शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक, डा. उज्ज्वल पाटनीको उपस्थितिमा सेमिनार

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा 'बिजनेस ब्लुप्रिन्ट नेपाल' आयोजना हुँदैछ । उक्त कार्यक्रममा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट मुख्य प्रायोजकका रूपमा आवद्ध भएको छ । यो सेमिनार २०८२ साल भदौ १२ गते (२०२५ अगस्ट २८), बिहीबार, काठमाडौंको होटल मेरियट, नक्सालमा बिहान १०:३० बजेदेखि अपराह्न ५:०० बजे सम्म हुनेछ । शिवम् सिमेन्टले आफ्नो नवीन, इनोभेटिभ कार्यक्रमहरू, सन्देशमूलक अभियान र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान कायम गर्दै आएको छ । यसैक्रममा, यस मेगा बिजनेस सेमिनारमार्फत विश्वस्तरका मोटिभेसनल स्पिकरसँग सहकार्य गरी सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको कम्पनीका प्रतिनिधिले बताएका छन् । डा. उज्ज्वल पाटनीसँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र प्रतिष्ठित सम्मानहरू छन् । उनको डिजिटल शो 'दि उज्ज्वल पाटनी शो' हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशमा हेर्दै आएका छन् । उनले सञ्चालन गरेका प्रशिक्षण कार्यक्रममार्फत १० हजारभन्दा बढी व्यवसायीहरूले जीवन र व्यवसायमा रूपान्तरण पाएका छन् । साथै, उनका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशमा १० लाखभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन् ।

महिलाले सञ्चालन गरेका उद्योगलाई कर छुट दिएका छौं : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको बताएका छन् । सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा आयोजित २२औँ सिर्जनशील उद्यमी मेलाको शुभारम्भ गर्दै मन्त्रालयले स्टार्टअप र रचनात्मक उद्यमशील परियोजना अन्तर्गत २५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम समावेश गरेको उनले उल्लेख गरे ।  रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषय सरकारको प्राथमिकतामा राखेको बताउँदै मन्त्री भण्डारीले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिइने जानकारी दिए ।  मन्त्री भण्डारीले स्वदेशी ज्ञान, सीप, श्रम र अनुभवले सृजना गरेका वस्तुले आन्तरिक बजारको केही प्रतिशत माग पूरा गर्दा पनि त्यसले आयात प्रतिस्थापनमा ठूलो योगदान गर्ने बताए ।  देशको साना, लघु र घरेलु उद्योगले रोजगारी सृजना गर्ने बताउँदै मन्त्री भण्डारीले त्यस्तो स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्न सकेमा त्यसले पुँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने र आर्थिक तथा सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । हस्तकला तथा घरेलु उद्योगबाट हुने उत्पादनले रोजगारी सृजना गर्नका साथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने बताउँदै उनले महिलालाई उद्यमशीलता तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष मिलु थापाले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न सकिने बताउँदै महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्नुपर्नेमा जोड दिए । मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा आयोजित सो मेला आइतबारसम्म चल्ने छ । इभेन्ट संसारको समन्वयमा सुरु भएको मेलामा घरेलु तथा हस्तकला सामग्री, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो ।

गोल्यान ग्रुपको ६५ वर्ष पूरा : २५ भन्दा बढी व्यवसाय, १० हजार रोजगारी

काठमाडौं । नेपालको एक प्रमुख व्यवसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ । यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक जीवनका कथाहरूलाई उजागर गरिएको छ ।  ‘विकासका लागि गोल्यान’ शीर्षक अन्तर्गत बनेको यो फिल्मले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा गोल्यान ग्रुपले गरेको लगानीले कसरी व्यक्ति, समुदाय र राष्ट्रका लागि वास्तविक अवसरहरू सिर्जना गरेको छ भन्ने कुरालाई देखाएको छ । सन् १९६० मा स्थापित गोल्यान ग्रुप नेपालको एक प्रमुख व्यापारिक समूह हो, जसले देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ । ६ हजारभन्दा बढी कर्मचारी र चार सय मिलियन अमेरिकी डलरभन्दा बढीको वार्षिक आम्दानीका साथ यस समूहको उत्पादन, कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति छ । गोल्यान ग्रुपले आफूहरूको जग नेपालभित्रै मूल्य सिर्जना गर्ने सिद्धान्तमा आधारित छ भन्दै रोजगारी सिर्जना गर्ने, पूर्वाधार निर्माण गर्ने र स्थानीय उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने कुरा यसअन्तर्गत पर्ने बताएको छ ।  यो ब्राण्ड फिल्मले सोही प्रतिबद्धतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको समूहको भनाइ छ । ‘कम्पनीको दृष्टिकोणबाट नभई ती मानिसहरूको आँखाबाट जसको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याएको छ,’ समूहको भनाइ छ, ‘सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथालाई यस फिल्मले समेटेको छ ।’ जब विकासले सबैलाई समेट्छ, तब मात्र त्यसको वास्तविक महत्त्व हुन्छ भन्ने कुरा यस ब्राण्ड फिल्मले देखाउँछ ।  गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्, ‘यो फिल्म हामीबारे होइन । यो ती मानिसहरूबारे हो जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ, जसरी हामीले उनीहरूको जीवनमा योगदान पुर्‍याएका छौं। यो साझा प्रगतिको कथा हो- ती मानिसहरू, समुदायहरू र हाम्रो देशको, जसको हामी गर्विलो हिस्सा हौं ।’ भिडियोमा रहेको सन्देशले गोल्यान ग्रुपको दीर्घकालीन दर्शनलाई प्रतिबिम्बित गर्छ । विगत ६५ वर्षदेखि, यस समूहले नाफाभन्दा माथि उठेर मानिसहरूलाई सशक्त बनाउने, जीविकोपार्जनमा सुधार गर्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ आफूहरूले उद्यमहरू खडा गर्दै आएको बताएको छ । गोल्यान ग्रुप साँचो अर्थमा महत्त्वपूर्ण हुने विकासप्रति प्रतिबद्ध छ भन्दै समूहले ‘विकासका लागि गोल्यान’ हो भनेको छ । गोल्यान ग्रुप र यसको नेतृत्वले धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि सरकारद्वारा २०२५ र २०२० मा ‘व्यापारिक रूपमा महत्त्वपूर्ण व्यक्ति’ (सीआईपी) को उपाधि पनि समावेश छ ।  यस समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) लगायत अन्य धेरै सम्मानहरू पनि प्राप्त गरेको छ । यी सबै सम्मानले जिम्मेवार र समावेशी विकासका माध्यमबाट आर्थिक प्रगतिमा गोल्यान ग्रुपको निरन्तर भूमिकालाई दर्शाउँछ।