नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?
काठमाडौं । नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन । हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राखेको छ । नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको विज्ञको धारणा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धीसागर लामिछानेले नेपालको हवाई सुरक्षा दर विश्वस्तरको भएकाले अब पनि उडान सुरक्षासूचीमा राखिरहनुको तुक नभएको बताउँछन् । उनले भने, ‘हाम्रो विश्लेषणमा इयुले उडान सुरक्षा सूचीमा राख्नुपर्ने कुनै तर्क भेटेका छैनौँ, उडान सुरक्षा सुधारमा हामीले गर्नुपर्ने काम गरेका छौँ र गरिहन्छौँ, त्यसकारण इयुले सुरक्षा सूचिमा राखिरहनुपर्ने आवश्यकता देखिँदैन ।’ मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुखसमेत रहेका सहसचिव लामिछानेले नेपालको उडान सुरक्षा दर विश्वको औसतभन्दा माथि रहेकाले इयुको उडान सुरक्षा सूचीबाट नेपाल चाँडै हट्ने विश्वास व्यक्त गरे । नेपालले हवाई सुरक्षामा गरेको प्रगतिलाई लिएर इयुसँग प्रतिबन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको हालैको अडिटले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ । उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७०.१ प्रतिशत अङ्क प्राप्त गरेको छ । जुन एशिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ । इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकामा सन् २०१७ जुलाईबाट हटाएको थियो । ‘इयुले किन सुरक्षा सूचीमा राख्यो यसको कुनै लजिक छैन, यो प्राविधिक विषय हो, खाली प्राविधिक पक्षमा प्रश्न र सुझाव दिनसक्छ, दुई वटा बनाउँ यो नबनाई असुरक्षित छ भन्ने कुनै तुक छैन, दुई संरचना बनाउने नबनाउने भन्ने कुरो मुलुकको आवश्यकताअनुसार हुन्छ, राज्यले चाहेमा दुई वा तीन वटा संरचना बनाउन सक्छ, यसमा हामी आत्तिनुपर्ने केही छैन, ढिलोचाँडो इयुले यसलाई हटाउनेछ’, मन्त्रालयका एक उच्च अधिकारीले भने । युरोपेली आयोगले वर्षमा दुई पटक हवाई सुरक्षामा कमजोरी औँल्याउँदै त्यस्ता मुलुकलाई उडान सुरक्षा सूचीमा राख्ने गरेको छ । उक्त आयोगको बैठक वर्षमा दुई पटक बस्छ । आयोगको टेक्निकल कमिटीको सुझावमा पोलिटिकल कमिटीले डिसिजन गर्ने बताइन्छ । त्यस्तै सरकारले इयुको उडान प्रतिबन्ध फुकुवाका लागि बारम्बार पहल गरिरहेको छ । पर्यटन मन्त्रालयले आइकाओलगायतका अन्तर्राष्ट्रिय फोरम तथा नेपालस्थित युरोपियनलगायत मुलुकका राजदूतसँगको भेटमा उक्त विषयमा छलफल हुने गरेको छ । मन्त्रालयका सहसचिव लामिछानेले अन्तर्राष्ट्रिय फोरमका साथै नेपालका लागि युरोपेली सङ्घका राजदूतसहित विभिन्न मुलुकका कूटनीतिक क्षेत्रका व्यक्तिसँग इयुको उडान फुकुवा गर्नेबारे कुरा उठाउँदै आएको बताए । ‘हामी (मन्त्रालय) ले इयुको उडान सुरक्षाबारे कुरा उठाउँदै आएका छौँ, इयु आफैँले विश्लेषण गरेर हटाउँछ भन्नेमा मन्त्रालय विश्वस्त छ, हामी हवाई सेफ्टीमा कुनै सम्झौता गर्दैनौ, बरु कुन क्षेत्रमा सुधार गर्नुपर्ने हो त्यो इयुले प्रष्ट भनिदिए सहज हुन्छ’, उनले भने । सहसचिव लामिछानेका अनुसार नेपालको नागरिक उड्डयन प्राधिकरणले एओसी जारी गरेका सबै वायुयानलाई युरोपका आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको छ । इयुसँगको सहकार्यमा नेपालसहित विश्वभरको हवाइसुरक्षा सुदृढीकरणमा मन्त्रालय, प्राधिकरण लागि राज्यको प्रतिबद्धता रहेको छ । विज्ञान र प्रविधिको परिवर्तन तथा मौसम अनुकूल सुधारका प्रक्रिया निरन्तर चलिरहने मन्त्रालयले जनाएको छ । नेपालले विभिन्न ४० मुलुकसँग द्विपक्षीय हवाइसेवा सम्झौता गरेको छ भने इयुसँग छुट्टै हवाई सम्झौता भएको छ । इयुको प्रमुख चासोमध्ये प्राधिकरण विभाजन गरी सेवा प्रदायक र नियामक बनाउनुपर्ने सुझावअनुरुप प्रधिकरण विभाजन विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश हुने अवस्थामा छ । आइकाओ मापदण्डअनुरुप नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार भएको छ । राज्यले पनि यो क्षेत्रको सुरक्षा र सेवा सुदृढीकरणका लागि लगानी पनि बढाएको छ । ‘उडान सुरक्षा सम्बन्धमा प्रधानमन्त्री तहदेखि कार्यगत तहसम्म प्रतिबद्धता ‘डेडिकेसन’ छ, इयुले स्पष्ट गरिदिनुपर्छ कि कुन ठाउँमा टेक्निकल