अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन बाइडबडी चीन जाने

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ । चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्न लागेको ४०० थान अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन वाइडबडी सोमबार बेइजिङ जान लागेको हो । निगम स्रोतका अनुसार बैशाख २७ गते सोमबार राती साढे ११ बजे एयरबस ३३० (वाइडबडी जहाज) चीनको बेइजिङ जानेछ । चीन सरकारले सहयोग स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेर लिएर मगंलबार काठमाडौं आइपुग्नेछ । उक्त कार्गाे उडानमा निगमका १० जनाभन्दा बढी चालक दलका सदस्य रहेनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा बेइजिङमा कार्गाे उडानको तयारी भएको हो । यसअघिको बन्दाबन्दीमा निगमको जहाजले चीन लगायतका देशबाट कार्गो उडान मार्फत स्वास्थ्य सामग्री ल्याईसकेको छ । निगमले कार्गो उडानका लागि आवश्यक जहाज नहुँदा वाइडबडी जहाजलाई नै कार्गो उडान बनाईदै आएको छ । यसअघि ओम्नी ग्रुपको स्वास्थ्य सामग्री ल्याएको निगमले अझै उडान भाडा पाएको छैन । अहिले स्वास्थ्य मन्त्रालयको आग्रहमा उडान गर्न लागिएको भन्दै उडान भाडा सरकारले व्यर्हाेने निगमको कर्पाेरेशन विभागले जनाएको छ ।

कोरोनाको महामारीबीचमै शुरू भयो सगरमाथा आरोहण, रोप फिक्सिङको समूह चुचुरोमा

काठमाडौं । कोरोना महामारीको बीचमै सगरमाथा आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १२ जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । आरोहणको मुख्यपाटो रोप फिक्सिङ अर्थात डोरि टाङ्ने काम सकिएको छ । कृतिमानी आरोहि कामी रिता शेर्पाको नेतृत्वमा गएको १२ जनाको समूहले आज ६ बजे डोरी टागेको हो । समूहमा कामी रिता शेर्पा, फुर्टेन्जी सेर्पा, लाक्पा नर्बु शेर्पा, निग्मा ताशी शेर्पा, मिग्मा तेञ्जी शेर्पा, फुरा छेरिङ् शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्यालजेन शेर्पा, फुर्वा  छाेतर शेर्पा, मिग्मा दाेर्ची शेर्पा र फुर्वा कुसंग शेर्पा  रहेका छन् । यससँगै अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । पर्यटन विभागले यस सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । जसमा ३ सय १५ पुरुष र ९२ जना महिला रहेका छन् । यस सिजनको हिमाल आरोहणका लागि विभागले सगरमाथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिइसकेको छ । यसअघि यस सिजनको पहिलो हिमालको रुपमा अन्नूर्ण हिमालको आरोहण सफल भइसकेको छ भने दोस्रो हिमालको रुपमा सगरमाथा आरोहण सुरु भएको हो ।

हुम्लामा हवाई उडान पुनःशुरु

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो । जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो । गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो । एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ । निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पिपिसेट लगाउनुपर्ने बताइएको छ । सीताका तीन उडान निषेधाज्ञा जारीपछि डिसिसिएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान भरेको छ । जिल्लामा खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री ल्याउन उडान अनुमति दिइएसँगै सीता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्य तथा व्यापार कम्पनीको चामल ल्याएर उडान भरेको एयर हुम्लाका स्टेशन इञ्चार्ज छेपाल लामाले जानकारी दिए ।