन सक्छ भन्ने उनको भनाइ छ । पौडेलका अनुसार शीघ्र सुधारात्मक कारबाही समयमै सचेत गराउने र संस्थालाई सुधारतर्फ लैजाने पूर्वसतर्कता हो । सुपरभिजन विभागले यस्तो अवस्थामा संस्थालाई निरन्तर निगरानी गरिरहने उनको भनाइ छ । उनले निक्षेपकर्ताको पैसा सुरक्षित राख्नु राष्ट्र बैंकको पहिलो प्राथमिकता भएकाले आवश्यक परेमा कुनै पनि कडा निर्णय लिन पछि नपर्ने स्पष्ट पारे ।
वरिष्ठ उपाध्यक्षको दौडमा वैद्य र संघाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यसमिति बनेसँगै वरिष्ठ उपाध्यक्ष को बन्छ भन्ने विषयले चर्चा पाएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अञ्जन श्रेष्ठको टिमले पकड जमाएसँगै वरिष्ठ उपाध्यक्ष पनि उनकै टिमबाट निर्वाचित हुने करिब निश्चित देखिएको छ । तर, सोही टिमभित्र पनि धेरै व्यवसायी आकांक्षी देखिएकाले यो पदप्रति चासो बढेको छ । यसअघि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूका रूपमा निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्वउपाध्यक्षहरू दिनेश श्रेष्ठ र रामचन्द्र संघाईबीच जसको क्षेत्रबाट बढी मत आउँछ, सोही व्यक्तिलाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि बढाउने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको थियो । निर्वाचन परिणामअनुसार अहिले एसोसिएट र जिल्ला-नगरबाट यस समूहले अत्यधिक मत प्राप्त गरेको छ । मत परिणाम सार्वजनिक भएसँगै संघाई र वैद्य वरिष्ठ उपाध्यक्ष बन्न नवनिर्वाचित अध्यक्ष श्रेष्ठसँग तीव्र लबिङमा लागेका छन् । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसँग सुरकृष्ण वैद्य । बुधबार निर्वाचन समितिले अन्तिम मत परिणाम घोषणा गरिरहँदा दृश्य रोचक देखियो । प्रायः हेमराज ढकाल, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र अञ्जन श्रेष्ठ नजिकै बस्ने गर्थे । तर, औपचारिक रूपमा मत परिणाम घोषणा हुँदा रामचन्द्र संघाई अध्यक्ष श्रेष्ठसँगै आत्मविश्वासका साथ बसेका देखिन्थे । यसले उनी नै आगामी वरिष्ठ उपाध्यक्ष पदका लागि अघि सर्ने संकेत देखिएकाे छ । तर, निवर्तमान जिल्ला-नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि आफू नै अबको वरिष्ठ उपाध्यक्ष पदको प्रमुख दाबेदार भएको दाबी गरे । ‘पूर्व पदाधिकारी सबैले निर्वाचन लड्न पाउने व्यवस्था छ । तीन कार्यकाल सदस्य रहेका सबैले पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिन पाउँछन् । अब अग्रजहरूले व्यवस्थापन गर्ने प्रयास गर्नुहुन्छ होला । नयाँ कार्यसमितिले पनि मिलाउन खोज्छ, तर सकेन भने प्रतिस्पर्धामा जाने हो,’ उनले भने । ‘मत परिणाम आयो, अब माहोल मेरै हो । निर्वाचनमा सबैले चासो राख्न पाउँछन् । महासंघमा म मात्रै होइन, सबैले इच्छा राख्न पाउँछन् । चुनाव हुन्छ, कसको भोट कति छ भनेर गन्नुपर्छ । मैले मेरो समर्थन देखाइसकेको छु । महासंघले वरिष्ठका लागि आवेदन दिन भन्छ, म आवेदन दिनेछु । अरू को-को आउँछन्, त्यो हेर्न बाँकी छ,’ वैद्यले थपे । निर्वाचनअघि गत चैत ९ गते अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा गरिएको थियो । स्वतः अध्यक्ष बन्ने तयारीमा रहेका श्रेष्ठले सहज रूपमा काम गर्न आफू अनुकूल टिम घोषणा गरेका थिए । जसमा वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे तथा जिल्ला-नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई अघि सारिएको थियो । तर, वरिष्ठ उपाध्यक्ष पदका लागि भने कुनै उम्मेदवार सार्वजनिक गरिएको थिएन । