काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनपछि स्वतः अध्यक्षमा चयन भएका श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका हुन् ।
पदबहालीपछि उनले निजी क्षेत्रको हकहित संरक्षण र अर्थतन्त्र चलायमान बनाउन महासंघले सक्रिय भूमिका खेल्ने बताए ।
उनले उद्योगी–व्यवसायीको आत्मविश्वास बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रेष्ठले मुलुकको आर्थिक गतिविधि सुस्त बनेको अवस्थामा निजी क्षेत्रलाई उत्साहित बनाउने नीति आवश्यक रहेको उल्लेख गर्दै उत्पादन, रोजगारी र निर्यात प्रवर्द्धनमा महासंघले प्राथमिकता दिने बताए ।
उनले महासंघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।