
काठमाडौं । अब डिजिटल भुक्तानी प्रणाली (क्यूआर कोर्ड) मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने भएको छ । निगमले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा क्यूआर स्क्यान प्रणाली आजदेखि सुरु गरेको हो ।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा उक्त सेवाको सुभारम्भ गरेका हुन् ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने कुरा बताएका थिए ।
उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाँऊ गाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने बताए ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाईएको बताएका थिए ।