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसँग मञ्च सेयर गर्दै रामचन्द्र संघाई । फागुन २१ गते अर्काे समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ तथा जिल्ला-नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेको उम्मेदवारी घोषणा भइसकेको थियो । उक्त टिमको नेतृत्व हेमराज ढकालले गरेका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यसमितिबाट चयन हुने व्यवस्था छ । त्यसैले कार्यसमितिमा कसको बहुमत रहन्छ भन्ने कुरा निर्णायक हुन्छ । महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत बुधबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणामअनुसार अञ्जन श्रेष्ठ निकट समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् । यसले वरिष्ठ उपाध्यक्ष चयन प्रक्रियामा श्रेष्ठ समूहलाई स्पष्ट रूपमा बलियो बनाएको छ भने ढकाल समूहका लागि चुनौती थपिएको छ । एसोसिएटतर्फ उपाध्यक्षमा प्रवलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा भएकोमा पाण्डे समूह बहुमतसहित विजयी भएको छ । पाण्डे समूहबाट एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, इश्वरबहादुर जीसी र सुरज उप्रेती विजयी भएका छन् । एशोसिएट महिलातर्फ पनि पाण्डे समूहकै अभिज्ञा मल्ल र जना माथेमा विजयी भएका छन् भने श्रेष्ठ समूहबाट बटु लामिछाने मात्र विजयी भए । महासंघको जिल्ला-नगर उद्योग वाणिज्य समूहतर्फ उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । उनीहरू अध्यक्ष अञ्जन श्रेष्ठ समूहका हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट जिल्ला-नगर उपाध्यक्ष पदमा उमेश डालमिया र कल्पना गैरे उम्मेदवार थिए । जिल्ला-नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कातुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । जिल्ला-नगरतर्फ निर्वाचित सदस्यहरूमध्ये उज्ज्वलप्रसाद कसजु ढकाल समूहबाट हुन् भने अन्य सबै अध्यक्ष श्रेष्ठ समूहका उम्मेदवार थिए । महासंघको वस्तुगततर्फ भने मिश्रित मतपरिणाम आएको छ । उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन् । श्रेष्ठ हेमराज ढकाल समूहबाट उम्मेदवार बनेका थिए भने घिमिरे अञ्जन श्रेष्ठ समूहबाट प्रतिस्पर्धामा थिए । त्यस्तै, वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकी विजयी भएकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गरेका छन् । उनीहरूबीच आधा-आधा कार्यकाल बाँड्ने सहमति भएको छ, जसअनुसार दुई जनाले पहिलो डेढ वर्ष र बाँकी दुई जनाले पछिल्लो डेढ वर्ष कार्यकाल सम्हाल्नेछन् । निर्वाचितमध्ये अरनिको राजभण्डारी, रवीन पुरी, राजकुमार कार्की, नानीराज घिमिरे, संघर्ष विष्ट, होमप्रसाद घिमिरे र सुनिता नेहाफुकी घिमिरे समूहका हुन् भने विदुर धमला, सागर ढकाल, पशुपतिदेव पाण्डे, लीलेन्द्रप्रसाद प्रधान र भक्तबहादुर हमाल श्रेष्ठ समूहका उम्मेदवार थिए । बराबर मत ल्याउनेमध्ये रघुनन्दन मारु घिमिरे समूहका उम्मेदवार हुन् भने निराजन चलाउने, विप्लव अधिकारी र सुरज बन्जाडे श्रेष्ठ समूहबाट उम्मेदवार थिए । उनीहरूबीच आधा-आधा कार्यकाल बाँड्ने सहमति भएको छ । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले सबैलाई व्यवस्थापन गरेर वरिष्ठ उपाध्यक्ष चयन गर्ने बताएका छन् । कार्यसमिति र अग्रजहरूको आन्तरिक छलफलबाट नै सर्वसम्मत रुपमा चयन गर्ने उनको भनाइ छ ।
अर्बपतिको चुनाव, चिया र चुरोट
काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको शान्त र औपचारिक देखिने परिसर मंगलबार बिहानैदेखि एकाएक राजनीतिक-आर्थिक हलचलको केन्द्रमा परिणत भयो । सामान्यतया साहित्य, विचार र विमर्शका लागि चिनिने प्रज्ञा भवन मंगलबार भने उद्योगी-व्यवसायीहरूको भीड, चुनावी रणनीति, हातमा पर्चा समाउँदै मत माग्ने दौडधूप र स-सानो समूहमा चलिरहेका संवादले भरिएको थियो । वातावरणमा एक किसिमको ‘निर्वाचन उत्सव’ र ‘आर्थिक शक्ति सन्तुलन’ को अदृश्य तनाव सँगसँगै महसुस हुन्थ्यो । प्रवेशद्वारदेखि नै दृश्य फरक थियो । सवारी साधनको लाम, सुरक्षाकर्मीको सक्रियता र भित्र छिर्दै गर्दा देखिने उम्मेदवारका समर्थकहरूको घेरा । यी सबै दृश्यले आजको दिनलाई एउटा पृथक किसिमको उत्सवको माहोल बनाइरहेको थियो । भित्र पस्दा कसैले फोनमा रणनीति मिलाउँदै थिए, कसैले हात जोड्दै मत मागिरहेका थिए, त कसैले पुराना चिनजानलाई सम्झाउँदै आफ्नो पक्षमा उभिन आग्रह गरिरहेका थिए । यही भीडबीच नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल भने अलि फरक दृश्य प्रस्तुत गरिरहेका थिए । एशोसिएटतर्फको प्यानल सूची हातमा लिएर उनी अक्षर चिन्नै गाह्रो भएको भन्दै गुनासो गरिरहेका थिए । ‘यो त सानोतिनो अक्षरमा छ, पढ्नै गाह्रो भयो,’ उनले छेउछाउका साथीहरूलाई भनिरहेका थिए । वरिपरिका साथीहरू उनलाई ठूलो अक्षरको पम्पलेट खोजिदिन तल्लीन थिए । चेम्बरका पूर्वअध्यक्षको गरिमामय परिचय भए पनि त्यो क्षणमा उनी एक साधारण मतदाता झैं देखिन्थे । अन्ततः उनले आफ्नो मत एशोसिएटतर्फ खसाले र भीडभाडमा हराए । त्यसैबेला नजिकैको क्यान्टिनमा अर्कै दृश्य चलिरहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल चिया कप समाउँदै आफ्ना तीन वर्षे कार्यकालको समीक्षा गरिरहेका थिए । भीडको कोलाहलभन्दा अलि टाढा बसेका उनी शान्त देखिन्थे । तर, उनको बोलीमा आत्मविश्वास स्पष्ट झल्किन्थ्यो । ‘कार्यकाल सफल भयो,’ उनी भन्दै थिए, ‘अब अध्यक्ष हुनुअघि जस्तो सक्रिय थिएँ, फेरि त्यही भूमिकामा फर्किन्छु।’ सञ्चारकर्मीसँग अध्यक्ष चन्द्रप्रसाद ढकाल । उनको आवाजमा थकानभन्दा बढी सन्तुष्टि थियो । आगामी दिनमा देश-विदेश भ्रमण गर्ने, सहयोगीहरूलाई भेटेर धन्यवाद दिने र आफ्ना निजी परियोजनामा केन्द्रित हुने योजना उनले सुनाए । विशेषगरी कैलालीमा निर्माणाधीन जालपादेवी केबलकारलाई छिटो सम्पन्न गर्ने उनको प्राथमिकता रहेको उनले बताए । सार्वजनिक नेतृत्वबाट निजी उद्यमतर्फ फर्किने उनको तयारी, सायद, अर्को चरणको संकेत थियो । परिसरको अर्को कुनामा भने एक अर्बपति व्यवसायी चुनावी माहोल नियाल्दै चिया र चुरोट तानिरहेका थिए, (व्यक्तिको गोपनीयताको कारण नाम उल्लेख नगरिएको) । उनको नजर भीडमाथि घुमिरहन्थ्यो । कसले कसलाई भेट्दैछ, कुन समूह कति सक्रिय छ । सबै उनले शान्त रूपमा अवलोकन गरिरहेका थिए । यता नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं भने चिनजानका मतदातालाई बोलाएर ‘कसलाई भोट दिने ?’ भन्ने जिज्ञासामा व्यस्त देखिन्थे । चुनावी गणित केवल उम्मेदवारको मात्र होइन, पर्यवेक्षकहरूको पनि चासोको विषय बनेको थियो । निर्वाचनको अर्को पाटो अझ रोचक थियो । स्वतः अध्यक्ष बन्ने तयारीमा रहेका अञ्जन श्रेष्ठ औपचारिक ‘निश्चितता’ हुँदाहुँदै पनि लाइनमै उभिएर आफ्ना उम्मेदवारका लागि मत मागिरहेका थिए । त्यो दृश्यले शक्ति र विनम्रताको मिश्रण देखाउँथ्यो । उता वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल पनि उत्तिकै सक्रिय थिए । मतदाता भेट्दै, हात मिलाउँदै, आफ्नो पक्षमा समर्थन जुटाउँदै थिए उनी । अञ्जन श्रेष्ठ । वस्तुगत उपाध्यक्षका उम्मेदवारहरू शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठ परम्परागत पोसाकमा टोलीसहित मत माग्दै हिँडिरहेका थिए । उनीहरूको उपस्थितिले आधुनिक व्यवसाय र परम्परागत पहिचानको सन्तुलन झल्काउँथ्यो । शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठ एशोसिएटतर्फका प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठ पनि मतदातासामु हात जोड्दै, एक-एक व्यक्तिसँग संवाद गर्दै समर्थन बटुलिरहेका थिए । जहाँ व्यक्तिगत सम्बन्ध र विश्वास चुनावी अंकगणितभन्दा कम महत्वपूर्ण थिएन । ज्योत्सना श्रेष्ठ र प्रबलजंग पाण्डे । जिल्ला-नगरतर्फका उम्मेदवारहरू दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा एउटै स्थानमा उभिएर मत मागिरहेका थिए । कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ । जिल्लानगरकै उपाध्यक्षका उम्मेदवार उमेश डालमिया र कल्पना गैरेको टोली पनि सामूहिक रूपमा मतदातासँग पुगिरहेको देखिन्थ्यो । चुनावी प्रतिस्पर्धा तीव्र भए पनि धेरै ठाउँमा सहकार्य र आपसी सम्मानको झल्को प्रस्ट देखिन्थ्यो । उमेश डालमिया र कल्पना गैरे । अर्बौं रुपैयाँको कारोबार गर्ने उद्योगी-व्यवसायीहरू आज भने सामान्य मतदाताजस्तै लाइनमा उभिएका थिए । महँगा गाडीबाट ओर्लिएका उनीहरू चिया-चुरोटको साथमा चुनावी गफमा रमाइरहेका थिए । कसैले मत खसालेर बाहिरिँदै थिए, कसैले अन्तिमसम्म ‘कसलाई दिने’ भन्ने द्विविधामा छलफल गरिरहेका थिए । महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भइसकेको छ । विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि दुई प्रमुख समूह- श्रेष्ठ र ढकाल समूहबीच प्रतिस्पर्धा केन्द्रित छ । महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदका लागि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा जिल्ला-नगरतर्फ २, एशोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् । यस निर्वाचनमा एशोसिएटतर्फ १ हजार ८५२, जिल्ला-नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रियतर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता सहभागी भएका छन् । दिन ढल्दै जाँदा भीड क्रमशः पातलो हुँदै गयो । तर, दिनभरि देखिएको चहलपहलले एउटा स्पष्ट सन्देश छाड्यो । यो केवल एक संगठनको निर्वाचन मात्र होइन । यो नेपालको आर्थिक नेतृत्व कसले र कसरी सम्हाल्ने भन्ने प्रश्नसँग जोडिएको प्रक्रिया हो । कमलादीको त्यो परिसरले आज शक्ति, सम्बन्ध, प्रतिस्पर्धा र सहकार्यको जटिल तर रोचक कथा बोलेको थियो । जसको प्रभाव केवल महासंघभित्र सीमित रहने छैन, देशको आर्थिक दिशासम्म फैलिनेछ । महासंघमै आवद्ध एक व्यक्तिले समुहगत संवादमा सुस्त रुपमा भनिरहेका थिए, ‘यस पटकको चुनाव धेरै महँगो भयो, कार्यकारिणी सदस्यका लागि पनि लाखौं खर्च गर्नुपर्यो, पदाधिकारीले त करोडौं खर्च गरे ।’
पूर्वएआईजीको कमाण्ड, ४५ देशका बिरामीको उपचार
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताहरूका लागि आशयपत्र आह्वान गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँमध्ये २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ४१ हजार २०० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गोप्य शिलबन्दी आशयपत्र पेश गर्नुपर्नेछ । पेश भएका आशयपत्रहरू वैशाख २२ गते साँझ ५ बजे नेप्सेमा खोलिने कम्पनीले जनाएको छ । पूर्वएआईजीको नेतृत्वमा नर्भिक, ४५ देशका बिरामीको उपचार नर्भिक हस्पिटलको स्थापना सन् १९९३ मा उद्योगी