भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजअन्तर्गतको नयाँ मोडल ‘भिभो वाई ४००’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित यो मोडल सुलभ मूल्यमै फ्ल्यागशिप स्तरको अनुभव दिने दाबी कम्पनीले गरेको छ । भिभो वाई ४०० आकर्षक दुई रङ पर्ल व्हाइट र डायनामिक ग्रीनमा उपलब्ध छ । ७.९ मिमि मेटालिक फ्रेम, पातलो बेजल र कुशन–कट डायमन्ड क्यामेरा डिजाइनसहित यसले प्रिमियम लुक प्रदान गरेको छ । यसमा ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले रहेको छ, जसले रंगीन र स्पष्ट दृश्य दिन्छ भने डुअल स्टेरियो स्पिकरमार्फत ४०० प्रतिशतसम्म ध्वनि वृद्धि गर्न सकिने सुविधा छ । उक्त डिस्प्ले एसजीएस आई प्रोटेक्सन प्रमाणित रहेको छ । ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८५२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र २ मेगापिक्सेल बोके लेन्ससहित, यो फोनले उच्च गुणस्तरको फोटोग्राफी सुनिश्चित गर्छ । अण्डरवाटर फोटोग्राफी मोड, वन–ट्याप वाटर इजेक्सन र एआई इरेज २.० जस्ता सुविधा थप आकर्षण बनेका छन् । आईपी ६८/६९ डस्ट तथा वाटर रेसिस्ट्यान्ट प्रमाणन प्राप्त यस फोनले २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ । वेट–ह्याण्ड टच प्रविधिले भिजेको हातले पनि सहज प्रयोग गर्न सकिने सुविधा दिन्छ । साथै, एयर–स्प्रीङ प्रविधियुक्त ड्रप रेजिस्टेन्ट केससमेत फोनसँगै उपलब्ध गराइएको छ । यी सुविधासहित भिभो वाई ४००मा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसले ६१ घण्टा संगीत, ४ घण्टा बढी भिडियो स्ट्रिमिङ तथा २ घण्टाभन्दा बढी गेमिङको समर्थन गर्छ । ४४ वाट फ्ल्यासचार्ज प्रविधिबाट फोनलाई १ प्रतिशतबाट ५० प्रतिशत चार्ज गर्न ३० मिनेट मात्र लाग्ने बताइएको छ । स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन तथा २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई थप सुरक्षित बनाएको छ । स्न्यापड्रैगन ६८५ (६एनएम) चिपसेटले सञ्चालित वाई ४००मा २५६ जीबी स्टोरेज र ८ जीबी एक्सटेन्डेड र्याम दिइएको छ । भिभोको ’५० मन्थ स्मूथ एक्सपेरियन्स’ फिचरले दीर्घकालीन प्रदर्शन स्थिर रहने कम्पनीको दाबी छ । साथै, एआई नोट्स, एआई रेकर्डर, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्च लगायतका स्मार्ट फिचरहरू पनि समावेश छन् । भिभो वाई ४०० हाल भिभोका अधिकृत रिटेल स्टोर तथा दराज अनलाइन प्लेटफर्ममार्फत ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए । 'सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए', उनले भने, 'सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।' समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए । खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । 'चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ', उनले भने, 'बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।' ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताए । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुग्ने उनले बताए । रासस

उद्योगीले एक किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्नुपर्ने प्रस्ताव, अदालत पनि जाने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी रहेको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरिएको छ । त्यसमा विवादित शुल्कमध्ये २८ भागको एक भाग प्राधिकरणालाई बुझाएपछि विद्युत जडान गरी उद्योग पनि खोल्ने, विवाद समाधानका लागि अदालतको ढोका पनि खोल्ने प्रस्ताव गरिएको छ ।  प्रधानमन्त्री कार्कीको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न सचिवहरू तथा महासंघका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि यस्तो प्रस्ताव आएको हो । छलफल अनुसार उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि किस्ता बुझाउँदै आएको सुविधा अन्तर्गत २८ किस्तामध्येको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभई विवादित रकम मानिँदै धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् आपूर्ति पुनः जोडिने प्रस्ताव गरिएको छ । धरौटी बुझाएपछि उद्योगीहरूले सो विषय पुनरावलोकन गर्न तथा आवश्यक कानुनी उपचार खोज्न सक्ने व्यवस्था राखिएको छ । सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा सोही निवेदनमा आफ्नो असहमति राखी पुनरावलोकन तथा अन्य विवरण उल्लेख गरी पेस गर्न सक्ने भएका छन् । समस्या समाधानका लागि महासंघका अध्यक्ष ढकालले आइतबार पनि प्रधानमन्त्री कार्की, अर्थमन्त्री खनाललगायत उच्च अधिकारीसँग भेट गरी पहल गरेका थिए । त्यसलगत्तै सम्बन्धित उद्योगीहरूलाई महासंघमा आमन्त्रित गरी छलफल गरिएको थियो । उद्योगीहरूले महासंघ अध्यक्षसँगको छलफलमा किस्ता नभई विवादित रकमलाई धरौटीको रूपमा विद्युत् प्राधिकरणले स्वीकार गरी कानुनी उपचारको अवसर प्रदान भए सहमति गर्न सकिने बताएका थिए । हाल करिब दुई दर्जन उद्योगले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको छ ।