प्रहरी प्रधान कार्यालयमा पुगे जगतगुरू शंकराचार्य

काठमाडौं । जगतगुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन गरेका छन् । 

सोमबार जगतगुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपणसमेत गरेका थिए ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित ‘शिव शम्भू’ (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गरेका थिए ।

सो अवसरमा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिएका थिए । 

उनले सत्य, सेवा, सुरक्षणम्‌को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा कृतज्ञता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरीलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उनको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताए । 

आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहिमार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताए ।

Share News