वसन्त चौधरीले गरेका हुन् । हाल चौधरी हस्पिटलको रणनीतिक सल्लाहकारको भूमिकामा सक्रिय छन् । हस्पिटल बिजनेसमा आफूलाई स्थापित गर्न लामो समय लाग्छ । नर्भिकले पनि स्थापनाको १२ देखि १५ वर्षसम्म घाटामै सञ्चालन हुनुपर्याे । तर, चौधरीले हार मानेनन् । निरन्तर खटिरहे । नर्भिकलाई देशकै नम्बर वान हस्पिटल बनाए । ‘एउटा मध्यपहाडी गाउँको ७० वर्षीय पुरुष र ६५ वर्षीय महिला हिँड्दै जाँदा नर्भिक हस्पिटल अगाडि ठ्याक्क उभिनु भयो । श्रीमानले आफ्नो श्रीमती तिर फर्केर भन्नुभयो– कान्छी देखिस् त्यो काइलाले नर्भिक-नर्भिक भन्थ्यो नि, हो त्यही नर्भिक हो यो,’ नर्भिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय मिश्रले सुनाए । अस्पताल अगाडि पुगेका वृद्ध दम्पतीबीच भएको संवादले पनि नर्भिकको लोकप्रियता झल्काएको उनको भनाइ छ । उनका अनुसार नर्भिक स्वदेशमा मात्रै नभई ४५ देशका नागरिकलाई समेत उपचार सेवा दिइसकेको छ । ‘विदेशी मुद्रा आर्जनमा पनि राम्रो भूमिका रहन सक्छ । ४५ देशका नागरिकले सेवा लिनु भएको छ,’ उनले भने । साथै, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान र यूके जाने व्यक्तिहरूका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा पनि नर्भिकले दिँदै आएको उनले जनाए । दैनिक औसत १५० जनाको स्वास्थ्य परीक्षण हुने गरेको उनको दाबी छ । ‘नर्भिकले इमिग्रेसन हेल्थ स्क्रिनिङ गर्छ । नर्भिकका लागि रेभिन्युको लागि ठूलो स्रोत हो,’ उनले भने । संस्थागत विकासमा सञ्चालक समितिको महत्वपूर्ण भूमिका मानिन्छ । हाल नर्भिकको अध्यक्ष राजेन्द्र बहादुर सिंह रहेका छन् । उनी नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (पूर्वएआईजी) हुन् । प्रहरी सेवामा हासिल गरेको ३५ वर्षको अनुभवलाई उनले नर्भिकमा योगदान दिइरहेको सीईओ मिश्रले बताए । सञ्चालक समितिमा मेघा चौधरी समेत रहेकी छन्, जो महिला उद्यमीका रूपमा चिनिन्छन् । केही समयअघिसम्म प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेकी उनी हाल अन्य व्यावसायिक व्यस्तताका कारण सञ्चालककै भूमिकामा सीमित भएकी छन् । यसैगरी, मनिष खेमका नर्भिकमा सक्रिय सञ्चालकका रूपमा कार्यरत छन् । भुवनचन्द भट्टले नेपाल प्रहरीमा लामो सेवा अनुभवपछि नर्भिकमा प्रशासनिक प्रमुखका रूपमा करिब ८ वर्ष काम गरेका थिए र हाल सञ्चालकको भूमिकामा छन् । यस्तै, गजेन्द्र श्रेष्ठ (फार्मेसी क्षेत्र), हरिहर शर्मा (कलाकारिता क्षेत्र) र नारायण बजाज (चार्टर्ड एकाउन्टेन्सी) सञ्चालक छन् । व्यवस्थापनतर्फ अजय मिश्र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा छन् । उनीसँग २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यस्तै मेडिकल डाइरेक्टर डा. पंकज जलान छन्, उनले अमेरिकामा लामो समय क्लिनिकल अभ्यास गरी नर्भिकमा १३ वर्षदेखि सेवा दिँदै आएका छन् । डा. प्रदीप वैद्य एकेडेमिक रिसर्च डाइरेक्टरका रूपमा कार्यरत छन् । पहिलो निजी हस्पिटलको यात्रा सीईओ मिश्रका अनुसार नर्भिक हस्पिटल राजधानीको केन्द्रविन्दुमा सञ्चालित नेपालको पहिलो निजी हस्पिटल हो । सन् १९९३ मा ३० शय्या क्षमतासहित सुरु भएको नर्भिकले साढे तीन दशकदेखि स्वास्थ्य सेवा यात्रालाई निरन्तर विस्तार गर्दै आएको छ । नर्भिक सन् १९९५ मा थापाथलीस्थित आफ्नै भवनमा सरेको थियो । नर्भिकले सन् १९९८ मा भारतको एस्कट्र्स हर्ट इन्स्टिच्यूटसँग सहकार्य गरी अन्तर्राष्ट्रिय स्तरको हर्ट कमान्ड सेन्टर स्थापना गरेको थियो । सन् २००२ मा आईएसओ ९००१ः२००० प्रमाणीकरण प्राप्त गरेपछि