काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा साढे १८ लाखदेखि करिब ३ करोड रुपैयाँसम्मका विलासी तथा सर्वसाधारणका लागि उपयुक्त गाडीहरू प्रदर्शनमा राखिएका छन् । आज हामीले एक्स्पोमा राखिएका सबैभन्दा सस्ता कारको बारेमा चर्चा गर्दैछौं । सीमित बजेटमा आकर्षक, आधुनिक र किफायती गाडी खोज्ने अवलोकनकर्ताका लागि एक्स्पोमा रहेका यी हुन् प्रमुख ७ सस्ता कारहरू ।
१. भोल्ट्स
नाइमा एक्स्पोमा सबैभन्दा सस्तो गाडीका रूपमा भोल्ट्स रहेको छ । नेपालमा हेनरी भोल्ट्स ब्रान्डका विद्युतीय गाडी तथा सवारीसाधनहरूको आधिकारिक बिक्रेता एस क्युव इन्टरप्राइजेजले यसको मूल्य १८ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

३५ किलोवाट इलेक्ट्रिक मोटरका साथमा यो गाडी १७ किलोवाट ब्याट्री प्याकमा उपलब्ध छ । एक्स्पोमा राखिएका गाडीहरूमध्ये पनि सबैभन्दा सस्तो गाडी हो । खासगरी सिटी ड्राइभका लागि उपयुक्त मानिएको भोल्ट्सको अधिकतम रेन्ज २०० किलोमिटर रहेको छ ।
२.विलिङ मिनी ईभी
चिनियाँ अटोमोबाइल ब्रान्ड विलिङको मिनी ईभी पनि सस्तो मूल्यमा एक्स्पोमा राखिएको छ । विलिङका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले मिनी ईभी १९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि, विलिङ मिनी ईभीको लङ रेन्ज भेरियन्टको मूल्य भने २१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘होङगुआङ’ को पाँचौं जेनेरेसन मोडल नेपालमा भने विलिङ मिनी ईभीको रूपमा आएको हो । कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ, जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । मिनी ईभीमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः २०५ र ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
३. होनरी बोमा
चिनियाँ ब्रान्ड होनरी अटोमोबाइल अन्तर्गतको सबब्राण्ड भीअटो नेपाल भित्रिएको छ । नाइमा एक्स्पोमा नेपालमा होनरी बोमा ईभी गाडीको आधिकारिक बिक्रेता जेननेक्स्ट मोटर्सले एप्पल, एचपी, डाइसन, डेललगायत ब्राण्डका गाडीहरू बिक्री गर्दै आएको छ । कम्पनीले यसको सुरुआती मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
कम्पनीका अनुसार भीअटो होनरी बोमा ईभी आधुनिक, स्मार्ट तथा सहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको विशेष इलेक्ट्रिक मिनी कार हो । आधुनिक प्रविधि, उत्कृष्ट सुविधा र आकर्षक मूल्यको संयोजनले यो ईभी ग्राहकलाई उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ ।

३५ किलोवाटको इलेक्ट्रिक मोटर रहेको होनरी बोमा ईभीमा २९.९ किलोवाट आवरको ब्याट्री छ, जसले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
४. टाटा टियागो
टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा फेसलिफ्ट नयाँ टाटा टियागो ईभी लन्च गरेको छ । नाइमा एक्स्पोमा कम्पनीले पुरानो टियागोको फेसलिफ्ट भर्जन लन्च गरेको हो । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो दुई भेरियन्टमा उपलब्ध रहेको छ । जसमा टियागो ईभीको टप भेरिन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसमा ५५ किलोवाट मोटर क्षमतामा उपलब्ध छ । फेसिलेफ्ट टियागोमा २४ किलोवाटको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । सुरक्षाका लागि गाडीमा डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता फिचर छन् ।
५. एट्टो १
नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा एक्स्पोमा नयाँ जेनेरेसन एट्टो सिरिज राखेको छ । जसमा कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ प्रदर्शनमा राखेको हो । नयाँ पुस्ताका यी विद्युतीय गाडीमा प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ ।
नयाँ एट्टो सिरिजमार्फत विभिन्न मूल्य र सेग्मेन्टका ग्राहकलाई लक्षित गरिएको छ । नयाँ एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ ।
एट्टो १ प्रिमियममा अटो-फोल्ड ओआरभीएमसमेत थप गरिएको छ । एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । यो अरु मोडलभन्दा सस्तो छ ।
६. लीपमोटर टी ०३
नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले इन्ट्री लेभल ह्याचब्याक टी ०३ नाइमा एक्स्पोमा राखेको छ । यसमा ५० किलोवाटको मोटर रहेको छ । कम्पनीले यसअघि ७० किलोवाटको मोटर भएको टी ०३ बिक्री गर्दै आएको थियो । कम्पनीले नयाँ टी ०३ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो रेगुलर टी ०३ कोभन्दा २ लाख रुपैयाँ सस्तो हो ।
७० किलोवाट आवर मोटर भएको टी ०३ को मूल्य ३४ लाख रुपैयाँ रहेको छ । सानो मोटरमा आए पनि टी ०३ को ब्याट्री साइज भने पहिलाको जति नै छ । यसमा ३७.३ किलोवाट आवरको ब्याट्री छ ।
जसले एकपटकको फुलचार्जमा ४०३ किलोमिटर सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यसको लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम छ । यसमा २४०० एमएमको ह्वीलबेस पाउन सकिन्छ । यसमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

यसको क्याबिनमा ८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको सेन्टर कन्सोल छ । सुरक्षाका लागि यसमा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट डिटेक्स्न, लेन किपिङ एसिस्ट लगायत सुविधा भएको लेभल टु एडास उपलब्ध छ ।
लिप मोटर टी ०३ लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्द । कम्पनीले नाइमा अफर अन्तर्गतद लीपमोटर टी ०३ किन्ने गहकलाई १ वर्षको बीमा र सडक कर निःशुल्क दिएको छ ।
७. टाटा पन्च
सिप्रदी ट्रेडिङ प्रालिले अर्को मोडल अर्थात् नयाँ ‘पञ्च ईभी’ नाइमा एक्स्पोमा राखेको छ । नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।