६४.६७ अर्ब आम्दानीमा ६.७६ अर्ब नाफा, ३ कम्पनी घाटामा
काठमाडौं । पुँजी बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ कम्पनीमध्ये १७ वटाले कुल ६ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७४.१८ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा यी १७ कम्पनीले ३ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा युनिलिभर नेपालले गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । सबैभन्दा बढी नाफा वृद्धि भने सोनापुर मिनिरल्स एन्ड आयलको भएको छ । कम्पनीको नाफा ६१३.५३ प्रतिशतले बढेर ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको नाफा २८.१३ प्रतिशतले बढेर १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेपाल ल्युब आयलको नाफा २३.०२ प्रतिशतले वृद्धि भएर ५ करोड ५० लाख ४७ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको नाफा १२.१९ प्रतिशतले बढेर १ करोड ७८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको नाफा ४.३० प्रतिशतले बढेर २२ लाख १३० रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको नाफा १.०८ प्रतिशतले वृद्धि भएर ६ करोड ७५ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा युनिलिभर नेपालसहित पाँच कम्पनीको नाफा घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा १६.१३ प्रतिशतले घटेर ३९ करोड ९० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको नाफा ५९ प्रतिशतले घटेर ३ करोड ९९ लाख ९२ हजार रुपैयाँमा झरेको छ । सर्वोत्तम पेन्ट्सको नाफा ११.३१ प्रतिशतले घटेर १ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्टको नाफा १.७१ प्रतिशतले घटेर ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष घाटामा रहेका बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) भने गत वर्ष नाफामा फर्किएका छन् । अघिल्लो वर्ष ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (तराई)ले गत वर्ष ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, अघिल्लो वर्ष ४० करोड १ लाख ७० हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (बालाजु)ले गत वर्ष ८७ करोड ८३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनी भने अझै घाटामा छन् । गत आर्थिक वर्षमा घोराही सिमेन्ट इन्डस्ट्रिजले ३० करोड ८० लाख ७२ हजार रुपैयाँ, सागर डिस्टिलरीले ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ र ओम मेगाश्री फर्मास्युटिकल्सले ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेका छन् । ६४.६७ अर्बको कारोबार सार्वजनिक वित्तीय विवरणअनुसार उत्पादन तथा प्रशोधन समूहका १७ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२२ प्रतिशत अर्थात् १२ अर्ब ५२ करोड रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ७७ अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी सञ्चालन आम्दानी वृद्धि सागर डिस्टिलरीको भएको छ । कम्पनीको आम्दानी १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सोनापुर मिनिरल्स एन्ड आयलको सञ्चालन आम्दानी ६९.९९ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको आम्दानी ५१ प्रतिशतले बढेर २१ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सर्वोत्तम पेन्ट्सको सञ्चालन आम्दानी ४८.२८ प्रतिशतले वृद्धि भएर २१ करोड ३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सञ्चालन आम्दानी २८.६४ प्रतिशतले बढेर १ अर्ब ८० करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको आम्दानी २१.४९ प्रतिशतले वृद्धि भएर १७ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने नेपाल ल्युब आयलको सञ्चालन आम्दानी १७.१० प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सञ्चालन आम्दानी १५.९० प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल (तराई)को आम्दानी १५.२८ प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सर्वोत्तम सिमेन्टको आम्दानी १०.३९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५२ करोड ८५ लाख २७ हजार रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको सञ्चालन आम्दानी ७.४९ प्रतिशतले बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा अधिकांश कम्पनीको सञ्चालन आम्दानी बढेको देखिए पनि पाँच कम्पनीको आम्दानी घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको सञ्चालन आम्दानी ८५.७४ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ९६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । बोटलर्स नेपाल (बालाजु)को आम्दानी ८२.६३ प्रतिशतले घटेर १ अर्ब ८७ करोड ३७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै, शिवम् सिमेन्टको सञ्चालन आम्दानी १०.८६ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ पुगेको छ। घोराही सिमेन्ट इन्डस्ट्रिजको आम्दानी ६.३८ प्रतिशतले घटेर ४ अर्ब ७२ करोड ९९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ भने युनिलिभर नेपालको सञ्चालन आम्दानी ४.०२ प्रतिशतले घटेर ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
नेपाली ४ कम्पनी विरुद्ध अमेरिका र इटलीका कम्पनीको उजुरी
काठमाडौं । उद्योग विभागले विभिन्न उद्योग तथा कम्पनीविरुद्ध दायर भएका ट्रेडमार्कसम्बन्धी उजुरीमा ७ दिनभित्र लिखित प्रतिक्रिया पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभागका अनुसार अमेरिकास्थित म्याकडोनल्ड्स कर्पोरेसनले नवलपरासीस्थित ट्रस्ट फुड्स प्रोडक्ट्स प्रालिविरुद्ध ‘ह्याप्पी फुड’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । त्यसैगरी, म्याकडोनल्ड्स कर्पोरेसनले विराटनगरस्थित एम.आर.एफ.जी. एड्हेसिभ केमिकल एन्ड इन्डस्ट्रिजविरुद्ध ‘एमटीवाईआरई केयर’ लोगो ट्रेडमार्कसम्बन्धी दाबी विरोधको उजुरी दर्ता गरेको विभागले जनाएको छ । यस्तै, अमेरिकाको कोहलर कम्पनीले पर्सास्थित रोलेक्स सेनिटरी वेयर्स प्रालिविरुद्ध ‘आरएसडब्ल्यू कोहलर’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको छ । इटलीको डोल्से एन्ड गब्बाना ट्रेडमाक्र्स एसआरएलले रुपन्देहीस्थित अंकुर सोप इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रालिविरुद्ध ‘डीजी सोप’ ट्रेडमार्कसम्बन्धी उजुरी दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार उजुरीको प्रतिलिपिसहित सम्बन्धित उद्योग तथा कम्पनीको नाम र ठेगानामा यसअघि नै सात दिनको म्याद दिएर सूचना पठाइएको थियो । तर, हालसम्म कुनै पनि कम्पनीबाट लिखित प्रतिक्रिया प्राप्त नभएको र तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले बाटोको म्यादबाहेक सात दिनभित्र आवश्यक प्रमाणसहित कानुन शाखामा उपस्थित भई लिखित प्रतिक्रिया पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । निर्धारित अवधिभित्र प्रतिक्रिया प्राप्त नभए प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने र त्यसपछि सम्बन्धित पक्षको कुनै उजुरी वा दाबी स्वीकार नगरिने विभागले स्पष्ट पारेको छ ।
सिमेन्ट उद्योगको ३१.३६ अर्बको कारोबार, नाफा २.२६ अर्ब मात्रै
काठमाडौं । पुँजी बजारमा सूचीकृत पाँच सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब २६ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी उद्योगहरूको नाफा १५.१० प्रतिशत अर्थात् २९ करोड ७८ लाख रुपैयाँले बढेको हो । शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्रिज, सोनापुर मिनरल्स एन्ड आयल, सर्वोत्तम सिमेन्ट र पाल्पा सिमेन्टले उक्त नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी उद्योगहरूले १ अर्ब ९७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यद्यपि, गत आर्थिक वर्षमा पाँचमध्ये घोराही सिमेन्ट भने घाटामा रहेको देखिएको छ । पाँचवटै सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा ३१ अर्ब ३६ करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यी उद्योगहरूको कुल कारोबार २९ अर्ब ६ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा उद्योगहरूको आम्दानी ७.९० प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, सिमेन्ट उद्योगहरूको उत्पादन लागत (कस्ट अफ सेल्स) पनि बढेको छ । गत आर्थिक वर्षमा पाँचवटै उद्योगको कस्ट अफ सेल्स ६.१० प्रतिशतले वृद्धि भएर २३ अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो लागत २२ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको थियो । सर्वोत्तम सिमेन्टले गत वर्ष १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ । शिवम् सिमेन्टले गत वर्ष ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी घटेका कारण नाफा पनि घटेको देखिन्छ । अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २६ करोड ६० लाख ८९ हजार रुपैयाँ प्रशासनिक खर्च, ५३ करोड ११ लाख १५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८० करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २६ करोड ७१ लाख ९ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ५३ लाख ५४ हजार रुपैयाँ विक्री वितरण खर्च र ९३ करोड १६ लाख ४० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ । घोराही सिमेन्ट इण्डष्ट्रिजले गत वर्ष ३० करोड ८० लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो वर्ष कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नोक्सानी घटेको हो । अघिल्लो वर्ष ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३ करोड ५२ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ७१ करोड ४४ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ४७.७९ प्रतिशत घटेको छ भने प्रशासनिक खर्च २१.०७ प्रतिशत घटेको छ । ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.१३ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १६५.७२ रुपैयाँ रहेको छ । सोनापुर मिनिरल्स एण्ड आयलले गत वर्ष ३३ करोड ७१ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स १ अर्ब ८९ करोड रुपैयाँ थियो । अघिल्लो वर्ष ७० करोड १३ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर १ अर्ब २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.९६रुपैयाँ र प्रतिसेयर नेटवर्थ २००.८१ रुपैयाँ रहेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको खुद नाफा ५९ प्रतिशत घटेर ३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी १५.९० प्रतिशत बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ११ करोड रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ३ अर्ब १० करोड रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ८१ लाख रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर ७७ करोठ ३४ लाख रुपैयाँमा सीमित भएको छ । ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.१५ रुपैयाँ रहेको छ ।