नर्भिकको विश्वसनियता थप बढ्न पुग्यो । सन् २००४ मा अत्याधुनिक पाचन रोग केन्द्र स्थापना गरी एन्डोस्कोपी, सिग्मोइडोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गर्याे । स्वास्थ्य जनशक्ति उत्पादनमा योगदान पु¥याउने उद्देश्यले सन् २००९ मा नर्सिङ शिक्षा संस्था स्थापना गर्याे । सन् २०१४ मा लुनकरणदास चौधरी डायग्नोस्टिक सेन्टरमार्फत सीटी स्क्यान, म्यामोग्राफी र आधुनिक प्रयोगशाला सेवाहरू एउटै स्थानबाट उपलब्ध गरायो । सन् २०१५ मा मोबाइल सीसीयू सहित एम्बुलेन्स सेवा विस्तार गरेको नर्भिकले सन् २०१६ मा नेपालको पहिलो ग्यास्ट्रोइन्टेस्टाइनल इन्टेन्सिभ केयर युनिट स्थापना गर्याे । साथै सोही वर्ष विदेशी बिरामीका लागि विशेष आपतकालीन सेवा र अत्याधुनिक मोड्युलर अपरेटिङ थिएटर पनि सञ्चालनमा ल्यायो । प्रविधिमा थप उन्नति गर्दै सन् २०१७ मा १२८-स्लाइस सीटी स्क्यान र ३-टेस्ला साइलेन्ट एमआरआई जडान गरेर सेवा सुरु गर्याे । सन् २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको हस्पिटले सन् २०२५ मा फाइब्रो स्क्यान र ईबस जस्ता आधुनिक प्रविधिमार्फत सेवा दिँदै आएको छ । रेस्टुरेन्टसहितको हस्पिटल बन्दै हस्पिटलले सेवा विस्तारको महत्वाकांक्षी योजना अघि बढाउँदै नयाँ भवन निर्माण कार्यलाई तीव्रता दिएको छ । सन् २०२३ देखि सुरु गरिएको नयाँ भवन आगामी ६ महिनाभित्र २७५ बेड क्षमतासहित सञ्चालनमा ल्याउने तयारी गरेको छ । साथै, ३०० बेड क्षमताको लाइसेन्स प्राप्त गर्ने लक्ष्य समेत लिइएको छ । सीईओ मिश्रका अनुसार पुरानो भवनले सीमित सेवा क्षमता मात्र दिन सक्ने भएकाले नयाँ संरचना पूर्ण रूपमा आधुनिक स्वास्थ्य सेवाका आवश्यकताअनुसार डिजाइन गरिएको हो । नयाँ भवनमा पार्किङ समस्यालाई समेत समाधान गर्ने गरी थ्रीलेभल पार्किङ संरचना निर्माण भइरहेको उनको भनाइ छ । हाल बिरामी तथा सेवाग्राहीले भोग्दै आएको पार्किङ समस्या समाधान गर्ने लक्ष्यसहित यो पूर्वाधार विकास गरिएको हो । नयाँ भवनाम विशेष प्रकृतिका जटिल उपचार सेवामा थप विस्तार गर्ने तयारी गरेको छ । हाल सफलतापूर्वक किड्नी ट्रान्सप्लान्ट सेवा सञ्चालन गरिरहेको नर्भिकले १०० प्रतिशत सफलताको दाबी गर्दै लिभर ट्रान्सप्लान्ट र बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने योजना अघि सारेको छ । यसका लागि नयाँ भवनमा चार वटा हाइब्रिड अपरेसन थिएटर निर्माण गरिँदैछ । सीईओ मिश्रका अनुसार यी सेवा नेपालमै अपरिहार्य बन्दै गएका छन् । नयाँ अवधारणाअनुसार हस्पिटललाई केवल उपचारमा केन्द्र नभई ‘हेल्थ केयर इन होटल’ मोडलमा विकास गरिँदैछ । सोहीअनुसार सातौं तलामा विशेष स्वीट्स रुम निर्माण भइरहेको छ, जसले बिरामीलाई होटलस्तरको सुविधा सहित उपचार अनुभव दिने सीईओ मिश्रले बताए । ‘नर्भिकले केही समयअगाडिसम्म ऋण नगन्य थियो । नयाँ भवन सुरु गरेपछि केही रकम ऋण लिएको छ । नर्भिक क्षमता विस्तारमा छन् । जुन किसिमको पुर्वाधार बन्छ सोही अनुसारको सेवा पनि विस्तार हुनेछ,’ सीईओ मिश्रले सुनाए । कम्पनीले २ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ दीर्घकालीन र ६ करोड ३९ लाख रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ६२ करोड १४ लाख रुपैयाँ ऋण लिएको छ । हेल्थ कभरेज ५४ प्रतिशत मात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययनअनुसार सन् २०२३ सम्म नेपालको समग्र हेल्थ कभरेज करिब ५४ प्रतिशतमा मात्र पुगेको देखिएको छ । यसले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गर्न सके स्वास्थ्य