निगमले सञ्जय कोष र सिआईटीलाई तिर्यो एक अर्ब ३५ करोड

काठमाडौं । नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स) कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषको बक्यौता रकम भुक्तानी गरेको छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी गर्न नसकेको निगमले असार ३० गते दुई कोषलाई १ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी गरेको हो । २०७६ साल पुसको किस्ता भुक्तानी गरेपछि निगमले दुबै कोषलाई रकम भुक्तानी गर्न सकेको थिएन । करिब तीन वर्षपछि निगमले कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरेको हो । यस्तै, नागरिक लगानी कोषलाई बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन । उनका अनुसार कोभिडका कारण निगमको आम्दानी खुम्चिदा बक्यौता रकम भुक्तानीमा समस्या भएको थियो । विस्तारै अवस्था सहज हुँदै गएपछि बक्यौता रकम भुक्तानी गर्न सुरु गरिएको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण मात्रै ३७ अर्ब ५८ करोड रुपैयाँ थियोे । तर समयमा किस्ता रकम भुक्तानी गर्न नसक्दा निगमको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्रै करीब ५० अर्ब पुगेको छ। ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण लगानी गरेका थिए । निगमले दुई थान वाइडबडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

काठमाडौं ।पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले गुरुयोजनाको मस्यौदा तयार पारेको हो । मन्त्रालयले २०७७ कात्तिक २० गते गठन गरेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई मस्यौदा हस्तान्तरण गरेको छ । मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरे । पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा। सुदर्शनराज तिवारी, संरचनाविद् प्रा। प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाइ जे, संरक्षणविद् भीम नेपाल, स्थानीयवासिन्दा आशाराम संगत रहेको गुरुयोजना तयारी प्राविधिक समिति गठन गरिएको थियो गुरुयोजनामा १५ वर्षको समयसीमा रहेको छ भने कार्यान्वयनका चार चरण तोकिएको छ । पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दू तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधनाभूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाले राखेको छ । आठवटा परिच्छेदमा रहेको गुरुयोजनामा पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापनको वर्तमान अवस्था र चुनौति, गुरुयोजनाको सोंच, लक्ष्य, उद्धेश्य र रणनीति तथा पशुपति क्षेत्रको क्षेत्रगत विभाजन, प्रस्तावित कार्यक्रम, आर्थिक स्रोत साधन तथा गुरुयोजना कार्यन्वयनको अनुगमन तथा मूल्यांकन समावेश गरिएको छ । धर्मको रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको छ । गुरुयोजना पुर्वाधार निर्माणमा नभई संरक्षणमा आधारित रहेको संयोजक अधिकारीले बताए । पशुपति क्षेत्रको विशिष्टता र संवेदनशीलतालाई ध्यान दिएर यस क्षेत्रको संरक्षण गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको उनको भनाइ छ । गुरुयोजनामा सम्पदा संरक्षणका लागि कार्यविधि, सम्पदा स्थल तथा भूतत्त्वको संरक्षण, सांस्कृतिक कला वस्तुको संरक्षणका साथै अमूर्त सम्पदालाई जोगाउन कार्यविधि बनाइएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिइएको अधिकारीले बताए ।

अन्नपूर्ण केबलकारमा भदौ ३१ गतेसम्म २० प्रतिशत छुट

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात साउन ६ गते देखि संचालनमा आउने भएको छ । केबुलकारले आफ्ना नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गते सम्म २० प्रतिशत छुट दिने भएको छ । पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिन्छ । यसका साथै, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चौतर्फी आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ । यस्तै, केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । केबलकार बिहान ९ बजे देखि सांझ ६ बजेसम्म नियमित रुपमा संचालन हुने कम्पनीले जनाएको छ ।