काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अनुमति नलिई प्याराग्लाईडिङ उडान गर्नेलाई कारवाही गर्ने जनाएको छ ।
प्राधिकरण अन्तरगतको फ्लाइट स्उाण्डर्डस विभागले सोमबार एक सूचना जारी गर्दै अनुमति नलिई प्याराग्लाईडिङ उडान गर्नेलाई कारवाही हुने जनाएको हो ।
कुनै सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न प्राधिकरणले आग्रह समेत गरेको छ ।
विभिन्न कम्पनीहरुले मनोरञ्जनात्मक उडड्यन सञ्चालन प्रमाणपत्रमा उडानका लागि तोकिएको आधार क्षेत्रभन्दा वाहेकका क्षेत्रमा अनुमति बेगर उडान सञ्चालन नगर्न प्राधिकरणले प्याराग्लाईडिङ कम्पनी, तीनका पाईलटहरु तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
अनुमति नलिई उडान गरेको पाइए प्राधिकरणले सम्बन्धित प्याराग्लाईडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र, उडान गर्ने प्याराग्लाईडिङ पाईलटको लाईसेन्स निलम्बन वा खारेजीसम्मको कारवाही गर्ने चेतावनी समेत दिएको छ ।