क्षेत्रमा अझै ठूलो सम्भावना रहेको संकेत गर्ने सीईओ मिश्र बताउँछन् । उनका अनुसार पछिल्ला वर्षहरूमा काठमाडौंसहित देशका विभिन्न शहरी क्षेत्रमा निजी अस्पतालहरूको विस्तार तीव्र भएको छ । ‘पहिले काठमाडौंमा निजी अस्पताल सीमित थिए, तर अहिले बस्ती बसेका प्रायः सबै क्षेत्रमा अस्पताल पुगेका छन । यसले स्वास्थ्य क्षेत्रमा बजार र अवसर दुवै रहेको देखाउँछ,’ उनले भने । मिश्रका अनुसार बागमती प्रदेश, विशेषगरी काठमाडौं उपत्यका, देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्र बनेको छ । उनले भने, ‘काठमाडौंमा अहिले सबैभन्दा धेरै अस्पतालहरू छन्, जसले प्रतिस्पर्धा मात्र होइन, सेवा गुणस्तर सुधारको अवसर पनि बढाएको छ ।’ कस्ता बिरामीको चाप बढी छ ? नर्भिक हस्पिटल नेपालकै अग्रणी कार्डियाक सेन्टरका रूपमा स्थापित गरिएको सीईओ मिश्रले दाबी गरे । उनका अनुसार नर्भिकले नेपालमै पहिलोपटक क्याथलाब र इकोकार्डियोग्राफी सेवा सुरु गरेर कार्डियोलोजी सेवामा नयाँ युगको सुरुवात गरेको हो । त्यसैगरी, नर्भिकले केही समयअघि निजी क्षेत्रमै पहिलो पटक इरिटेबल बोवेल सिन्ड्रोम उपचार सेवा सुरु गरेको पनि उनले बताए । नयाँ प्रविधिको प्रयोग र क्लिनिकल नवप्रवर्तनमा नर्भिक सधैं अग्रणी रहँदै आएको उनको दाबी छ । सीईओ मिश्रका अनुसार नर्भिकलाई कार्डियोलोजी सेवाका लागि चिनिन्थ्यो । तर, पछिल्लो समय भने सबैभन्दा बढी बिरामीको चाप गाइनेकोलोजीमा देखिएका छन् । विशेषगरी आईभीएफ (इन-भिट्रो फर्टिलाइजेसन) सेवाको माग उच्च भएकाले कुल आम्दानीमा २५ देखि २६ प्रतिशत हिस्सा ओगटेको छ । आईभीएफको ६८ प्रतिशत सफलताको दर कायम गरेको छ, जुन विश्व औसत (करिब ४५ देखि ५० प्रतिशत) भन्दा उल्लेखनीय रूपमा उच्च मानिन्छ । ‘यसअघि पहिलो स्थानमा रहेको कार्डियोलोजी विभाग अहिले दोस्रो स्थानमा झरेको छ, जसले करिब १८ देखि १९ प्रतिशत योगदान दिइरहेको छ,’ उनले भने, ‘इमिग्रेसन हेल्थ चेकअप सेवा पनि महत्वपूर्ण क्षेत्र बनेको छ, जसले कुल आम्दानीको करिब ९ देखि १० प्रतिशत योगदान छ । अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान र यूके जाने व्यक्तिहरूको मेडिकल परीक्षणका कारण यो सेवा स्थिर रूपमा बढिरहेको छ ।’ जनशक्तिमा चुनौती जनशक्ति व्यवस्थापन नर्भिकका लागि प्रमुख चुनौतीको रूपमा रहेको छ, विशेषगरी नर्सिङ स्टाफलाई दीर्घकालीन रूपमा टिकाइराख्ने विषयमा । सीईओ अजय मिश्रका अनुसार स्वास्थ्य क्षेत्रमा जनशक्ति स्थायित्व चुनौतीपूर्ण बन्दै गएको छ, जुन विगतमा बैंकिङ क्षेत्रमा देखिएको कर्मचारी स्थानान्तरण प्रवृत्तिसँग मिल्दोजुल्दो अवस्था हो । नर्भिकको अनुभव अनुसार नर्सिङ स्टाफमध्ये ठूलो हिस्सा विदेश पलायन हुने प्रवृत्ति देखिएको छ । करिब ८८ प्रतिशत नर्सिङ स्टाफ विदेश गएको र तीमध्ये झण्डै ६७ प्रतिशत अमेरिका गएको तथ्यले यस क्षेत्रमा जनशक्ति व्यवस्थापन कति चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यस कारण अस्पतालले नियमित रूपमा नयाँ नर्सिङ जनशक्ति भर्ती गर्नुपर्ने अवस्था रहेको छ, जहाँ मासिक रूपमा करिब ३० देखि ४० जना नर्स भर्ना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । हाल नर्भिकमा करिब ८१८ जना कर्मचारी कार्यरत छन् । यी हुन् ७ प्रतिस्पर्धी हस्पिटल काठमाडौंमा स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । निजी अस्पतालहरूको विस्तारसँगै बिरामी आकर्षित गर्ने क्षमता, स्थान, सेवा विविधता र प्रविधि प्रयोगका आधारमा प्रतिस्पर्धा झन् स्पष्ट हुँदै गएको देखिन्छ । यसै सन्दर्भमा नर्भिकले आफूसँग विभिन्न ७ अस्पतालको तुलना गरेको छ । काठमाडौं मेडिसिटी हस्पिटल हाल राजधानीमा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये सबैभन्दा ठूलो मानिन्छ । करिब ७ सय शय्या क्षमताको योजना सहित निर्माण गरिएको यस अस्पतालमा हाल ३५० शय्याको लाइसेन्स क्षमता छ भने करिब १५० शय्या सञ्चालनमा छन् । ठूलो संरचना भए पनि अपेक्षित स्तरमा बिरामी आकर्षण हुन नसकेको र स्थानका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको सीईओ मिश्रले बताए । ह्याम्स हस्पिटल आकार र सेवा विस्तार दुवै हिसाबले क्रमशः सुधारतर्फ अघि बढिरहेको देखिन्छ । १०० शय्याबाट सुरु भएको अस्पताल हाल १५० शय्या क्षमतातर्फ विस्तार भइरहेको छ । सीमित संरचनाभित्र पनि सेवा गुणस्तर सुधारमा केन्द्रित रहेको यस अस्पतालले बजारमा आफ्नो उपस्थिति मजबुत बनाइरहेको सीईओ मिश्रले बताए । बीएनबी हस्पिटल तुलनात्मक रूपमा पुरानो संस्थागत इतिहास बोकेको अस्पताल हो, जसको स्थापना सन् १९९४ मा भएको हो । यो अस्पताल विशेषगरी अर्थोपेडिक र युरोलोजी सेवामा परिचित छ । हातखुट्टा भाँचियो भने एक पटक उपचारका लागि बीएनबी जाने भन्ने आम धारणा स्थापित भएजस्तै कार्डियोलोजीका लागि नर्भिकको पहिचान बनेको देखिन्छ । यद्यपि स्थान र पहुँचका दृष्टिले केही चुनौतीहरू रहेको उनको भनाइ छ । फ्रन्टलाइन हस्पिटल भने सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई लक्षित गर्दै सेवा प्रदान गर्ने संरचनामा केन्द्रित छ । यसले तुलनात्मक रूपमा कम शुल्कमा सेवा दिने भएकाले ठूलो संख्यामा बिरामी आकर्षित गरिरहेको छ । बीमा प्रणालीमा आधारित बिरामीको भीड बढ्दै गएपछि यसको सेवा प्रवाह पनि विस्तार भइरहेको देखिन्छ । ओम हस्पिटल पुरानो इतिहास बोकेको अस्पतालमध्ये एक हो, जुन सन् १९९५ मा स्थापना भएको थियो । लामो समयदेखि निरन्तर सञ्चालनमा रहे पनि ठूलो विस्तार वा तीव्र वृद्धि नभए तापनि स्थिर रूपमा सेवा दिइरहेको छ । सघन जनघनत्व भएको क्षेत्रमा अवस्थित भएकाले बिरामी प्रवाह निरन्तर रहने गरेको छ । त्यस्तै, काठमाडौं इन्टरनेशनल हस्पिटल हाल निर्माणाधीन अवस्थामा रहेको एक ठूलो स्वास्थ्य परियोजना हो । काठमाडौंको तीनकुने क्षेत्रमा निर्माण भइरहेको यस अस्पताललाई भविष्यमा नर्भिक जस्तै प्रतिस्पर्धी संरचना बन्ने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रमा नयाँ प्रवेशकर्ताले बजारमा स्थापित हुन समय लाग्ने भए पनि प्रतिस्पर्धी कम्पनीको रुपमा लिएको सीईओ मिश्रले बताए । यस्तो छ वित्तीय अवस्था २ अर्ब अधिकृत पुँजी रहेको कम्पनीको १ अर्ब २ करोड ६ लाख रुपैयाँ जारी पुँजी रहेको छ । कम्पनीको चुक्ता पुँजी ८१ करोड ६४ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीमा विभिन्न ७ जना आधारभूत सेयरधनी रहेका छन् । कम्पनीका अनुसार मेघा चौधरीको ४ लाख १४ हजार ८१२ कित्ता, वसन्त चौधरीको ४० लाख ३५ हजार ४८३ कित्ता, बीएलसी ग्लोबल होल्डिङ्गस प्रालिको २७ लाख ९४ हजार ३५८ कित्ता, मीना कुमारी अग्रवालको २ लाख ५९ हजार कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीका अनुसार परमादेवी अग्रवालको १ लाख ४० हजार कित्ता, श्रद्धा अग्रवालको १ लाख ४० हजार कित्ता र टिवडेवाला एण्ड सन्स प्रालिको १ लाख ४० हजार कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ९३ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । साथै गत वर्ष कम्पनीले २७ करोड ४० लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।