बेमौसमी वर्षा : गुल्मीमा पाँच करोडको धानबाली नष्ट
तम्घास । हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको हो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उनले बताए । इस्मा गाउँपालिका–६ का कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ । त्यसैगर, अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । उनी यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएको स्थानीयले बताएका छन् ।
हरिवंश, धुर्मुस, जितु, बले र दीपाश्री एउटै पर्दामा, नवीनको लगानीमा पाँच पाण्डव
काठमाडौं । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए । निर्देशक निरौलाले भने, ‘हामीले ५ जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।’ उनले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङ लगायतको अभिनय रहने जानकारी दिए । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताए । कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र ५ पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिए ।
नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी खनाललाई तेस्रो वरियता, केही नेता अलग्गिए
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा जारी छ । जहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीचको एकता प्रक्रिया निर्णायक मोडमा पुगेको छ । बुधबार घोषणा हुँदै गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । उक्त पार्टीमा पहिलो वरीयतामा पुष्पकमल दाहाल र दोश्रो वरीयतामा माधव कुमार नेपाल रहेका छन् । एकता अभियानको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू अलग्गिएका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा सम्मेलनमा सहभागी भएका छन् । यद्यपि, एकीकृत समाजवादीका नेता घनश्याम भूसाल र रामकुमारी झाँक्री भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन्।