काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित २१औं अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको विकास र संस्थागत सुदृढीकरणका लागि महत्त्वाकाङ्क्षी कार्ययोजना अघि सारेका छन् ।
‘छ स्तम्भ, साठी पहल’ नाम दिइएको यो विशेष कार्यक्रमले लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको साझा आवाजलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
महासंघले आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थाहरूसँगको समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिक सम्बन्ध विस्तार लगायतका विषयलाई समेटी ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम तयार भएको जनाएको छ ।
प्रत्येक स्तम्भअन्तर्गत कार्यान्वयनयोग्य पहलहरू, समयसीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजनासमेत तयार गरिएको छ ।
१. महासंघले प्रदान गर्ने सेवा सुदृढीकरणका र सञ्जालको बिस्तार
महासंघले आफ्ना सदस्यहरूको सेवाका लागि छुट्टै जिल्ला र वस्तुगत डेस्क स्थापना गर्ने भएको छ । प्रविधिको प्रयोग बढाउन डिजिटल सदस्यता पोर्टल र मोबाइल एप सञ्चालनमा ल्याइनेछ भने व्यावसायिक विवाद समाधानका लागि मध्यस्थता प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
२. आर्थिक सुधार र सुशासन
आर्थिक क्षेत्रमा प्राज्ञिक दख्खल राख्न महासंघभित्रै सार्वजनिक नीति, अर्थतन्त्र र कानुन अनुसन्धान शाखा स्थापना गरिने कार्ययोजना छ । यसका साथै निजी क्षेत्रको मनोबल मापन गर्न ुव्यावसायिक विश्वास सर्वेक्षणु गर्ने र सरकारको दोस्रो चरणको आर्थिक सुधारमा सक्रिय सहयोग गर्ने निर्णय भएको छ ।
३. प्रतिस्पर्धात्मकता र वृद्धि
‘मेड इन नेपाल’ अभियानलाई तीव्रता दिँदै स्थानीय उत्पादनको प्रवर्द्धन गरिने जनाइएको छ । औद्योगिक क्षेत्रलाई प्रभावकारी बनाउन सरकारसँग साझेदारी गर्ने, रणनीतिक वस्तुको आयात प्रतिस्थापन गर्ने र निर्यात सहजीकरणका लागि लजिस्टिक्समा सुधार ल्याउने योजना यस स्तम्भमा समेटिएका छन् ।
४. विकास सहयोग र निजी क्षेत्र विकास
प्रवासी नेपालीको लगानीलाई सहजीकरण गर्ने र महासंघकै नेतृत्वमा ‘नेपाल लगानी तथा व्यवसाय सम्मेलन’ आयोजना गर्ने तयारी छ । जलवायु परिवर्तन र दिगो विकास लक्ष्य अनुरूप निजी क्षेत्रका कार्यक्रमहरू निर्माण गरिने समेत जनाइएको छ ।
५. श्रम, सीप र उत्पादकत्व सुधार
दक्ष जनशक्ति उत्पादनका लागि महासंघले आफ्नै पहलमा ‘स्किल एकेडेमी’ निर्माण गर्ने भएको छ । यस्तै, वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप उपयोग गर्ने, उत्पादकत्वमा आधारित ज्याला प्रणाली लागू गर्ने र श्रम विवाद समाधानका लागि मध्यस्थता केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ ।
६. निजी क्षेत्र प्रवर्द्धन र संरक्षण
व्यावसायिक हकहितका लागि ‘निजी सम्पत्ति र व्यावसायिक अधिकार बडापत्र’ ल्याइनेछ । व्यावसायिक विवादको गैर–अपराधीकरण र अग्रिम धरौटीका लागि पैरवी गर्ने कार्ययोजनामा उल्लेख छ । साथै ‘व्यावसायिक उत्पीडन निगरानी’ का लागि गोप्य गुनासो संयन्त्रसमेत बनाइनेछ ।
यो विस्तृत कार्ययोजनाले संघीय संरचना अनुसार सदस्य संस्थाहरूसँगको समन्वयलाई बलियो बनाउँदै नेपाली उद्योग–व्यवसायलाई आधुनिक र डिजिटल प्रणालीमा लैजाने अपेक्षा गरिएको छ । अञ्जन श्रेष्ठको नेतृत्वमा सुरु हुन लागेको यो ‘एक महासंघ’ को अवधारणाले समग्र अर्थतन्त्रमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।