सुधार गर्नुपर्ने हो त्यो भनिदिनुप¥र्यो, राज्यको आवश्यकताअनुसार संथागत संरचना हुन्छ, यसमा अल्झने विषय हैन, सेफ्टी टेक्निकल विषय हो कुन ठाउँमा त्रुटि छन् क्षमताले भ्याएसम्म त्यसलाई सुधार्न हामी प्रतिबद्ध छौँ’, सहसचिव लामिछानेले भने । सुरक्षा चासो देखाएको इयुले नेपाली वायुयानलाई युरोपका आकाशमा उड्न प्रतिबन्द लगाएको थियो । आइकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात् नेपाल सरकारले इयुलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ । इयुको एयर सेफ्टी सूचीमा रहेसम्म नेपालका कुनै पनि वायुयानले युरोपका आकासमा उडान गर्न पाउँदैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एसिया र युरोपका गन्तव्यमा उडान गर्ने योजनासहित पाँच वर्षअघि दुई थान वाइडबडी विमान भित्र्याएको भए पनि इयुको कालोसूचीबाट नहटेसम्म ती गन्तव्यमा उडान भर्न पाइँदैन । रासस
प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग
पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ । ‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन, तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ’, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराईले भने । उनले सरकारले चाह्यो भने समय छुट्टाएर यही आकाशबाट उडाउन सक्ने र आफूहरुको पनि त्यही माग भएको बताए । ‘हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्ने विषयमा जति उत्साहित भएका थियौँ, अहिले विमानस्थल निर्माणसँगै कतै आफ्नै व्यवसायनै विस्थापित हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका छौँ’, उनले भने । जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नाका पूर्वअध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउँछन् । ‘हामीलाई पूर्वाधार मात्र होइन पूर्वाधार निर्माण पछि आउने पर्यटक पनि चाहिएको हो जसले पोखरामा आनन्द लिन सकुन र उनीहरुको बसाई पनि लम्बियोस् ।’ पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायी बताउँछनु । विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोट्र्स’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने व्यवसायीको भनाइ छ । । प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको उनको भनाइ छ । ‘अब कसरी जाने विकल्प के के हुन सक्छ ? विमानस्थलसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको सम्भावना अध्ययनको रिपोर्ट के छ भन्नेबारेमा पनि स्पष्ट धारणा आएको छैन, उडान सम्भव छैन मात्र भनिएको छ’, उनले प्राविधिक कुरा भएकाले व्यवस्थापन गर्नसके सम्भव हुने बताए । निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले पोखराको आकाशबाट उडान हुनुपर्ने र त्यसको प्राविधिक व्यवस्थापनसँगै दिगो पर्यटनका लागि प्राधिकरणले सोच्नुपर्ने बताउँछन् । जहाजको ‘ओभर सुट मिस एप्रोज’ हुँदा त्यसलाई ‘राइट टर्न’ नगरी ‘लेफ्ट टर्न’ ग¥यो भने प्याराग्लाइडिङ पनि हुने र जहाज उडानमा थप सुरक्षा हुने भएकाले प्राधिकरणले यसलाई अवलम्बन गरेर सञ्चालन गर्न उनको आग्रह छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताउँछन् । अहिले पोखरामा पर्यटकको बसाई अवधि औसत दुई दिन छ । टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी पोखरालाई विश्वमा चिनाउने पदमार्ग मोटरेबल बाटोले विस्थापित गरायो अब प्याराग्लाइडिङ पनि विस्थापित हुने होकि भन्ने शङ्का बढ्न थाल्यो भन्छन् । पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । पहिलो पाइलट राजेश बमजन हुन । सन् २००० देखि व्यावसायिकरुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् । अहिले पोखराका ६० कम्पनीमा करिब रु डेढ अर्बको लगानी छ । करिब दुई हजारले रोजगारी पाएका दाबी व्यवसायीको छ । यो व्यवसायमा करिब ३७५ पाइलट छन । प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् । रासस
पोखराको अन्नपूर्ण केबलकार सेवा १ हप्ता बन्द हुने
काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार १ हप्ता बन्द हुने भएको छ । लेकसाईडदेखि सराङकोटसम्म जाने केबलकार नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार केबलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने छ ।