सुदूरपश्चिममा लगानी गर्न मुख्यमन्त्रीको आग्रह, उद्योगका लागि जग्गासहित पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानी तथा विकास सम्मेलनलाई सफल बनाउन केन्द्रित छलफल भएको छ । सोमबार परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन, कानुनी तथा नीतिगत सुधार गर्न र लगानीको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्योग स्थापना गर्न चाहने तर जग्गा खरिद गर्न नसक्ने लगानीकर्ताका लागि प्रदेश सरकारले आवश्यक जग्गासहित बाटो, बिजुली, पानीलगायतका पूर्वाधार उपलब्ध गराउने आश्वासन दिए । उनले भने, 'उद्योगका लागि जग्गा कति चाहिन्छ भन्नुहोस्, प्रदेश सरकारले दिने ग्यारेन्टी गर्छ । बाटो, पानी, बिजुली हामी पुर्याइदिन्छौं, लगानी तपाईँहरूले गर्नुहोस् ।' शाहले लगानीमैत्री नियम, कानुन निर्माणका लागि संघीय सरकारसँगै प्रदेश सरकार र सबै राजनीतिक दल एकताबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट सन्देश दिए । सो अवसरमा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेशले आयोजना गर्न लागेको सम्मेलनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको र लगानीमैत्री वातावरण भएमा प्रदेशमा पर्याप्त लगानी भित्रिने विश्वास व्यक्त गरे । परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिदमा देखिने अवरोध हटाइ प्रदेश सरकारले सहज र छिटो प्रक्रिया अवलम्बन गरेमा लगानी भित्रिने बताए । उनले कुनै पनि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । यस्तै, परिसंघका उपाध्यक्ष राजबहादुर शाहले लगानीसम्मेलन सफल बनाउन आवश्यक समन्वयमा परिसंघ तयार रहेको बताउँदै, लगानी बाहेकका अन्य प्रक्रिया, कानुनी तथा नीतिगत सहजता प्रदेश सरकारले सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वर भूमि रहेको समेत उल्लेख गरे । छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, पूर्व मन्त्रीहरू, सांसद, प्रमुख सचिवलगायतका उच्च अधिकारीहरू सहभागी भएका थिए। त्यस्तै, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, राष्ट्रिय परिषद् सदस्यहरू, उद्योगी–व्यवसायी तथा महानिर्देशक डा. घनश्याम ओझालगायत पनि सहभागी थिए ।
नेचुरल स्प्रिट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको थियो। २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्यूट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ ।
कतार चेम्बरका अध्यक्षसँग ढकालले भने- नेपालमा लगानीको अवसर छ, मिलेर काम गरौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायीक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । नेपाल-कतार संयुक्त व्यवसाय परिषद् दुवै देशबीच व्यापार तथा लगानी प्रबर्द्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा उनले जोड दिए । नेपाल-कतार संयुक्त व्यापार परिषद् स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । ‘नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि-आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु,’ उनले भने । ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रुपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे । उनले एआई-आधारित व्यवसायीक सुविधा उपकरण, ब्लकचेन-आधारित व्यापार कागजी करण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे । ‘उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधि-मैत्री संस्था बनाउन अमूल्य सहयोग पुर्याउनेछ,’ उनले भने । भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । नेपालसँग आर्थिक तथा व्यवसायीक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यस प्रकार भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए । यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायीक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् । दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष ‘कतार केन्द्रित लगानी सत्र’ आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए । ‘लगानी, नवप्रवर्तन र सहकार्यमार्फत नेपाल कतार साझेदारीलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ । नेपाली उत्पादन चिया, कफी, अलैंची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता नेपाली कृषि उत्पादनहरूलाई कतारको बजारमा पहुँच बढाउन ठूलो सम्भावना रहेको छ,’ उनले भने । ढकालले यी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न प्रमाणीकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङ पहलमा सहकार्य गर्न प्रस्ताव गरे । भेटका अवसरमा चेम्बरका अध्यक्ष थानी सहित कतार चेम्बरका उच्च पदाधिकारी, व्यापारीहरू सहभागी थिए ।