काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ ।
आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यतीले मनोरञ्जन सेवा सुरु गर्न लागिएको जनाएको हो ।
यती एयरका प्रवक्ता सुदर्शन बर्ताेला अब हरेक यात्रुले मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने बताउँछन् । ‘इन्फ्लाइट मनोरञ्जनका लागि बायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ, हामी विश्वस्त छौं, यती एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ’, उनले भने ।
उक्त सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले छिट्टै इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्न आवश्यक तयारी तथा परीक्षण भैरहेको जनाएको छ ।